नोटिफाई नेपालLoading...



विश्वकप फुटबलकै बिचमा ‘राइड सेयरिङ’ चालक २५ वर्षीय गणेश नेपालीले आत्महत्या गरेको खबर आयो। त्यसलगत्तै शृंखलाबद्ध रूपमा अन्य व्यक्तिहरूले समेत स्वेच्छाले आफ्नो देहत्याग गरेको समाचार बाहिरियो। आखिर खेलको महाकुम्भकै बिचमा भिन्न–भिन्न क्षेत्रका मानिसले किन आत्महत्या गरे त? भन्ने प्रश्न उठ्यो। मर्ने व्यक्तिहरूको पृष्ठभूमि पृथक् भए पनि उनीहरू मानसिक रूपमा थकित र आर्थिक रूपमा संघर्षरत भएको जानकारीमा आयो।
आनुवंशिक खराबी, मानसिक थकान अनि गरिबी, अभाव, अस्वाभाविक महत्वाकांक्षाजस्ता वातावरणीय कारणले मानसिक रोगीको संख्या बढ्दो छ। केही वर्षअघि मात्र एन्जाइटी, डिप्रेसनलगायतका मानसिक रोगले झन्डै १५ प्रतिशत नेपाली थलिएको देख्यो मनमोहन मेमोरियलका राजाराम ढुंगानासहितको अनुसन्धान टोलीले। त्यसो त सामाजिक सद्भाव अनि सामीप्यले धेरै थरीका मानसिक रोगबाट पार पाउन नसक्ने होइन तर हातहातको स्मार्टफोन अनि सामाजिक सञ्जालको व्यापकतापछि संवाद र छलफल पातलियो। समस्या सुन्ने, सुनाउने र समाधानको उपाय रच्नेको संख्या घट्यो। सूचनाको अभावमा समस्यामा डुबेको व्यक्तिले आफूलाई सबैभन्दा अभागी ठान्न थाल्यो।
विविध कारणले उत्पन्न भएको मानसिक थकान व्यवस्थापन गर्न नसकेपछि व्यक्ति आत्महत्याको चरणमा पुग्छ। त्यसमाथि आत्महत्याको घटनालाई अत्यधिक महत्व दिँदा दिमागी थकानमा परेकाहरूले मरेको व्यक्तिमा देवत्वकरण भएको महसुस गर्छन्। गणेश नेपालीले आत्महत्या गरेको खबरले पाएको अत्यधिक चर्चाका कारण पहिलेदेखि नै मस्तिष्कको शिथिलता बेहोरेकाहरूले पनि सोही बाटो रोजे भन्ने एक पक्षको राय छ। नेपालमा मात्र होइन, अन्यत्र समेत आत्महत्या र कहालीलाग्दो आमहत्याको चर्चासँग हौसिएर पहिलेदेखि नै दिमागी समस्या रहेका व्यक्तिले त्यस्ता भयानक परिदृश्य दोहो¥याउन सक्ने मनोविशेषज्ञको राय देखियो।
समस्याको हल खोज्न नसक्दा उच्चशिक्षा पाएका विज्ञहरूले समेत आत्महत्या गरेका छन्। ११ वर्षको अवधिमा हार्वार्ड विश्वविद्यालयका प्राध्यापक एवं नोबेल पुरस्कार विजेता प्राध्यापक इजे कोरेका ल्याबका तीन विद्यावारिधिकर्ताले आत्महत्या गरे। एक दशकको अवधिमा एउटा ल्याबका तीन पिएचडी स्तरका अनुसन्धानकर्ताले देहत्याग गर्नु चानचुने कुरा होइन। त्यस्ता घटना सम्भ्रान्त विश्वविद्यालयहरूमा अझ धेरै देखिन्छन्। जम्मा दुई हजार अनुसन्धानकर्ता रहने क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजी (क्याल्टेक) मा पाँच वर्षभित्र विद्यार्थी र प्राध्यापक जोड्दा पाँच जनाले आत्महत्या गरेको देखियो। आफ्नो आकांक्षाअनुकूल सफलता हासिल गर्न नसक्दा अब्बल दर्जाका वैज्ञानिकहरूले त आत्महत्या गर्छन् भने अरूलाई के भन्ने?
सत्यको पहिचान र तथ्यको यथार्थपरक विश्लेषण गर्न नसके व्यक्ति दुःखित बन्छ, मानसिक रोगको सिकार हुन्छ। त्यस्ता परिदृश्यले आत्महत्यासम्मको भयावह अवस्था निम्त्याउन सक्छ। पढाइको उच्च दबाब झेल्न नसकी विद्यार्थीहरूले अप्रिय निर्णय नलिऊन् भन्नका लागि हार्वार्ड, येल, स्ट्यानफोर्डजस्ता प्रतिष्ठित विश्वविद्यालयले ‘ह्याप्पिनेस क्लास’ सञ्चालन गरेका छन्। विद्यार्थीहरूलाई मानसिक थकान र समकक्षी दबाबबाट मुक्त राख्न प्रतिकूल अवस्थामा समेत कसरी प्रसन्न रहने भन्ने व्यावहारिक ज्ञान दिनु उक्त कक्षाको लक्ष्य हो। येल युनिभर्सिटीको सन् २०१८ मा पहिलो पटक सञ्चालन गरेको ‘ह्याप्पिनेस’ कक्षामा १२ सय विद्यार्थी भर्ना भएर कीर्तिमान राख्नुले नयाँ पुस्ता सुखी प्राप्तिका लागि कति आतुर छ भन्ने बताउँछ। आखिर सबै व्यक्तिको लक्ष्य नै खुसी प्राप्ति गर्नु नै त हो नि।
विविध कारणले उत्पन्न भएको मानसिक थकान व्यवस्थापन गर्न नसकेपछि व्यक्ति आत्महत्याको चरणमा पुग्छ। आत्महत्याको घटनालाई अत्यधिक महत्व दिँदा दिमागी थकानमा परेकाहरूले मरेको व्यक्तिमा देवत्वकरण भएको महसुस गर्छन्। यस्तो सोचले उनीहरूलाई आत्महत्याको निर्णयमा पुग्ने मार्ग निर्माण गर्छ।
व्यक्तिलाई प्रसन्न बनाउने धेरै विधिमध्ये खेलकुद एक दरिलो माध्यम मानिन्छ। खेलको अवलोकनले व्यक्तिको प्रसन्नता र मानसिक स्वास्थ्यमा कस्तो प्रभाव पार्छ भन्ने सम्बन्धमा धेरै अध्ययन भएका छन्। मात्रा फरक भए पनि सबै प्रतिवेदनहरूले खेल र प्रसन्नताबिच प्रत्यक्ष सम्बन्ध देखाएका छन्। सन् २०२३ मा बेलायतको एंग्लिया रस्किन विश्वविद्यालयकी प्राध्यापक हेलेन किजले खेल हेर्दा व्यक्तिले आनन्दको अनुभूति मात्र गर्दैन, एकांकीपनबाट छुटकारा पाएकोसमेत महसुस गर्छ भन्ने बेहोराको अनुसन्धान प्रकाशित गरिन् जर्नल ‘फ्रन्टियर्स इन पब्लिक हेल्थ’मा। त्यसो त स्पेनको ‘पब्लिक युनिभर्सिटी अफ नभारे’का अनुसन्धानकर्ताले समेत रंगशालामा गएर खेल हेर्ने अवसर नजुरेको अवस्थामा घरमै बसेर टेलिभिजनमा हेरिने खेलकुद प्रतियोगितासमेत झन्डै–झन्डै उत्तिकै दिमागी ताजापन ल्याउने बेहोरा जर्नल ‘एप्लाइड साइकोलोजी’मा प्रकाशित गर्यो।
खेलमा दर्शकले एक पक्षलाई समर्थन गर्दाको परिणामसमेत आकलन गरेका छन् अनुसन्धानकर्ताहरूले। आफ्नो मनपर्ने टिमले हार्दा समर्थकलाई आघात पर्ने र मानसिक चिन्ता थप्ने भएकाले कसैप्रति पनि आग्रह र पूर्वाग्रह नभएको समूह अधिक प्रसन्न हुनुपर्ने धेरैको राय देखिन्छ। अमेरिकाको मुर्रे स्टेट युनिभर्सिटीका मनोवैज्ञानिक डा. ड्यानियल बानको विचारमा एक पक्षको कट्टर समर्थकले धेरै लाभ लिन्छ। उक्त समूहले हार र जित दुवै बेहोर्ने भएकाले वास्तविक जीवनमा आउने उतारचढावबाट पार पाउन त्यस्ता अनुभव फाइदाजनक हुन्छ भन्छन् उनी। उल्लिखित परिदृश्यको विश्लेषण गर्दा खेलसँग सम्बन्धित खेलाडी, दर्शक र समर्थक सबै मानसिक रूपमा दरिलो र उच्च मनोबल लिएर बाँच्छन् भन्ने देखियो।
धर्मकर्ममा लागेका मठमन्दिर धाउने मानिसहरू प्रायः प्रसन्न देखिन्छन्। साथै उक्त समूहमा मानसिक रोग र आत्महत्याका घटना बिरलै पाइन्छ। अमेरिकाको वेस्ट भर्जिनिया युनिभर्सिटीको साइकोलोजीका प्राध्यापक एमी फिस्कले केही वर्षअघि धार्मिक विश्वास र आत्महत्याका घटनाबिच विपरीत सम्बन्ध भएको बेहोरा प्रकाशित गरिन्। आखिर आस्थाले मानिसलाई किन मानसिक थकानबाट मुक्ति दिन्छ भनी थप अध्ययन गर्दा भक्तिमा लागेका मानिसबिच सामाजिक सद्भाव र सहयोगात्मक भावनाका कारण स्वयंलाई सबल, सक्षम र प्रसन्न ठान्छन्। खुसी आत्मा भएकामा मानसिक रोग र आत्महत्याका घटना बिरलै देखिनुलाई स्वाभाविक ठान्छिन् डा. फिस्क। एक पृथक् प्रतिवेदनले धर्मबाट आफूलाई विच्छेद गर्ने तत्कालीन कम्युनिस्ट सोभियत संघमा आत्महत्याको प्रतिशत सामान्यभन्दा निकै उच्च देखिनुलाई वेस्ट भर्जिनियाको आलेखलाई समर्थन गरेको देखिन्छ।
अभाव र गरिबीका कारण दिमागी अस्थिरता अस्वाभाविक होइन। कम्युनिस्टहरूले मठमन्दिरमा भेला हुनेलाई सफाया गर्ने भएपछि मानसिक रोगीको संख्या बढ्यो भन्ने रायलाई प्रतिकार गर्ने अवस्था रहेन। कारण जेजस्तो भए पनि देशमा देखिएको मानसिक रोग र आत्महत्याको विकरालतालाई मध्यनजर राख्दै अल्पकालीन तथा दीर्घकालीन कार्यक्रम सञ्चालन गर्नुपर्ने देखियो।
प्रसन्नता र आत्महत्याबिच विपरीत सम्बन्ध देखियो। नागरिकलाई खुसीको अनुभूति गराउन सक्दा आत्मदाहका घटना हुने भएकाले तद्सम्बन्धी कार्यक्रम आवश्यक देखियो। अध्ययनहरूले खेलसँगको सामीप्यले व्यक्तिलाई मानसिक रूपमा खुसी देखायो। तर यस पटक विश्वकप हेर्नका लागि सेवा प्रदायकलाई अतिरिक्त शुल्क तिर्नुपर्ने भएकाले धेरै नागरिकले फिफाका म्याच हेर्न सकेनन्।
व्यक्तिलाई प्रसन्न बनाउने धेरै विधिमध्ये खेलकुद एक दरिलो माध्यम मानिन्छ। खेल र प्रसन्नताबिच प्रत्यक्ष सम्बन्ध देखिन्छ। खेल हेर्दा व्यक्तिले आनन्दको अनुभूति मात्र गर्दैन, एकांकीपनबाट छुटकारा पाएको महसुस गर्छ। घरमै बसेर हेरिने खेलकुदले समेत झन्डै रंगशालाजतिकै दिमागी ताजापन ल्याउँछ।
व्यक्ति मानसिक रोगको सिकार हुँदा एकातिर नागरिकको उत्पादकत्व घट्छ भने उपचारका लागि ओखतीमूलोमा पनि पर्याप्त रकमको जोहो गर्नुपर्ने हुन्छ। तसर्थ खेलकुदको अवलोकन र सहभागिताले व्यक्तिलाई मानसिक खुसी र दिमागी सबलतासमेत दिने भएकाले स्कुले बच्चाहरूलाई खेलकुदको वातावरण मिलाउनुपर्ने भयो। त्यस्तै अवलोकन मात्रले पनि व्यक्तिलाई प्रसन्नता मिल्ने भएकाले धेरै जनताले हेर्ने विश्वकप फुटबल अनि क्रिकेटका प्रतियोगिताहरू सहज र निःशुल्क हेर्ने प्रबन्ध गर्नु लाभप्रद देखियो।
विद्यार्थीहरू पढाइको बोझ धान्न नसकेर मानसिक रोगको सिकार नबनून् भन्नका लागि अन्य देशमा पहिले नै सञ्चालनमा रहेका ‘ह्याप्पिनेस कक्षा’लाई अनिवार्य गर्न आवश्यक भयो। नेपालको सन्दर्भमा भगवद्गीता र बुद्धका दर्शनको अध्ययन सुरुवातका लागि पर्याप्त देखिन्छ। भगवान् कृष्ण स्वयंले महाभारतको युद्धमा आफ्नो पारिवारिक विनाश भोग्नुपरेको यथार्थको पुनरावृत्ति मात्रले पनि समस्यामा जेलिएकालाई बाँच्नको सहारा दिन सक्छ। त्यस्तै महाभारत युद्धको विनाशको विवेचनाले दिमागी परिपक्वता थप्छ नै।
त्यस्तै मठमन्दिरको दर्शन अनि भजनकीर्तनले समेत मानिसलाई मानसिक रोगबाट जोगाउने भएकाले धर्म संस्कृतिको जगेर्नामा समेत ध्यान दिन आवश्यक देखियो। सारांशमा भन्नुपर्दा मानसिक रोगीको उकालिँदो घनत्व अनि दिमागी समस्याले पार्ने दीर्घकालीन समाधानका लागि खेलकुदको विकास, धार्मिक तथा आध्यात्मिक जगेर्ना अनि खुसीसम्बन्धी अनिवार्य पठनपाठनमा ध्यान दिनुपर्ने भयो।
.jpg)




-1781786010.jpg)



६ श्रावण , २,०८३