नोटिफाई नेपालLoading...



धर्म र आस्थाको क्षेत्रमा जब-जब अन्योल बढ्छ, तब कुनै न कुनै रूपमा सत्यको उद्घाटन हुने गर्दछ। ज्योतिषशास्त्रमा पनि 'अयनांश' यस्तै एउटा कसी हो, जसलाई सही ढङ्गले नबुझ्दा समाजमा अनेकौँ भ्रम र तथाकथित 'प्रायोजित' सिद्धान्तहरूको खेती भइरहेको छ। वास्तवमा अयनांश कुनै काल्पनिक कुरा नभएर एक शाश्वत, प्राकृतिक र ईश्वरीय बदलावको व्यवस्था हो।
के हो अयनांश?
संस्कृतमा 'अयन' को अर्थ हुन्छ, जानु वा स्थान परिवर्तन गर्नु। हाम्रो पृथ्वीको भ्रमणवृत्त र आकाशीय मध्यवृत्त (भूमध्यरेखाको आकाशीय विस्तार) जुन बिन्दुमा काटिन्छन्, त्यसलाई वसन्त सम्पात भनिन्छ। यो सम्पात बिन्दु स्थिर नभई प्राकृतिक कारणले हरेक वर्ष करिब ५०।३ विकलाको गतिले पश्चिमतिर सरिरहेको हुन्छ। सायन मेष (चलायमान बिन्दु)देखि निरयण मेष (स्थिर बिन्दु) बीचको यही दूरी नै 'अयनांश' हो।
सायन र निरयणको सन्तुलन
ज्योतिषमा दुई प्रकारका राशिचक्र मानिन्छन्: १. सायन: जुन अयन गतिसँगै निरन्तर परिवर्तनशील हुन्छ। २. निरयण: जुन स्थिर वा अचल हुन्छ।
हाम्रा ऋषिमुनिहरूले 'चलाचलासः' को सिद्धान्त अनुसार वैदिक र व्यावहारिक प्रयोजनका लागि निरयण चक्रलाई नै मुख्य आधार मानेका छन्। यदि हामीले सायन पद्धति मात्रै अपनाउने हो भने हजारौँ वर्षपछि नक्षत्र र राशिहरूको तालमेल पूर्णतया बिग्रिनेछ। उदाहरणका लागि, वर्तमान अयन गतिको कारण सन् २४२५ सम्ममा निरयण मेष सरेर सायन मीनमा पुग्नेछ। यस्तो 'खगोलीय दुर्घटना' बाट बच्नका लागि नै स्थिर नक्षत्र (जस्तै: चित्रा) लाई आधार बनाएर निरयण गणना गर्ने पद्धति सर्वश्रेष्ठ मानिएको हो।
अयन गतिको वैज्ञानिक मापन
अयन गतिको बारेमा प्राचीन आचार्यहरू र आधुनिक वैज्ञानिकहरू बीच गहन शोध भएका छन्, जसलाई निम्नानुसार बुझ्न सकिन्छ:
• सूर्यसिद्धान्त: यसले अयन गतिलाई ५४ विकला प्रतिवर्ष मानेको छ र अधिकतम २७ अंशसम्मको दोलन हुने तर्क अघि सारेको छ।
• भास्कराचार्य: उहाँले यसलाई 'विषुवत्क्रान्तिपात चलन' भन्दै यसको गणितीय महत्त्व स्पष्ट पार्नुभएको छ।
• आधुनिक विज्ञान: सन् १८५० मा वैज्ञानिक न्यूकम्बले प्रतिपादन गरेको सूत्र आज पनि विश्वभर मान्य छ। जस अनुसार २१ औँ शताब्दीको सुरुमा अयन गति ५०।२७८ विकला थियो, जुन व्यावहारिक रूपमा ५०।३ विकला मानिन्छ।
यसका साथै, पृथ्वीको अक्षमा हुने मामूली विचलन, जसलाई 'न्यूटेशन' वा अक्ष-विचलन भनिन्छ, त्यसलाई समेत संस्कार गरेपछि मात्र 'स्पष्ट अयनांश' प्राप्त हुन्छ।
चित्रापक्षीय अयनांश: एक प्रामाणिक आधार
अश्विनी आदि नक्षत्र समूहहरूमा 'चित्रा' नक्षत्रको एउटा विशेष तारालाई आधार मानेर गरिएको गणना नै चित्रापक्षीय अयनांश हो। सन् १८९० मा वेङ्कटेश केतकरले आफ्नो ग्रन्थ 'ज्योतिर्गणितम्' मार्फत यसलाई पुनर्जीवित गर्नुभयो। पछि लोकमान्य बाल गङ्गाधर तिलक र अन्य मूर्धन्य विद्वान्हरूले पनि यसको शास्त्रीय र तार्किक पक्षलाई स्वीकार गरे।
सन् १९५६ मा भारत सरकारले निर्मलचन्द्र लाहिडीको नेतृत्वमा गठन गरेको 'क्यालेन्डर रिफर्म कमिटी' ले सन् २८५ लाई 'शून्य अयनांश वर्ष' मान्दै चित्रापक्षीय अयनांशलाई नै सबैभन्दा सटिक र वैज्ञानिक ठहर गरेको थियो। आज नासाका निष्कर्षहरू र आधुनिक वेधशालाका तथ्याङ्कहरूले पनि यसैलाई अकाट्य रूपमा पुष्टि गर्दछन्।
हाम्रा पञ्चाङ्ग र अयनांशको विषमता
सूर्यसिद्धान्तसम्मत भनेर प्रचार गरिएका हाम्रा चलनचल्तीका वि.सं. २०८२ सालका पात्रोहरूमा अयनांश २४ अंश ३३ कला तथा २१ विकला र यस वर्ष वि.सं. २०८३ सालको पात्रोमा २४।३५।१८ लेखिएको छ। जबकि चित्रापक्षीय अयनांशमा आधारित पात्रोहरूमा वि.सं. २०८२ वैशाख १ गते २४ अंश १२ कला तथा लगभग ३८ विकला रहेको प्रस्ट बुझिन्छ। वास्तविक सूर्यसिद्धान्तको अयनांश २२ डिग्री देखि २३ डिग्री बिचको आसपास हुनुपर्ने देखिन्छ।
गम्भीर विरोधाभास: विचार गर्दा हाम्रा प्रचलित पात्रोहरूमा वास्तवमा चित्रापक्षीय अयनांशमा हुनुपर्ने भन्दा २० देखि २१ कलाको अन्तर देखिन्छ। यो भनेको अबको २५ वर्षपछि मात्र हुनुपर्ने अयनांश हो। हाम्रा चलनका पात्रोहरूमा उल्लेख भएका अयनांशको वास्तविक सिद्धान्त र वार्षिक गति कति हो भन्ने कुरा गणितीय रूपमा बुझ्न सकिँदैन। वि.सं. २०४३ सालअघिका नेपाली पञ्चाङ्गहरूमा अयनांशको उल्लेख गर्ने गरिएको समेत पाइँदैन।
अहिले छिमेकी मुलुक भारत सरकारका आधिकारिक निकाय लगायत सबै राज्यहरूबाट प्रकाशन हुने अधिकांश पञ्चाङ्गहरू चित्रापक्षीय अयनांशको आधारमा गणना गरिएको भनी प्रस्ट उल्लेख गरिएका हुन्छन्। उदाहरणका लागि: वाराणसीबाट प्रकाशन हुने श्रीहृषिकेश पञ्चाङ्ग, श्रीअन्नपूर्णा काशी विश्वनाथ पञ्चाङ्ग, त्यसैगरी दिल्ली, महाराष्ट्र, गुजरात, पञ्जाब, राजस्थान, देहरादून, र लखनऊबाट प्रकाशन हुने सबैजसो प्रामाणिक पात्रोहरू चित्रापक्षीय अयनांशमै आधारित छन्।
वि.सं. २०८२ र २०८३ सालको पात्रोहरूमा सूर्य र चन्द्रमा बाहेकका ग्रहहरूको उदयास्त लगायतका गणनाहरू धेरै हदसम्म चित्रापक्षीय अयनांशमा आधारित पञ्चाङ्गहरूसँग मेल खान्छन्। तर चित्रापक्षीय अयनांशानुसार वर्ष २०८२-२०८३ सम्मका हाम्रा रैथाने पात्रोहरूमा हरेक महिनाका सूर्य सङ्क्रान्तिहरूको समय भने अक्षम्य मानिने गरी निकै गडबड भएको देखिन्छ।
नेपाली पञ्चाङ्ग र दृग्गणितको आवश्यकता
नेपालमा पनि पञ्चाङ्ग परिमार्जनको बहस चलिरहँदा 'दृग्गणित' (दृश्य गणित) को भूमिका महत्त्वपूर्ण हुन्छ। जब आकाशमा प्रत्यक्ष देखिने ग्रहस्थिति र हाम्रो पञ्चाङ्गको गणनामा भिन्नता आउँछ, तब त्यो ज्योतिषशास्त्र नरहेर केवल 'कागजको खेल' मात्र बन्न पुग्दछ।
अतः अयनांशमा हुने कला वा विकलाको सामान्य अन्तरले पृथ्वीमै कुनै ठूलो विपत्ति नआए पनि, व्यक्तिगत स्वार्थ वा सस्तो नामका लागि गरिने 'मानवकृत फेरबदल' ले शास्त्रको मर्यादा गिराउँछ। हामीले अपनाउने अयनांश वैज्ञानिक उपकरणबाट प्रमाणित, शास्त्रीय रूपमा तर्कपूर्ण र व्यावहारिक रूपमा सटिक हुनुपर्दछ।
समयसापेक्ष सुधारको अपरिहार्यता
वि.सं. २०८२ सालका सङ्क्रान्तिहरूको सूक्ष्म विश्लेषण गर्दा आधुनिक 'दृक् पञ्चाङ्ग' र हाम्रो चलनचल्तीको परम्परागत पञ्चाङ्गबिचको समयान्तर निकै फराकिलो र गम्भीर देखिएको छ। वि.सं. २०८२ को भदौ सङ्क्रान्ति र वि.सं. २०८३ को असोज सङ्क्रान्तिमा १५ घण्टाभन्दा बढीको अन्तर देखिनु यसैको प्रमाण हो:
२०८२ को सिंह (भदौ) सङ्क्रान्ति: भारतको राजधानी दिल्लीबाट प्रकाशन हुने ज्योतिषाचार्य डा. सुरेशचन्द्र मिश्र गुरुजीको दृक् पञ्चाङ्गमा (भारतीय समय अनुसार) सूर्य सिंह राशिमा प्रवेश गर्ने समय शनिबार राति १:५१ बजे देखिन्छ भने काठमाडौँको देशान्तर अनुसारको अनलाइन दृक् पञ्चाङ्गमा राति २:१५ बजे हुन्छ। तर, हाम्रो नेपाल सरकारद्वारा मान्यता प्राप्त प्रचलित पञ्चाङ्गहरूमा आइतबार साँझ ५:१५ बजे मात्र सङ्क्रान्ति उल्लेख गरियो। यहाँ १५ घण्टाको गम्भीर अन्तराल देखियो। वि.सं. २०८२ का अन्य प्रमुख सङ्क्रान्तिहरूमा पनि यस्तै अवस्था रह्यो।
विडम्बनाको कुरा के छ भने, सम्बन्धित निकाय र आधिकारिक विद्वान्हरूले यस वर्ष वि.सं. २०८३ को पात्रो पनि यही अशुद्ध पद्धतिबाटै प्रकाशन गरेको बुझिएको छ। जब कि, लगभग तीन वर्षअघि नै नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले वि.सं. २०८३ सालबाट पात्रोको सम्पूर्ण गणना 'केतकी' अर्थात् 'दृग्गणित' अनुसार गर्ने सार्वजनिक प्रतिबद्धता जाहेर गरेको थियो। यस वर्ष पात्रोको सम्पादकीयमा वि.सं. २०८२ मा जस्तै सूर्य र चन्द्रमा बाहेकका सबै ग्रहहरूको गणना केतकीय गणित अनुसार गरिएको भनिएको छ। यहाँ गम्भीर वैज्ञानिक प्रश्न खडा हुन्छ, तिथि भनेको सूर्य र चन्द्रमाको कोणीय अन्तर हो। जब तिथिको मुख्य आधार मानिने 'सूर्य' को गणना नै शुद्ध छैन (पुरानै अशुद्ध पद्धतिमा छ) भने, चन्द्रमासँगको त्यसको अन्तर शुद्ध हुने कुरै भएन। तसर्थ, त्रुटिपूर्ण सूर्य स्पष्टका आधारमा निकालिएका चाडपर्वका तिथिहरू कसरी शास्त्रसम्मत र शुद्ध हुन सक्छन्?
पुर्खाप्रतिको सम्मान र युगसापेक्ष दायित्व
हाम्रो अतीत र पुर्खाहरूको अमूल्य योगदानप्रति हामी नतमस्तक छौँ। त्यो समय, जतिबेला बिजुलीबत्तीको सुविधा थिएन, टुकीको धिपधिपे उज्यालोमा बाँसको कलम र झारपातको मसीले कागजमा कोर्नुपर्ने बाध्यता थियो। कागजको उपलब्धता पनि युद्ध जितेसरह दुर्लभ मानिने त्यस कालखण्डमा उहाँहरूले गरेको साधना र प्रयास सर्वथा अतुलनीय छ।
क्याल्कुलेटर र कम्प्युटरको परिकल्पनासम्म नभएको युगमा, चाहे आफैँले कठिन गणना गरेर होस् वा काशी (वाराणसी) पुगेर त्यहाँका पञ्चाङ्गसँग मिलान गरेर होस्, उहाँहरूले समाजलाई काल–गणना र मुहूर्तको निरन्तर मार्गनिर्देश गरिरहनुभयो। लगभग २-३ दशक अघिसम्म पनि नेपाली पात्रो वाराणसीबाटै प्रकाशन हुँदै आएको इतिहास साक्षी छ। उहाँहरूको त्यो अथक परिश्रम र समाजलाई देखाएको बाटोको हामीले कदापि अवमूल्यन गर्न मिल्दैन।
आज हामी उहाँहरूकै मार्गदर्शनमा यहाँसम्म आइपुगेका छौँ। पुर्खाहरूले खनिदिएको गोरेटोमा बामे सर्दै हुर्किएका हामीले आज त्यही बाटोको प्राविधिक समीक्षा गरिरहेका छौँ। तर, मनन गर्नुपर्ने कुरा के हो भने, पुर्खाले कोरेको गोरेटोलाई समयसापेक्ष फराकिलो, पक्की र सुरक्षित बनाउनु नै सच्चा सन्तानको वास्तविक दायित्व हो। बाटोको मर्मत र सुधार गर्दा नै भावी पुस्ताको यात्रा सहज र सुरक्षित हुन्छ।
जसरी उहाँहरूले महिनौँ लगाएर हातैले गणना गर्नुहुन्थ्यो, आज हामी आधुनिक प्रविधि र सिद्धान्तको प्रयोगले सोही कार्य क्षणभरमै, अझ बढी सूक्ष्मता र अकाट्य शुद्धताका साथ गर्न सक्षम छौँ।
वर्षौँदेखि वैज्ञानिक र वेधका प्रमाणहरू हाम्रा सामु छर्लङ्ग हुँदाहुँदै पनि आत्मसमीक्षा नगर्नु र सुधारमा पछि हट्नु विडम्बनापूर्ण छ। पुर्खाको सच्चा सम्मान अन्धो भएर पुराना गणितीय त्रुटिहरूलाई दोहोर्याइरहनुमा होइन, बरु उहाँहरूको रैथाने ज्ञानलाई आधुनिक विज्ञान र वेधको कसीमा माझेर अझ परिष्कृत, शुद्ध र लोकहितकारी बनाउनुमा निहित छ।
संषिप्तमा केही शास्त्रीय भनाइहरू यसप्रकार छन् - 'ज्योतिर्विवरण' मा भनिएको छ कि यात्रा, विवाहादि कार्यहरूमा वेधतुल्य स्पष्ट ग्रहहरूको नै साधन (गणना) गर्नू। यदि कुनै सिद्धान्तबाट दृक्तुल्य ग्रह प्राप्त नभएमा, कुनै एक सिद्धान्तको मात्र अन्धभक्त नभएर गणनालाई प्रत्यक्ष वेध अनुकूल (दृक्तुल्य) नै बनाउनुपर्छ।
महर्षि वशिष्ठले पनि भन्नुभएको छ कि जुन समयमा जुन सिद्धान्तले दृक्तुल्य स्पष्ट ग्रह प्राप्त हुन्छ, त्यसै पक्षद्वारा साधित ग्रहहरूबाट तिथि, नक्षत्र आदिको निर्णय गर्नू भनिएको छ। 'ब्रह्मसिद्धान्त' मा पनि भनिएको छ कि प्रत्यक्ष वेध वा ध्यान-ग्रहोपदेशद्वारा बीज संस्कारलाई थाहा पाएर, दैवज्ञ (ज्योतिषी)हरूले ती संस्कार गरिएका ग्रहहरूबाट नै फल र ग्रहस्थितिको निर्णय गर्नुपर्दछ।
'ज्योतिर्विवरण' मा पुनः भनिएको छ कि पैतामह (पितामह) सिद्धान्तादि प्राचीन पद्धतिबाट प्राप्त ग्रहस्थिति आदिमा सद्यन्त्र (उत्कृष्ट यन्त्र) द्वारा उपलब्ध प्रत्यक्ष वेधसिद्ध बीज संस्कार गरेर तिनलाई जन्मसमयको दृक्तुल्य बनाउनु पर्दछ। यस्तो सुनको के लाभ, जसले आफ्नै कानलाई चोट वा कष्ट पुर्याउँछ ? त्यसै गरी, यस्तो शास्त्रको पनि के प्रयोजन, जुन प्रत्यक्ष रूपमा स्पष्ट र प्रमाणित नै छैन? 'वशिष्ठ सिद्धान्त' मा पनि भनिएको छ कि युग-युगमा सूर्य, चन्द्र आदिको स्पष्ट गणना र प्रत्यक्ष स्थितिमा अन्तर आउन थाल्दछ; अतः वेधसिद्ध ग्रहहरूलाई नै स्वीकार गर्नुपर्दछ।








२२ जेठ , २,०८३