नोटिफाई नेपालLoading...



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सुनसरी जिल्ला अधिवेशनमा विवाद र तनावका बीच मतदान प्रक्रिया अगाडि बढेको छ।
लौकहीस्थित सिटी हलमा जारी अधिवेशनका क्रममा शनिबार साँझ पार्टीको युवा दस्ता र केही मतदाताबीच सामान्य हातपात परेपछि केही बेर तनाव सिर्जना भएको थियो । यद्यपि, पार्टी नेतृत्वको हस्तक्षेप र समन्वयपछि सभापति र उपसभापति पदका लागि मतदान कार्य भने जारी राखिएको छ।
झडप र तनावको घटनापछि केही प्रतिनिधि तथा मतदाताहरूले निर्वाचन प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै मतदान बहिष्कार गरेका छन्। विशेषगरी बर्जु र गढी क्षेत्रका मतदाताहरू निर्वाचन प्रक्रियाबाट बाहिरिएका हुन्।
जिल्ला कार्यसमितिको सभापति पदका लागि सागर दाहाल, मोहन निरौला, चक्र विष्ट र पुण्यप्रसाद सापकोटा चुनावी प्रतिस्पर्धामा छन्।
यसैगरी उपसभापति पदमा देविका भण्डारी र राजेशमान श्रेष्ठबीच प्रतिस्पर्धा भइरहेको छ। सभापति र उपसभापति बाहेकका अन्य अधिकांश पदमा भने सर्वसम्मत रूपमा नेतृत्व चयन गरिएको निर्वाचन समितिले जनाएको छ।
केन्द्रीय विभागबाट निर्वाचन संयोजनका लागि खटिनुभएका अख्तर हुसेनले मतदाता नामावलीमा नाम समावेश नभएको विषयलाई लिएर केही मतदाताले असन्तुष्टि जनाउँदा विवाद उत्पन्न भएको बताए।
‘निर्वाचन प्रक्रिया नियमित रूपमा अगाडि बढिरहेको छ र मतदाताहरू लाइनमा बसेर मतदान गरिरहनुभएको छ,’ हुसेनले भने, ‘निर्वाचनमा यस्ता विवाद हुनु सामान्य हो। संसदमै कत्रो कत्रो लफडा हुन्छ, तपाईंहरूले देखिरहनुभएकै त हो नि !’
कुल ४३६ मतदाता रहेको सुनसरी जिल्ला अधिवेशनको उद्घाटन रास्वपा नेता प्रकाशचन्द्र परियारको प्रमुख आतिथ्यतामा भएको थियो। सो उद्घाटन सत्रमा लालविक्रम थापा, अशोक चौधरी, सृष्टि भट्टराई लगायत केन्द्र, प्रदेश तथा जिल्ला तहका नेताहरूको उपस्थिति रहेको थियो।
रास्वपा कार्यकर्ता हानाहानमा उत्रिएपछि अधिवेशन स्थगित








२२ जेठ , २,०८३