नोटिफाई नेपालLoading...

.jpg)
.jpg)
पर्यटन व्यावसायीका अनुसार अहिले पोखरामा साना र ठूला गरेर दिनमा एकसय भन्दा बढी गाडीमा भारतीय पाहुना भित्रिने गरेका छन्। पर्याप्त मात्रामा भारतीय पाहुना भित्रिएका कारण होटलको अकुपेन्सी पनि बढेको छ। व्यावसायीका अनुसार अहिले पोखराका होटलको अकुपेन्सी कम्तिमा ६० प्रतिशत छ।
भारतीय पाहुना नभित्रिएको भए यो बेला पोखराका होटलको अकुपेन्सी ३० प्रतिशत हाराहारीमा हुन्थ्यो। तेश्रो मुलुकका विदेशी पाहुना कम हुने यो समयमा भारतीय पाहुनाकै कारण व्यावसाय चलायमान बनेको व्यावसायी नै बताउँछन्। पोखराभित्र मात्र नभई आसपासका पर्यटकीय गाउँमा पनि भारतीय पाहुनाकै भीडभाड छ। यतिसम्मकी हिमाली जिल्ला मुस्ताङमा पनि भारतीय पाहुना उत्तिकै संख्यामा पुगेका छन्।
मुक्तिनाथ दर्शन गर्न जाने भारतीय धार्मिक पर्यटक बाहेक घुमघामका लागि भनेरै पनि अहिले धेरै भारतीय पाहुना मुस्ताङ उक्लिन्छन। अझ निजी सवारीमै भारतीय पाहुनाहरु धमाधम मुक्तिनाथ गईरहेका छन्। त्यस्तै अन्नपूर्ण क्षेत्रको प्रवेशद्वार मानिने घान्द्रुकसम्म पनि भारतीय पाहुनाको भीड छ। पोखरामै पनि भारतीय पाहुनाको भीडभाड छ।
फेवातालमा कायकिङ र सर्फिङमा रमाउनेमा पनि भारतीयकै वर्चस्व छ। सहरदेखि गाउँसम्मका पर्यटकीय क्षेत्रमा भारतीय पाहुना भित्रिँदा एकातिर व्यावसायी खुसी छन् भने अर्काेतिर पाहुना व्यवस्थापन फितलो हुँदा अप्ठेरो परेको गुनासो पनि व्यावसायी नै गर्छन। भित्रिएका पाहुनाको व्यवस्थापन सहज नहुँदा त्यसको असर अरुलाई परेको व्यावसायीको गुनासो छ। व्यावसायीले नै आफ्ना पाहुना व्यवस्थापन गर्न नसकेको उनीहरु नै बताउँछन्।
व्यावसायीका अनुसार भारतीय पाहुनाको भीड बढ्दै जाँदा जथाभावि खाना पकाउने र खाने, होहल्ला गर्ने, सानो गल्लीमा जर्बजस्ती ठूला आकारका सवारी लैजाने, बाटोमा जथाभावि पार्किङ गर्ने, जहाँ पायो त्यही फोहोर फ्याक्ने, जहाँपायो त्यही कपडा धुने र सुकाउने गर्दा पर्यटकीय क्षेत्र अव्यवस्थित बन्दै गएको केही व्यावसायीको भनाई छ।
‘भारतीय पाहुनाको भीड हामीले सोचेभन्दा बढि नै छ। तर, पाहुना त आए, व्यवस्थापकीय पक्ष कमजोर हुँदा समस्या बनेको छ। बेलैमा हामीले नै व्यवस्थापन नगर्ने हो भने समस्या अझ बढ्नेछ,’ लेकसाइडका एकजना होटल व्यावसायी भन्छन, ‘पाहुना भित्रिँदा व्यावसायीले कमाउन सक्नुपर्ने हो। तर, त्यो भएन। बरु, झनै अव्यवस्थित बनेको छ। कतिपय अवस्थामा व्यवस्थापनको जिम्मा हामीले लिनुपर्छ। पाहुनाले अनुशासन कायम गर्नुपर्छ।’
व्यावसायीका अनुसार अहिले दैनिक एकसय भन्दा बढी संख्यामा भारतीय सवारीले पाहुना लिएर पोखरा भित्रिएका छन्। ती मध्ये केही ठूला आकारका बस पनि रहेका छन्। बसमा आएका पाहुनाले हत्तपत्ति होटलमा खाँदैनन्। सुत्नका लागि मात्र होटलको कोठा बुकिङ गर्छन। चियादेखि खानासम्म आफैले पकाउने र खाने गर्छन। त्यसका लागि आवश्यक पर्ने ग्यास देखि खाद्यान्न र तरकारी समेत आफैले बोकेर ल्याएका हुन्छन। ती पाहुनाले होटलमा सुतेको पैसा भने तिर्छन।
.jpg)
व्यावासायीका अनुसार सबैभन्दा बढी समस्या सडकमा जहाँपायो त्यही पार्किङ गर्दा भएको छ। भित्री सडकमा ठूला आकारका सवारी लैजाने र त्यसले गर्दा अरुको आवागमनमा समेत असर परेको छ। ‘साना सवारी पनि जथाभावि पार्किङ गरिदिँदा समस्या बढ्दो छ।
‘पाहुना आउनु सकारात्मक हो। तर, पाहुना व्यवस्थापन भने हामीले नै गर्ने हो। सवारी व्यवस्थापन देखि पार्किङका कुरामा स्थानीय स्तरमै सहजीकरण गरिदिनुपर्छ,’ ती व्यावसायीले भने, ‘पाहुना व्यवस्थापनको चाँजोपाँजो मिलाईदिनुपर्छ।’
भारतीय पाहुना पर्याप्त मात्रामा भित्रिदाँ कुनै न कुनै रुपमा पोखराले लाभ लिएको भएपनि अझ बढि लाभ पाउनेगरि व्यवस्थापन गरिदिनुपर्ने ती व्यावसायीको भनाई छ। ‘होटलले पाहुना त पायो, तर, ती पाहुना सवार गाडी राख्ने पार्किङस्थल दिन सकेन। अनि सडकमै पार्किङ गरे भनेर गुनासो पनि गरिरहेको छ,’ उनले भने।
लेकसाइडकै व्यावसायी बिजय केसी अधिकांश समय मुुस्ताङ र मनाङ लगायतका हिमाली भेगमा पर्यटक घुमाउँछन्। यो सिजनमा उनले धेरै टिमलाई मुस्ताङ उकालिसकेका छन्। केसीका अनुसार अहिले मुस्ताङ जाने सवारीमा ८० प्रतिशत हाराहारीमा भारतीय छन्।
‘साँघुरो बाटोमा अनुभव नभएका चालकले सवारी लिएर गएका छन्। कहाँ उकालो र कहाँ ओरालो छ भन्ने पनि थाहा छैन। साँघुरो बाटोमा जथाभावि सवारी लैजाँदा ठाउँठाउँमा समस्या पर्न थालेको छ,’ केसी भन्छन्, ‘चालकलाई सडकबारे ज्ञान नहुँदा जोखिम थपिएका छ। सडकको अवस्थाबारे थाहा नभई सवारी लैजाँदा कतै दुर्घटना परिहाल्छ की भन्ने चिन्ता पलाएको छ।’
उनका अनुसार कतिपय ठाउँमा घन्टौसम्म जाम लाग्न थालेको छ। ‘गाडी उक्लिन सकेन भने जाम लागिहाल्छ। कुन ठाउँमा कसरी सवारी चलाउने भन्ने थाहा नभएका चालकले सवारी लिएर गएका छन्। त्यसको असर अरुलाई परेको छ। घण्टौसम्म सडक जाम हुने गरेको छ,’ उनले भने, ‘साँघुरो कच्ची सडकमा सवारी चलाउँदा जोखिम पनि बढेको छ। कतिपय ठाउँमा एकतर्फी सडकमा चालक अब्बल नहुँदा अप्ठेरो हुने गरेको छ। त्यसरी झुक्किनेमा धेरैजसो भारतीय चालक हुने गरेका छन्।’
‘पाहुना आउनु राम्रो हो। तर व्यावसायिक रुपमा व्यावसायीले नाफा लिन सकेनन। पाहुनालाई खुवाउन नपाएपछि होटल र रेस्टुरेन्टले सोचेजति लाभ लिन सकेका छैनन,’ केसीले भने, ‘चियादेखि खानासम्म आफैले पकाएर खान्छन। सडक छेउमा जथाभावि पकाएर खाना खाँदा त्यसले फोहोर बढाएको छ।’
उनका अनुसार कतिपय भारतीय पाहुना सुनौलीबाट बेलुकी हिडेर भोलिपल्ट बिहान मुक्तिनाथ पुग्ने र दर्शन गरेर फर्किने समेत गरेका छन्। रातारात डरलाग्दो सडकमा यात्रा गर्दा जोखिम थपिएको उनले बताए।

‘पाहुनाको यात्रामा जोखिम थप्नु भएन। रातारात उच्च हिमाली भेगमा जाँदा लेक लाग्ने समस्या हुन सक्छ। सडक पनि अप्ठेरो छ, रात्रीकालिन यात्रा जोखिमपूर्ण पनि छ। त्यो तर्फ पनि सोच्ने बेला भएको छ। बेलैमा व्यवस्थापन नगर्ने हो भने समस्या पर्छ,’ उनले भने, ‘व्यवस्थापन गरेमा राम्रो हुन्थ्यो। सबैलाई फाइदा दिने गरि पाहुना व्यवस्थापन गर्न जरुरी छ।’
गाडीको अधिक भीडका कारण अहिले बेनी–जोमसोम खण्डको महभीर र बैसरी नजिकैमा घन्टौसम्म सवारी जाम लाग्ने गरेको उनले बताए। ‘साना गाडी जर्बजस्ती चलाएका छन्। साँघुरो बाटोमा अनुभव विहीन चालकले जर्बजस्ती गाडी लैजाँदा थपिने जोखिमको आँकलन कसैले गरेको छैन। त्यसैले व्यवस्थापन महत्वपूर्ण छ। पाहुना भित्र्याउनुपर्छ। तर, व्यवस्थापन गर्न चुकेकोले यो समस्या आएको हो,’ उनले भने।
होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी पनि पाहुना भित्रिनु सकारात्मक भएपनि व्यवस्थापन पनि महत्वपूर्ण रहेको बताउँछन्। ‘हाम्रो चाहना पाहुना आउन हो। भारतीय पाहुना यो बेला नआएको भए यहाँका होटलको अकुपेन्सी ३० प्रतिशत हाराहारीमा हुन्थ्यो। तर, अहिले ६० प्रतिशत पुगेको छ। यो हिसाबले असारसम्म भीडभाड छ,’ उनले भने, ‘सोचेभन्दा बढि पाहुना आएका हुन। तर, हामीले उनीहरुलाई व्यवस्थापन गर्न नसकेको हो।’
आफैले खाना पकाएर खाएपनि कस्तो ठाउँमा बसेर खान हुने वा नहुने भनेर उनीहरुलाई जानकारी दिनुपर्ने उनले बताए। ‘ट्राभल एजेन्सीले प्याकेज बनाएर पाहुना लिएर आएका हुन्छन्। किचन समूह भएपनि होटलमा बस्छन्। किचनमा पकाएर खान्छन। होटलमा बसेबापत कोठाको पैसा तिर्दा आम्दानी भएको छ,’ उनले भने, ‘तर, जथाभावि सवारी चलाउँदा दुर्घटनाको त्रास भने बढेको छ। हाइ अल्टिच्यूडको त्रास पनि छ।’
व्यावसायी आफैले पाहुनाको उचित व्यवस्थापन गर्न नसकेको उनले बताए। ‘हामीले होटल त खोलेका छौ, पाहुनालाई बस्ने र खाने ठाउ दियौ, तर तिनै पाहुनाको सवारीलाई पार्किङस्थल दिन सकेनौ,’ सुवेदी भन्छन, ‘पाहुनाको सवारी पार्किङ गर्न ठाउँ दिन सकेनौ, अनि सडकमा गाडी रोक्न लगाएका छौ। व्यवस्थापनमा हामी चुकेकै हौ। त्यसमा पाहुनलाई दोष दिन मिल्दैन।’
उनका अनुसार अहिले पोखरामा तीनथरी भारतीय पाहुना आउँछन्। महंगो रकम तिरेर तारे होटलम बस्ने पाहुना र रेस्टुरेन्टमा खाने पनि छन्। केही मध्यम खालका पाहुना छन, जसले मध्यम आकारका होटललाई व्यवासाय दिएका छन्। केही भने आफै पकाएर खाने पाहुना छन्। आफै पकाएर खाएपनि पर्यटनलाई धेरथोर लाभ भएको छ। अरु व्यवस्थापनमा व्यावसायी नै चुकेको उनले बताए।








२२ जेठ , २,०८३