नोटिफाई नेपालLoading...



एउटा यस्तो पहाड छ, जहाँ न पिउने पानी छ, न त गाउँमा भविष्य खोज्ने युवा पुस्ता नै। बाँकी छन् त केवल उराठ र बन्जर डाँडाहरू, अनि उमेर ढल्केका वृद्धवृद्धा तथा महिलाहरू। आर्थिक अभाव र संकटका कारण सिङ्गो गाउँ नै रित्तिने क्रममा छ।
कथा हो, नेपाली चलचित्र ‘पहाड’ हो। चलचित्रको सुरुवात अँध्यारो बिहानीबाट हुन्छ। गाउँका महिलाहरूको हुल एक गाग्री पानीका लागि घण्टौं लामो र कष्टकर पैदल यात्रा गर्दै पँधेरोतर्फ लम्किरहेका छन्।
सिङ्गो गाउँको जीवनचक्र त्यही एउटा पँधेरोमा निर्भर छ। चलचित्रले पानी सङ्घर्षको कथावस्तु बोकेको छ। राज्यको दृष्टि नपुगेको दूरदराजका पहाडी भू-भागका कथालाई पर्दामा समेटिएको छ। त्यहाँका आम मानिषको आम नियतिलाई महसुस गराइएको छ।
चलचित्र नाम र ब्यानर अनुसारको सुक्खा पहाडको कथा मात्र पक्कै होइन। वर्तमान नेपाली समाजको ऐना पनि हो। ऊर्जाशील युवाहरू रोजगारी र उज्ज्वल भविष्यको खोजीमा बिदेसिन बाध्य छन्। गाउँ छाडेर गएकामध्ये कोही धन कमाएर फर्किरहेका छन् त कोही काठको बाकसमा प्राणविहीन भएर।
कथाका पत्रहरू केलाउँदै गर्दा गाउँमा मुखियाकी छोरी ‘तारा’ (पञ्चमी घिमिरे) को सङ्घर्ष निकै अर्थपूर्ण देखिन्छ। उनी सिङ्गो पहाड र प्रकृति बचाउन आफ्नै बाबुविरुद्ध वैचारिक लडाइँ लडिरहेकी छन्।
त्यहीँ पहाडमा ‘मदन काका’ जस्ता पात्र पनि छन्। दिमागमा गाउँमा पानी ल्याउने वैज्ञानिक र व्यावहारिक उपाय त छ, तर उमेरले नेटो काटेका कारण शरीरमा त्यो योजना कार्यान्वयन गर्ने सामर्थ्य छैन।
अर्कोतर्फ, चलचित्रको मुख्य पात्र ‘अर्जुन’ (अरुण क्षेत्री) ले नेपाली युवाको साझा सपनाको प्रतिनिधित्व गर्छ। परिवारको ऋण तिर्ने र सुखद भविष्य निर्माण गर्ने उद्देश्यसहित अमेरिका जाने सपना बोकेर हिँडेको अर्जुन, परिस्थितिको भुमरीमा फसेर भारतको मुम्बई सहरमा पुग्छ।
मुम्बईको गल्लीहरूमा कामको खोजीमा अर्जुनले भोगेका हन्डर, ठक्कर र उसका भौँतारिएका पाइलाहरूले विदेशमा सङ्घर्षरत हरेक नेपाली युवाको कथा बोल्छन्।
अर्जुन र उसका साथीहरू ‘राजा’ तथा ‘महेश’ ले परदेशमा जीवन धान्न गरेको सङ्घर्षलाई दर्शकले गहिरोसँग महसुस गर्न सक्छन्।
चलचित्रमा प्रेम र विछोडको पाटोलाई एक संवादले निकै मार्मिक रूपमा प्रस्तुत गरिएको छ। एक सिनमा ताराले भनेकी छिन्, ‘अर्जुन, त्यो पुल काटेर गयौं भने मेरो जिन्दगीमा कहिल्यै नआउनु।’ लाग्छ, ताराको यो शब्दले प्रेमको गहिराइ, बाध्यता र छुट्टिनुपर्दाको पीडालाई एकैसाथ दर्शकसामु पस्किरहेको छ।
अभिनयको दृष्टिकोणबाट हेर्दा अभिनेता विपिन कार्की यस चलचित्रको प्रमुख आकर्षण हुन्।उनलाई अन्य चलचित्रको तुलनामा निकै फरक र रोचक स्वरूपमा प्रस्तुत गरिएको छ।
गम्भीर कथावस्तुका बीच उनको संवाद बोल्ने शैली र हाउभाउले दर्शकलाई पेट मिचीमिची हाँस्न बाध्य बनाउँछ। दाह्री कटाउन भनेर बसेको दृश्यमा उनको प्रस्तुति अब्बल छ।
जुनसुकै चरित्रमा पनि सहजै प्राण भर्न सक्ने खुबी भएका विपिनले मुम्बईमा सङ्घर्षरत ‘राजा’ को चरित्रलाई पूर्ण रूपमा न्याय गरेका छन्।
मुख्य भूमिकामा देखिएका अरुण क्षेत्री (अर्जुन) को अभिनय पनि निकै प्रशंसायोग्य र स्वाभाविक छ। रेनुनाथ योगीले आफ्नो चरित्रलाई पर्दामा राम्रोसँग उतारेकी छन्।
यद्यपि, ‘तारा’ को भूमिकामा देखिएकी पञ्चमी घिमिरेको अभिनयमा भने केही अपरिपक्वता झल्किन्छ। उनले बोल्ने कतिपय संवादहरू स्वाभाविकभन्दा बढी अतिरञ्जित र नाटकीय लाग्छन्।
गाउँमा काटिँदै गरेका रूखहरू बचाउन जाँदाको दृश्य होस् वा पिता नरसिंहसँगको वैचारिक टकरावको दृश्य। उनको प्रस्तुतिमा मञ्चन गरिएको नाटकको जस्तो ‘लाउडनेस’ हाबी भएको महसुस हुन्छ।
लामो समयपछि निर्देशनमा कमब्याक गरेका निर्देशक तुलसी घिमिरेले उठाएको विषयवस्तु अत्यन्तै सशक्त र सान्दर्भिक छ। गाउँको पानीको समस्या र युवा पलायनको मुद्दालाई कथानकमा बुन्नु उनको सबल पक्ष हो।
तर, चलचित्रको पटकथा र सम्पादनमा भने प्रशस्त कमजोरी देखिन्छन्। कथालाई चाहिनेभन्दा बढी लम्बेतान बनाइएको छ। चलचित्रमा लामा र उपदेशात्मक संवादहरू धेरै छन्। यी संवादले दर्शकको धैर्यको परीक्षा लिन्छन्।
अर्जुनले मुम्बईमा काम खोज्दै हिँडेका कतिपय दृश्यहरू अनावश्यक रूपमा तन्काइएको छ, सम्पादनको टेबलमा ती दृश्यहरूलाई छरितो बनाउन सकिन्थ्यो। यद्यपि, चलचित्रको साङ्गीतिक पक्ष भने उत्कृष्ट छ। कथाको भावनालाई बलियो बनाएको छ।
कमाउनका लागि गाउँबस्ती छाड्नु आम नेपालीको नियति बनिसकेको वर्तमान अवस्थामा चलचित्रले त्यही नियतिको यथार्थ तस्बिर पेस गरेको छ।
छाडेर जानेहरूको पीडा र पर्खनेहरूको आशा एवं निराशाको दोबाटोमा उभिएको यो चलचित्र नेपाली समाजको एउटा जिउँदो दस्तावेज हो।
यसमा केही प्राविधिक र निर्देशकीय कमजोरी पक्कै छन्, तर निर्देशक घिमिरेले दिएको सन्देशलाई भने नजरअन्दाज गर्न मिल्दैन।
नेपाली समाजसँग प्रत्यक्ष जोडिएको भुइँमान्छेको कथा मन पराउने र अभिनेता विपिन कार्कीको फरक अवतार हेर्न चाहने दर्शकका लागि यो चलचित्र एउटा उत्कृष्ट विकल्प साबित हुनसक्छ।







९ बैशाख , २,०८३