नोटिफाई नेपालLoading...



कपिलवस्तुका २ नगरपालिकालाई एकै दिन पूर्ण खोप सुनिश्चितता तथा दीगोपन घोषणा गरिएको छ । जन्मेदेखि पाँच वर्षसम्मका सबै बालबालिका खोपको पहुँचमा पुगेपछि बाणगंगा र बुद्धभूमि नगरपालिकालाई सो घोषणा गरिएको हो ।
जिल्ला खोप समन्वय समितिले बुधबार भएको छुट्टाछुट्टै कार्यक्रममा त्यसको प्रमाणपत्र प्रदान गरेको थियो । दुबै पालिकाले १३ वटा खोपको पहुँच पालिकामा रहेका ५ वर्ष मुनिका सबै बालबालिकामा पुगेको प्रतिवेदन समेत प्रस्तुत गरेका थिए ।
जिल्ला समन्वय समितिका प्रमुख तथा खोप समन्वय समितिका संयोजक बाबुराम आचार्यले बाणगंगा नगरपालिकाका मेयर चक्रपाणि अर्याल र बुद्धभूमि नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठलाई पालिकामा भएका छुट्टाछुट्टै कार्यक्रममा पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।
बाणगंगा नगरपालिकामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख आचार्यले बाणगंगाले हासिल गरेको उपलब्धि जिल्लाकै लागि उदाहरणीय भएको बताए । उनले खोप अभियानलाई निरन्तरता दिँदै दीगोपनमा विशेष ध्यान दिनुपर्ने बताए ।
“यो उपलब्धि केवल घोषणा मात्र नभई जनस्वास्थ्यप्रतिको जिम्मेवारीको प्रतिविम्ब हो,” उनले भने ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, उपमेयर रिता कुमारी चौधरी, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकाल तथा नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष दिलाराम भुसाल लगायतले पूर्ण खोप सुनिश्चितताको उपलब्धिलाई दीगो बनाउन नियमित अनुगमन, प्रभावकारी अभिलेख व्यवस्थापन र जनचेतनामूलक कार्यक्रमलाई थप सुदृढ बनाउनुपर्ने बताएका थिए ।
यस्तै बुद्धभूमि नगरपालिकामा भएको कार्यक्रममा प्रमुख आचार्यले गर्भवती महिला, संस्थागत प्रसूति, खोप, शौचालय, पोषणका विषयमा महिला स्वयंसेविका विशेष सक्रिय हुनुपर्ने बताए । सो अवसरमा मेयर श्रेष्ठले सबैको सामूहिक प्रयासले पालिकाले यो उपलब्धि हासिल गरेको बताए । उनले यसलाई पालिकाले निरन्तरता दिने बताए ।
कार्यक्रममा जिल्ला समन्वय अधिकारी, प्रमुख प्रशासकीय अधिकृत, जिल्ला स्वास्थ्य कार्यालय प्रमुख, पत्रकार महासंघका जिल्ला सभापति, वडा नम्बर ४ का अध्यक्ष लगायतले खोपको निरन्तरताका लागि सबैको पहल आवश्यक रहेको बताएका थिए ।


-1698832414.jpg)




९ बैशाख , २,०८३