नोटिफाई नेपालLoading...



गए राति महोत्तरीमा एक डाकाहरूले घरधनी माथि गोलि प्रहार गरेका छन्।
महोत्तरीको सोनमा गाउँपालिका ३ खखना दक्षिणबारी टोलमा स्थानीय रामविश्वास यादवको घरमा ५-६ जनाको समूहमा हातहतियार सहित आएका डाकाहरूको समूहले लुटपाट गर्न घरभित्र प्रवेश गर्ने क्रममा प्रतिकार गरेपछि डाकाले चलाएको गोलि लागेर रामविश्वासका ज्वाइँ २७ वर्षीय ईश्वर यादव र उनकी २२ वर्षीया श्रीमती किरण यादव घाइते भएका छन्।
सोनमा गाउँपालिकामा डकैती गर्न घरमा प्रवेश गरेका डाका समूहको प्रतिवाद गर्दा डाका समूहले दम्पतीमाथि गोली प्रहार गरेको थियो। हतियार सहित लुटपाट गर्न आएका डाकाहरूको योजना विफल भएको थियो।
गोली लागेर गम्भीर घाइते भएका दुवै जनालाई तत्कालै उद्धार गरी स्थानीय स्तरमा प्राथमिक उपचार पश्चात थप उपचारका लागि जनकपुर पठाइएको महोत्तरीका प्रहरी नायब उपरीक्षक पंचलाल गोलेले बताए।
घटना स्थलबाट घरमा डाका समूहले चलाएको एक थान गोलीको खोका बरामद भएको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार घटनामा संलग्न व्यक्तिहरूको पहिचान खुल्न सकेको छैन। घटनापछि फरार रहेका लुटेराहरूको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
मधेसका जिल्लामा डकैती लुटपाटको घटनामा वृद्धि हुन थालेपछि सुरक्षा अवस्था दिनदिनै कमजोर बन्दै गएको पाइएको छ। गत आइतबार ड्युटी सकेर घर फर्किँदै गर्दा हतियार धारी समूहले रौतहटको दुर्गा भगवती गाउँपालिका ४ स्थित झाँझ पुल नजिक विद्युत प्राधिकरणका एक कर्मचारीमाथि लुटपाट भएको थियो।
गंगा पिपरा फ्युज सेन्टरमा दैनिक ज्यालादारीमा कार्यरत कर्मचारी राजदेवी नगरपालिका वडा नम्बर १ घर भएका पंकज कुमार यादव कार्यालयको ड्युटी सकेर मोटरसाइकलमा घर फर्किँदै गरेको अवस्थामा झाँझ पुल नजिक हातहतियारसहित बसेका अपरिचित समूहले यादवलाई घेरा हाली उनी चढेका ना २९ प २९३२ नम्बरको निलो रङको ग्ल्यामर मोटरसाइकल लुटेका छन्।
पछिल्लो पटक मधेसका जिल्लाहरूमा सुरक्षाकर्मीहरूले गस्ती पेट्रोलिङ कमि गरेपछि सामाजिक अपराध बढ्दै गएको पाइएको छ।








२२ जेठ , २,०८३