नोटिफाई नेपालLoading...



भारतीय क्रिकेट टोलीमा १५ वर्षीय वैभव सूर्यवंशी सबैभन्दा कान्छो खेलाडीका रूपमा छनोट भएका छन्। १५ वर्ष ७१ दिनको उमेरमा राष्ट्रिय टोलीमा स्थान बनाउँदै उनले भारतीय क्रिकेट इतिहासमा नयाँ कीर्तिमान कायम गरेका हुन्।
वैभवलाई जुन–जुलाईमा हुने आयरल्यान्ड र इङ्गल्यान्डविरुद्धको टी-२० शृङ्खलाका साथै सेप्टेम्बरमा आयोजना हुने एसियन गेम्सका लागि टोलीमा समावेश गरिएको छ। एसियन गेम्समा क्रिकेटका खेलहरू टी-२० फर्म्याटमै हुनेछन्।
भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले टी-२० फर्म्याटमा कप्तानीको जिम्मेवारीमा समेत ठूलो हेरफेर गरेको छ। टी-२० विश्वकप जिताउने कप्तान सूर्यकुमार यादवलाई कप्तानीबाट मात्र नभई टोलीबाटै बाहिर राखिएको छ।
उनको स्थानमा श्रेयस अय्यरलाई भारतीय टी-२० टोलीको नयाँ कप्तान नियुक्त गरिएको छ भने तिलक वर्मालाई उपकप्तानको जिम्मेवारी सुम्पिएको छ।
तोडियो सचिन र शेफालीको रेकर्ड
राष्ट्रिय टोलीमा पहिलो पटक छनोट हुने उमेरका आधारमा वैभवले शेफाली वर्माको कीर्तिमान तोडेका छन्। यसअघि पुरुष र महिला दुवै क्रिकेट मिलाएर शेफाली १५ वर्ष २२० दिनको उमेरमा छनोट हुँदै सबैभन्दा कान्छी खेलाडी बनेकी थिइन्। पुरुष क्रिकेटतर्फ भने यो कीर्तिमान सचिन तेन्दुलकरको नाममा थियो। उनी १६ वर्ष १९४ दिनको उमेरमा टोलीमा छानिएका थिए।
वैभवले अब डेब्युको कीर्तिमान समेत तोड्ने सम्भावना छ। यदि उनले आगामी भ्रमण वा एसियन गेम्समा कुनै पनि खेल खेल्ने मौका पाए भने उनी शेफाली र सचिनलाई पछि पार्दै भारतका लागि खेल्ने सबैभन्दा कान्छो क्रिकेटर बन्नेछन्।
आइपिएल २०२६ का ‘सुपरस्टार’
वैभव सूर्यवंशीले आइपिएल २०२६ मा उत्कृष्ट प्रदर्शन गर्दै सबैको ध्यान खिचेका थिए। उनले गत सिजन ७७६ रन बनाउँदै ‘ओरेन्ज क्याप’ जितेका थिए। यहि सिजन ३६ बलमै शतक प्रहार गरेका वैभवले ‘मस्ट भ्यालुएबल प्लेयर’, ‘इमर्जिङ प्लेयर अफ द इयर’, ‘सुपर स्ट्राइकर’ र सबैभन्दा धेरै छक्का प्रहार गर्ने खेलाडीको अवार्ड समेत हात पारेका थिए।
विश्व क्रिकेटको सन्दर्भमा भने वैभव सबैभन्दा कान्छो खेलाडी बन्ने छैनन्। जर्सीकी निया चार्लोट ग्रेग र पुरुषतर्फ रोमानियाका मारियन गेरासिमको नाममा विश्वकै कान्छो खेलाडीको रेकर्ड सुरक्षित छ। ग्रेग ११ वर्ष ४० दिन र गेरासिम १४ वर्ष १६ दिनमा छनोट भएका थिए।
घोषित टोलीहरू:
टी–२० टोली (आयरल्यान्ड, इङ्गल्यान्ड र एसियन गेम्सका लागि): श्रेयस अय्यर (कप्तान), तिलक वर्मा (उपकप्तान), वैभव सूर्यवंशी, अभिषेक शर्मा, संजू सैमसन, ईशान किशन, शिवम दुबे, नीतीश कुमार रेड्डी, अक्षर पटेल, वाशिंगटन सुन्दर, रवि बिश्नोई, वरुण चक्रवर्ती, हर्षित राणा, अर्शदीप सिंह, मोहम्मद सिराज (भ्रमणका लागि), जसप्रीत बुमराह (एसियन गेम्सका लागि) र प्रिंस यादव।








२२ जेठ , २,०८३