नोटिफाई नेपालLoading...



पहिले उनी तत्कालीन विद्रोही माओवादीले गठन गरेको जनमुक्ति सेनाका कम्पनी कमान्डर थिए । देशमा आमूल परिवर्तनको नारासहित उनी २६ वर्षको उमेरमै माओवादी ‘जनयुद्ध’मा होमिएका थिए । उनी हुन्– कालिकोटका वीरेन्द्रबहादुर भण्डारा । आमूल परिवर्तनका लागि माओवादीमा लागेर विभिन्न मोर्चामा युद्ध लडेका उनी आशाअनुसार उपलब्धि हासिल नभएपछि ‘त्यो युद्ध र परिवर्तनको नारा माछा–माछा भ्यागुतो बन्न पुगेको’ बताउँछन्।
जनताको मुक्तिका लागि बन्दुक बोकेर जंगलजंगल हिँडेका, युद्धमोर्चामा भिडेका भण्डारा अहिले जीवनको अर्को मोर्चामा छन्, जहाँ युद्धका नाराको सट्टा जीविकोपार्जनको संघर्ष छ । अहिले उनी जिविकोपार्जनका लागि माछा बिक्री गर्छन् । प्रतिदिन न्यूनतम २५ केजी माछा बिक्री गर्ने उनी यसबाट वार्षिक ६ लाख बढी रुपैयाँ आम्दानी हुने बताउँछन्। एक समय परिवर्तनको सपना बोकेर बन्दुक समातेका उनका हातमा अहिले तिला नदीका माछा हुन्छन् । उनी भन्छन्, ‘जीवनको दिशा फेरिएको छ तर संघर्ष भने उस्तै छ। त्यतिबेला बम, गोला र बारुद बोकेर हिँडिन्थ्यो, अहिले बिक्रीका लागि माछा बोकेर हिँड्नुपरेको छ।’
उनको मोटरसाइकल पछाडि ड्रम हुन्छ । त्यही ड्रमभित्र माछा राखेर उनी दैनिक बजारका होटल तथा घरघरमा माछा बेच्न पुग्छन् । विगतमा माओवादी जिन्दावाद भन्दै परिवर्तनका लागि जनताका गीत गाउँदै हिँड्ने गरेका उनी अहिले ‘ए हजुर, तिला नदीका असला जातका सफा माछा राख्नुस्’ भन्दै घरघर र होटलमा पुग्छन् । समयले उनको परिचय बदलिदिए पनि श्रमप्रतिको विश्वास भने अझै उस्तै छ। ‘जनमुक्ति सेनामा जुम्ला, सिन्धुली, अछाम, बाजुरा, अर्घाखाँची, बेनी, पाल्पा, बाँकेको कसुम र गणेशपुर, रुकुमको खारालगायत ४९ स्थानका युद्धमा म सहभागी भएको थिएँ,’ उनी भन्छन्, ‘अहिले तिला र कर्णाली नदीका विभिन्न जातका माछा बेच्ने गरेको छु।’
माओवादी युद्ध छाडेर शान्ति प्रक्रियामा समाहित भएपछि पूर्वलडाकु भण्डाराले राज्यले दिएको ६ लाख रुपैयाँ लिएर स्वेच्छिक अवकाश रोजे । त्यसो त उनमा राजनीतिक सक्रियता अहिले पनि जीवित छ । तर जुन सपना र नाराका साथ तत्कालीन राज्यपक्षविरुद्ध युद्ध लडिएको थियो त्यसलाई अहिले नेताहरूले छाडेको पूर्वजनमुक्ति सेनाका लडाकुहरूको आरोप छ । भण्डाराका शरीरमा युद्ध लड्दा लागेका गोलीका घाउ छन् । नेपाली जनतालाई युद्धका बेला बाँडिएका सपना अहिले नेताहरूले बिर्संदै गएको आरोप उनको छ । उनका अनुसार नेताहरू आफ्नो स्वार्थमा रमाउँदा जनयुद्धको भावना नै मेटिएको छ।
तत्कालीन माओवादीले परिवर्तनका लागि दिएका नाराले जनताको जीवन बदल्न नसकेको उनको निष्कर्ष छ । यसमा उनलाई दुःख पनि लागेको छ । त्यसैले उनी अब राजनीतिक क्रान्ति होइन आर्थिक क्रान्तिको कुरा गर्छन् । ‘जति राजनीतिक क्रान्तिका कुरा गरे पनि हरेक परिवारको आर्थिक उन्नति नभएसम्म देश समृद्ध हुन नसक्ने रहेछ,’ उनले भने, ‘त्यसैले मैले जीवनस्तर उठाउन व्यापार रोजें, आर्थिक क्रान्तिको बाटो रोजें।’
विगतमा जनमुक्ति सेनाले निर्वाह गरेको भूमिकाकै कारण देशमा राजनीतिक परिवर्तन भएकोमा भने उनलाई केही सन्तोष छ । तर अहिले उनको विश्वास आफ्नै श्रम, पसिना र पौरखमा छ । ‘मेरो माछा व्यवसाय आर्थिक क्रान्तिमा जुट्नुपर्छ भन्ने सन्देश पनि हो,’ उनले भने, ‘आर्थिक समृद्धि पौरखमा नै हुने रहेछ।’
आफ्ना छिमेकी, आफन्त र साथीभाइहरू ठुलाठुला सपना बोकेर विदेश पलायन भएको देखेका उनी आफूमा विदेश जाने सोच कहिल्यै नआएको बताउँछन् । उनी आफ्नो माछा व्यापार सन्तोषजनक भएको बताउँछन् । भन्छन्, ‘आफ्नै माटोमा पसिना बगाएर भविष्य खोजिरहेको छु । बिहानै उठेर नाग्मा बजारबाट माछा ल्याएर जुम्ला बजार, कालिकोटको मान्म, जुम्लाको गोठिज्युला, पातारासीको लासी, सिञ्जाको नराकोट, तिलाको रारालिही र तातोपानी गाउँपालिकाको लिताकोट बजार पुग्छु । यसैमा सन्तुष्ट छु।’
उनले केजीको ८ सय रुपैयाँ दरले माछा खरिद गर्छन् र ग्राहकलाई प्रतिकेजी एक हजार रुपैयाँमा बेच्छन् । ‘मागे जति माछा पु¥याउन सकिँदैन, माग बढ्दो छ,’ उनले भने, ‘आफ्नै काम गरेर परिवारसँग बस्न पाउनुको खुसी बेग्लै हुँदोरहेछ।’
यस्तै कालिकोटका सुरेश शाही पनि माछा व्यापार गर्छन् । ४४ वर्षमा हिँड्दै गरेका उनले माछा बेच्न लागेको पाँच वर्ष बढी भएको सुनाए । उनले पनि तिला नदीका असला जातका माछा बेच्छन् । जुम्लाको सदरमुकाम खलंगामा रहेका होटल र घरमा उनी माछा बेच्न पुग्छन् । कालिकोट नाग्मा बजारका होटल, पसल र घरमा पनि माछा बेच्न पुग्ने गरेको उनी बताउँछन् । उनले मागअनुसार सबै गाउँबस्ती पुग्ने गरेको बताए । शाहीका अनुसार माछा बेचेर मासिक ४५ हजार रुपैयाँ आम्दानी हुन्छ । ‘मेरो छ जनाको परिवार छ । सबै घरखर्च र छोराछोरीको पढाइ खर्च यसबाटै चल्छ,’ उनले भने।
तर उनले माछा बेचेर कमाएको २१ लाख रुपैयाँ राखेको जुम्लाको दियालो सहकारी डुब्यो । सहकारी डुबेपछि बचत रकम नपाएको गुनासो उनले गरे। ‘पाँच वर्ष दुःख गरेर कमाएको पैसा सहकारीमा राखेको थिएँ,’ उनले भने, ‘अहिलेसम्म पाएको छैन ।’ उनी आठ कक्षा पास हुन्। भन्छन्, ‘खेतीपाती पनि गर्छु । माछा बेचेर परिवारको जीविकोपार्जन गरिरहेको छु।’








२२ जेठ , २,०८३