नोटिफाई नेपालLoading...

काठमाडौं, भदौ १६ । भोटेकोशीमा आएको बाढीपछि त्रिशूली नदीमा बढेको बहावले सडकको तल्लो भाग कटान गर्दा अवरुद्ध भएको पृथ्वीराजमार्गको कृष्णभीर खण्ड सञ्चालनमा आउन कम्तीमा १० देखि १५ दिन लाग्ने भएको छ।
सडक विभागले प्राविधिक तथा भौगर्भिक विज्ञको टोली परिचालन गरी तत्काल सडक खुलाउने तयारी थालेको छ। प्रारम्भिक अध्ययनअनुसार करिब १०० मिटर लामो र १०–१५ मिटर अग्लो क्षेत्रमा पहिरो गएको छ।
सडक विभागका भू–प्राविधिक विज्ञका अनुसार जोखिमयुक्त माथिल्लो भाग हटाएर सिंगल लेनको डाइभर्सन निर्माण गरी सडक सञ्चालनमा ल्याउन सकिने सम्भावना छ। त्यसका लागि तीन–चारवटा मेसिन परिचालन गरी तीव्र गतिमा काम गर्ने तयारी छ।
यसैबीच सडक विभागले तत्कालका लागि वैकल्पिक रुट तथा स्थानीय सडक प्रयोग गरी यातायात सञ्चालन गर्ने जनाएको छ।
दीर्घकालीन रूपमा भने नदी कटानको जोखिमलाई ध्यानमा राखी सडकको उचाइ बढाउने, वैकल्पिक लिंक तथा रुट विकास गर्ने, अग्ला पुल र आवश्यक स्थानमा सुरुङ निर्माण गर्ने तथा विपद्–प्रतिरोधी प्रविधि अपनाउने आवश्यकता औंल्याइएको छ।