नोटिफाई नेपालLoading...

.jpg)
.jpg)
प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले चालु शैक्षिक सत्रमा सम्पन्न हुने विश्वविद्यालयका परीक्षाहरूको नतिजा परीक्षा सकिएको एक महिनाभित्र प्रकाशन गर्ने निर्णय व्यवहारिक नभएको त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।
परीक्षा सह–नियन्त्रक सूर्यकान्त कलौनीले विगतमा सबै विषय वार्षिक प्रणालीमा हुँदा २३ महिनासम्म पनि नतिजा प्रकाशन भएको रेकर्ड रहेको उल्लेख गर्दै ५ लाख विद्यार्थी अध्ययन गर्ने त्रिभुवन विश्वविद्यालयको नतिजा एक महिनाभित्रै प्रकाशन गर्नु अव्यवहारिक हुने दाबी गरे।
उनले भने, “हालसम्म विश्वविद्यालयको मानक अनुसार सय दिनभित्र नतिजा प्रकाशनलाई स्ट्यान्डर्ड मानिन्छ। तर त्रिविले गत वर्षदेखि १६ महिने अवधिलाई घटाएर करिब तीन महिनाभित्र नतिजा प्रकाशन गरिरहेको छ। एक महिनाभित्र नतिजा प्रकाशन गर्नका लागि आवश्यक जनशक्ति र संयन्त्र निर्माण भइसकेको छैन।”
हाल परीक्षा नियन्त्रण कार्यालय (पनिका) का पोखरा, विराटनगर, नेपालगञ्ज, अत्तरिया र बद्रिबास गरी पाँच क्षेत्रीय कार्यालयमा उत्तरपुस्तिका संकलन भइरहेको उनले जानकारी दिए।
उनका अनुसार विज्ञान, मानविकी तथा काठमाडौंमा सञ्चालन हुने व्यवस्थापन र शिक्षाशास्त्रका परीक्षाहरू सम्पन्न भएपछि उत्तरपुस्तिका केन्द्रीय कार्यालय (पनिका, बल्खु) मा ल्याएर परीक्षण गर्नुपर्छ। विज्ञान र मानविकी विषयको उत्तरपुस्तिका केन्द्र बाहिर परीक्षण गर्ने संयन्त्र छैन। व्यवस्थापन र शिक्षाशास्त्रका उत्तरपुस्तिका भने क्षेत्रीय कार्यालयमै परीक्षण गरिन्छ।
“एक महिनाभित्र नतिजा प्रकाशन गर्ने विषयमा पनिकामा कुनै औपचारिक छलफल भएको छैन,” उनले भने, “उपकुलपतिहरूले प्रधानमन्त्रीसँगको छलफलमा सहमति जनाएर आउनुभएको छ। अब सोही अनुसार सरकारले आवश्यक संयन्त्र निर्माण गर्नेछ।”
परीक्षा नियन्त्रक प्रा.डा.लक्ष्मण पौडेलले पनि विश्वविद्यालयको परीक्षाको नतिजा एक महिनाभित्र प्रकाशन गर्नु चुनौतीपूर्ण रहेको बताए।
उनले भने, “व्यवहारिक रूपमा एक महिनाभित्र नतिजा निकाल्न सकिँदैन। परीक्षामा गोप्य, अतिगोप्य, जरुरी, अति जरुरी जस्ता प्रक्रियाहरू हुन्छन्, जसको पालना परीक्षकहरूले गर्नुपर्छ। विश्वविद्यालयमा सय दिनभित्र नतिजा प्रकाशनलाई मानक मानिन्छ।”
हाल स्नातक तेस्रो वर्षका सबै विषयको परीक्षा सञ्चालनमा रहेको छ। करिब १ लाख १० हजार विद्यार्थीको परीक्षा वैशाख २२ गते सम्पन्न हुने र त्यसको नतिजा एक महिनाभित्र प्रकाशन गर्न चुनौती रहने उनको भनाइ छ।
प्रधानमन्त्री एवं कुलपति बालेन्द्र साहले विश्वविद्यालयका सबै विषयका परीक्षा सकिएको एक महिनाभित्र नतिजा प्रकाशन गर्न निर्देशन दिएका छन्।
प्रधानमन्त्री बालेनले आफू कुलपति रहेका ११ विश्वविद्यालयका उपकुलपतिहरूसँगको भेटमा नतिजा ढिलाइका कारण विद्यार्थीहरूको शैक्षिक सत्र खेर जाने र विभिन्न अवसरबाट वञ्चित हुनुपर्ने अवस्था अन्त्य गर्न विश्वविद्यालयहरू संवेदनशील हुनुपर्ने बताए।
उनले भने, “स्नातकदेखि स्नातकोत्तर र सोभन्दा माथिल्लो तहसम्मका सबै विषयको परीक्षा सकिएको एक महिनाभित्र नतिजा प्रकाशन हुनैपर्छ।”
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक अर्यालले भने, “यसका लागि प्रदेशमै उत्तरपुस्तिका परीक्षण गरेर भए पनि एक महिनाभित्र नतिजा प्रकाशन गर्ने व्यवस्था गर्नुपर्ने सुझाव दिए। अब विश्वविद्यालयले प्रदेश स्तरबाटै उत्तरपुस्तिका परीक्षण गर्ने सम्भावनाबारे परीक्षा समितिको बैठकबाट निर्णय गर्नेछ।”





-1698832414.jpg)


९ बैशाख , २,०८३