नोटिफाई नेपालLoading...



चालीसको दशकदेखि नै नेपाली साहित्यमा सक्रिय रहँदै आएका भीम राना ‘जिज्ञासु’ को छैटौँ कृति ‘अर्थात् ऊ ’ उनको दोस्रो लघुकथासङ्ग्रहका रूपमा भर्खरै सार्वजनिक भएको छ।
‘जिज्ञासु’ उपनामले नै उनको खोजीमूलक र सचेत दृष्टिकोणलाई संकेत गर्छ, जुन यस सङ्ग्रहका कथाहरूमा स्पष्ट रूपमा प्रतिबिम्बित भएको पाइन्छ।
यस पुस्तकमा अचूक अस्त्र, अन्ततः छुट्टिएपछि, अन्तर्वार्ताको अन्तर्य, अन्तिम इच्छा, आचरण, आत्माविहीन संस्कृति, इरिटेड, एक्कासि चम्केको भाग्य, कानूनको नौ सिङ, कुलीन वेश्या लगायतका शीर्षकसहित पचास लघुकथा सङ्गृहीत छन्।
यी कथाहरूले सामाजिक यथार्थ, मानवीय मनोविज्ञान, राजनीतिक विकृति, भ्रष्टाचार तथा समाजका सूक्ष्म तहहरूलाई उजागर गरेका छन्। लेखकले सामान्य पात्र र दैनिक जीवनका घटना आधार बनाएर महत्त्वपूर्ण सन्देश प्रवाह गर्न सफल भएका छन्।
‘जिज्ञासु’ का कथाहरूमा सामाजिक चेतना र यथार्थपरक दृष्टिकोण बलियो रूपमा देखिन्छ। वर्गीय विभेद, गरिबी, अन्याय, अवसरका लागि संघर्ष, र राजनीतिक स्वार्थजस्ता विषयहरूलाई उनले स्पष्ट रूपमा प्रस्तुत गरेका छन्। कथाहरूमा व्यङ्ग्य चेत पनि सशक्त रूपमा भेटिन्छ, जसले पाठकलाई मनोरञ्जन मात्र होइन, सोच्न पनि बाध्य बनाउँछ।
भाषिक दृष्टिले उनका कथाहरू सरल र स्पष्ट छन्। जटिल शब्दावलीको प्रयोग नगरी सामान्य बोलचालको शैलीमा गहिरा विचार प्रस्तुत गर्नु उनको विशेषता हो। “भाषा सजिलो तर विचार गहिरो हुनुपर्छ” भन्ने धारणा उनको लेखनमा देखिन्छ। यसले पाठकलाई सहजै आकर्षित गर्दै कथाभित्रको सन्देश आत्मसात गर्न प्रेरित गर्छ।
यस सङ्ग्रहका कथाहरूमा करुणा, पीडा, आशा र विडम्बनाको राम्रो चित्रण पाइन्छ। विशेषगरी कमजोर, सीमान्तकृत र उत्पीडित वर्गप्रति लेखकको गहिरो सहानुभूति झल्किन्छ। कथाहरूले भ्रष्ट कर्मचारीतन्त्र, राजनीतिक दाउपेच, कानुनी जटिलता र मानवीय कमजोरीजस्ता समाजका विकृतिहरूलाई नङ्ग्याउँदै पाठकलाई यथार्थसँग साक्षात्कार गराउँछन्। “बीसौँ लिटर दूधमा एक थोपा विष परे पनि त्यो विषमै गणना हुन्छ” वा “निरन्तर घोच्दै जाँदा बलियो वस्तुमा पनि प्वाल पर्छ” जस्ता सन्देशले जीवनका सूक्ष्म सत्यलाई सरल ढंगले उजागर गरेका छन्।
यद्यपि, केही कथामा उपदेशात्मकता बढी देखिनु, अन्त्य पूर्वानुमेय हुनु र विषयवस्तुको विविधता सीमित हुनु जस्ता कमजोरी पनि भेटिन्छन्। कतिपय कथा सन्देशमुखी भएर कलात्मकताको पक्ष केही कमजोर बनेको पनि आभास हुन्छ। तथापि कथाले पाठकलाई आफ्नै वरिपरिका घटना र पात्रहरूसँग जोड्दै “यो त हाम्रो आफ्नै कथा हो” भन्ने अनुभूति दिलाउँछ।
समग्रमा, यसको सामाजिक सन्देश, सरल भाषा शैली र यथार्थपरक दृष्टिले यस कृतिलाई पठनीय र सार्थक बनाएको छ। यस अर्थमा “अर्थात् ऊ” लाई समकालीन नेपाली समाजको यथार्थ चित्रण गर्ने लघुकथासङ्ग्रह हाे भन्न सकिन्छ। जसका लागि लघुकथाकार “जिज्ञासु” बधाईका पात्र बनेका छन्। आगामी दिनमा पनि उनका यस्तै कृतिहरू पढ्न पाइयोस्। धेरैधेरै शुभकामना।
कृति : अर्थात् ऊ
विधा : लघुकथा
लेखक : भीम राना ‘जिज्ञासु’
सम्पादक : विमल भाैकाजी
प्रकाशक : भुँडीपुराण प्रकाशन
मूल्य : रु. ४००।-
पृष्ठ : १०८






-1698832414.jpg)
९ बैशाख , २,०८३