नोटिफाई नेपालLoading...



वृद्धाश्रमको मूल ढोकानिरै रहेको एउटा पुरानो बेन्चमा बस्नु हरिकृष्ण बुढाको दैनिक तालिका जस्तै भइसकेको थियो। बाटोमा ओहोरदोहोर गर्ने हरेक गाडी र मानिसहरूलाई उनी निकै चनाखो भएर हेर्थे - मानौँ उनले कसैलाई पर्खिरहेका छन्।
छोराबुहारीले शहरमा ठाउँ नपुगेको भन्दै यहाँ छाडेर गएको सात वर्ष भइसकेको थियो। सुरुका दुई वर्ष त दशैँमा लिन आए तर पछिल्ला पाँच वर्षदेखि न त उनीहरू आए, न त कुनै फोन नै आयो। आश्रमका अरू साथीहरू हरिकृष्णलाई सम्झाउँथे, ‘अब ती आउँदैनन् हरिकृष्ण, माया मारिदेऊ।’
तर हरिकृष्णको मन कहाँ मान्थ्यो र!
एकदिन आश्रममा एउटा टेलिभिजन च्यानलका पत्रकारहरू वृद्धवृद्धाहरूको अवस्थाबारे डकुमेन्ट्री बनाउन आए। पत्रकारले क्यामेरा तेर्स्याउँदै हरिकृष्णलाई सोधे,
बाजे, यहाँ तपाईंलाई कस्तो छ। छोराछोरीको सम्झना आउँदैन। ’
हरिकृष्णले आँसु पुछे र आफ्नो कपाल मिलाउँदै मुस्कुराउने प्रयास गरे। उनले क्यामेराको लेन्समा सिधै हेरेर भने, ‘म यहाँ निकै खुसी छु बाबु। खान-बस्न दुःख छैन। मेरी नातिनी श्रेया अहिले त ठुली भई होली, त्यसलाई भनिदिनू हजुरबाले सम्झिनुभएको छ।’
पत्रकारले अचम्म मान्दै सोधे, ‘तपाईंको छोराको नम्बर छ भने भन्नुस्, हामी फोन गरेर बोलाइदिन्छौ नि त।’
हरिकृष्णले हतारहतार पत्रकारको हात समाते र मधुरो स्वरमा भने, ‘होइन बाबु,फोन नगर्नू, उनीहरू रिसाउँछन्। बरु यो भिडियो टिभी र युट्युबमा राखिदिनू ल। मेरी बुहारीले दिनभरि मोबाइल र टिभी हेर्छे। यदि यो कार्यक्रममा मलाई देखिभने, उनीहरूले थाहा पाउनेछन् कि बुढो अहिलेसम्म मरेको छैन, यहीँ बाँचिरहेकै छ। मलाई भेट्न त उनीहरू आउँदैनन् तर कम्तीमा मेरो अनुहार देखेर उनीहरूलाई मेरो याद त आउला नि!’
क्यामेराको लेन्समा हेरिरहेका हरिकृष्णका आँखामा एउटा गहिरो सन्तोष देखियो। छोराछोरीले आफूलाई बिर्सिए पनि, उनीहरूको मानसपटलमा आफ्नो अस्तित्व बचाइराख्ने उनको यो एउटा अन्तिम तिर्सना थियो।

.jpg)



-1781786010.jpg)


६ श्रावण , २,०८३