नोटिफाई नेपालLoading...



दुई खेल, ६ विकेट र मात्र १४ रन, नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले घरेलु मैदानमा भएको युएईविरुद्धको दुई वटा टी–२० मा देखाएको जादू हो।
सोमबार र मंगलबार त्रिवि क्रिकेट मैदानमा नेपालले दीपेन्द्र सिंह ऐरीको कप्तानीमा युएईसँग २ खेलको टी-२० अन्तर्राष्ट्रिय सिरिज खेल्यो।
पहिलो खेलमा युएईसँग ६ विकेटले हारेको नेपालले दोस्रो खेलमा युएईमाथि ८ विकेटको शानदार जित हासिल गर्दै घरेलु मैदानमा सिरिज बराबरी गर्न सफल भयो।
नेपालले सोमबार पहिलो पटक घरेलु मैदानमा रात्रिकालीन अन्तर्राष्ट्रिय खेल खेल्यो। सो खेलका लागि पहिलो पटक नेपालमा पनि टी–२० का लागि छुट्टै टोलीको निर्माण भयो, जुन टोलीको जिम्मेवारी दीपेन्द्रको काँधमा आएको थियो। नयाँ कप्तान र नयाँ टोलीका लागि युएईविरुद्धको यो खेल परीक्षा थियो।
यसमा सबैभन्दा सफल सन्दीप नै भए। दुई खेलमा उनले ६ विकेट लिँदा जम्मा १४ रन खर्चिए। उनको कसिलो बलिङले सिरिजमा उनले आफूलाई पुनः एकपटक बलियो प्रमाणित गरे।
मंगलबार भएको खेलमा उनले ४ ओभरमा १ मेडन ओभरसहित ६ रन मात्र खर्चिएर ३ विकेट लिए। 'मैले यस खाले विकेटहरूका लागि लामो समयदेखि काम गरिरहेको छु,' उनले युएईलाई हराएपछि भने, 'मभन्दा अगाडि बलरहरूले विकेट लिँदा मलाई सजिलो भयो।'
नेपालका लागि सातौँ ओभरमा उनले मेडन विकेट लिए। त्यसपछि १९औँ ओभरको दोस्रो र तेस्रो बलमा उनले युएईका खेलाडीलाई क्याच आउट गराए।
उनले पहिलो खेल नेपालले हारे पनि ३ विकेट लिएका थिए। त्यस खेलमा नेपालको लागि विकेटको खाता उनले नै खोलेका हुन्।
त्यही खेलमा ८ विकेट गुमाइसकेको नेपालको ब्याटिङका लागि सन्दीप दीपेन्द्रलाई साथ दिन क्रिजमा थिए। उनले नेपालको स्कोरबोर्डमा २ रनको योगदान पनि गरे। तर, त्यस खेलमा वर्षा बाधक बनेको थियो।
घरेलु मैदानमा भएको यो दुई खेलको सिरिज नेपाली टोलीका लागि आवश्यक छ। आउँदो शनिबारबाट त्रिवि क्रिकेट मैदानमै नेपाल, युएई र ओमानले आईसीसी विश्वकप लिग २ का खेलहरू खेल्दैछन्।
यो अवस्थामा नेपालको बलिङतर्फको प्रमुख हतियारका रूपमा रहेका सन्दीप उच्च फर्ममा देखिएका छन्। उनी टी-२० टोलीसँगै नेपालको एकदिवसीय क्रिकेट टोलीमा पनि समावेश छन्। आउँदो लिग २ का खेलहरू नेपाललाई जित्न निकै आवश्यक रहेको छ।
नेपालले लिग २ अन्तर्गत हालसम्म २० खेल खेलेको छ, जसबाट नेपालले १२ अंक जोडेको छ, अर्थात् नेपालले २० मध्ये ६ खेलमा मात्रै जित निकाल्न सकेको छ। यसबाट ८ टोलीको सहभागिता रहेको लिग-२ मा नेपाल तालिकाको सातौँ स्थानमा छ। अझै नेपालले १६ वटा खेल खेलेर आफूलाई शीर्ष ४ मा पार्न सक्छ। आउँदो शनिबार सुरु हुने नेपालकाे छैठौं सिरिजमा नेपालले ४ खेल खेल्छ। यी सबै खेलमा नेपाललाई शतप्रतिशत जित निकाल्नै पर्छ।
यो अवस्था हेर्दा नेपालले खेलेको युएईको टोली लगभग उही नै हुन्छ। नेपालको बलिङतर्फ सन्दीपको प्रदर्शन निकै महत्त्वपूर्ण रहनेछ। आउँदो लिग २ नेपालको लागि निकै आवश्यक रहेको सन्दीप बताउँछन्। 'अब हामीले खेल्न लागेको लिग २ का खेलहरू सबै महत्वपूर्ण छन्, हामीले घरेलु मैदानमा खेल्न लाग्दा हामीलाई निकै फाइदा हुन्छ,' सन्दीप भन्छन्, 'अब हुने खेलहरूमा हामीले प्लस पोइन्ट बढाउँदै लैजान्छौँ।'
सन्दीप विपक्षी खेलाडीलाई दबाबमा राख्न सक्ने खेलाडी हुन्। लगातार विकेट लिनु नै उनको सबैभन्दा बलियो पक्ष रहेको छ। २ खेलमा जम्मा १४ रन दिएका उनले विश्वकप लिग २ का लागि सन्दीपबाट यही प्रदर्शनको अपेक्षा रहन्छ। कुनै खेलमा जित बाहेक अन्य विकल्प नभएको सो लिग २ प्रतियोगितामा टोलीको बलिङतर्फ खम्बाका रूपमा सन्दीपले बलियो प्रदर्शन गर्नेछन्।
उनले हालै सम्पन्न प्रधानमन्त्री क्रिकेट कपमा ९ खेलमा २५ विकेट लिएका थिए।
नेपालले शनिबार लिग २ अन्तर्गत युएईसँग प्रतिस्पर्धा गर्दैछ।






-1698832414.jpg)
९ बैशाख , २,०८३