नोटिफाई नेपालLoading...



परराष्ट्रमन्त्री शिशिर खनालले नेपालले छिमेकी राष्ट्र भारतसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राखेको बताएका छन्।
भारत भ्रमणका क्रममा शनिबार साँझ नयाँ दिल्लीमा भारतीय विदेशमन्त्री डा. एस जयशंकरसहितको टोलीसँग भएको द्विपक्षीय भेटवार्तामा उनले यस्तो धारणा राखेका हुन्।
भेटवार्ताका क्रममा मन्त्री खनालले नेपाल र भारतबीचको सम्बन्ध ऐतिहासिक मात्र नभएको उल्लेख गर्दै आर्थिक रूपान्तरण र परिणाममुखी कूटनीतिका लागि आफ्नो पार्टीले स्पष्ट र निर्णायक जनादेश प्राप्त गरेको बताए।
‘नेपालले भारतसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राखेको छ। नयाँ सरकारको नेतृत्वमा हामी ठोस उद्देश्यसहित सम्भव भएसम्म उच्च तहमा संलग्न हुन तयार छौं,’ मन्त्री खनालले भने।
आफ्नो दललाई विगतको कुनै पनि राजनीतिक बोझ नरहेको उल्लेख गर्दै उनले निकट छिमेकी र सबैभन्दा महत्त्वपूर्ण साझेदारसँग रूपान्तरणकारी सम्बन्ध निर्माण गर्न नेपाल सरकार दृढ रहेको स्पष्ट पारे।
मन्त्री खनालले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको हालैको भारत भ्रमणका क्रममा ‘हिन्दुस्तान टाइम्स’ मा प्रकाशित लेखलाई उद्धृत गर्दै सोही भावनाअनुसार अघि बढ्न सरकार प्रतिबद्ध रहेको बताए।
उनले नेपाल-भारत सम्बन्धलाई आधुनिक र विकासमुखी साझेदारीमा रूपान्तरण गर्न चाहेको धारणा राखे।
मन्त्री खनालले प्रधानमन्त्री बालेन शाहका तर्फबाट भारत सरकार र भारतीय जनताप्रति अभिवादन व्यक्त गर्दै आफ्नो सम्बोधनको सुरुवात गरेका थिए।
सम्बोधनका क्रममा उनले विभिन्न विपद् तथा पश्चिम एसियाको संकटका बेला भारत सरकारबाट प्राप्त सहयोगको प्रशंसा गरे।
नेपालको अर्थतन्त्रमा भारतको सहयोग महत्त्वपूर्ण रहेको चर्चा गर्दै मन्त्री खनालले भने, ‘नेपाललाई आवश्यक पर्ने इन्धन र मल आपूर्तिमा तपाईंहरू सधैँ सहयोगी बन्नुभएको छ। म यस सहयोगप्रति नेपाल सरकार र नेपाली जनताका तर्फबाट कृतज्ञता व्यक्त गर्न चाहन्छु।’








२२ जेठ , २,०८३