नोटिफाई नेपालLoading...



इलामकी ४० वर्षीया सुनिता घिमिरे (नाम परिवर्तन) मुटुमा समस्या देखिएपछि थप उपचारका लागि सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भइन्। उनको मुटुको साँघुरिएको नली खोल्ने उपचार (एन्जियोप्लास्टी) गरिएको हो। उपचारमा केही सहुलियत मिल्ने आशामा स्वास्थ्य बिमाको भर परेर अस्पताल पुगेकी उनी अस्पतालमा बहिरंग सेवाबाहेक अन्तरंग सेवामा बिमा सुविधा नभएको थाहा पाएपछि निराश भइन्।
ज्येष्ठ नागरिक सुविधाका लागि उमेर नपुगेको र बालबालिकाको सुविधाका लागि उमेर बढी भएकाले उनी कुनै पनि सहुलियतको दायरामा परिनन्। ‘अपरेसन नगरेसम्म विपन्न नागरिकको सुविधा पनि नपाइने रहेछ। डाक्टरले पटकपटक उपचार गर्नुपर्ने बताएका छन्,’ उनले भनिन्। स्वास्थ्य बिमाकै भरमा उपचार गर्न आएकी उनी अहिले मुटुको रोगसँगै ऋणको बोझले पनि चिन्तित छिन्। आफ्नै आम्दानी नभएको र पतिको सुरक्षा गार्डको सानो जागिरबाट परिवार चलाउनुपर्ने भएकाले उपचार खर्च व्यवस्थापन गर्न कठिनाइ भएको उनले सुनाइन्।
अस्पतालमा भर्ना भएयता बिरामी र कुरुवाको खाना, बसाइ, यात्रा तथा औषधि उपचारमा मात्रै करिब एक लाख रुपैयाँ खर्च भइसकेको छ। काठमाडौं आउनुअघि स्थानीय अस्पतालमा गरिएको उपचारमा पनि एक लाख रुपैयाँभन्दा बढी खर्च भएको थियो। उपचार एकैपटक नसकिने र पटकपटक गर्नुपर्ने भएकाले उपचार सम्पन्न हुँदासम्म चारदेखि पाँच लाख रुपैयाँसम्म खर्च हुने अनुमान गरिएको उनले सुनाइन्। उनले भनिन्, ‘त्यति कमाइले बालबच्चा पाल्ने कि लागेको ऋण तिर्ने ?’
अस्पतालमै भेटिएकी हेटौंडाकी पम्पा विश्वकर्माको समस्या पनि उस्तै छ। उनी मुटुरोगी पतिको उपचारका लागि जेठदेखि अस्पतालमा बस्दै आएकी छन्। उनका पतिको मुटुको शल्यक्रिया भएको थियो। विपन्न नागरिक कार्यक्रमअन्तर्गत एक लाख रुपैयाँ बराबरको उपचार सुविधा पाए पनि धेरै औषधि अस्पतालबाहिरबाट किन्नुपर्दा थप खर्च बेहोर्नुपरेको उनले बताइन्। लामो उपचारका क्रममा अस्पतालमै करिब तीन लाख रुपैयाँ खर्च भएको छ। तीन सातापछि फलोअपका लागि आउँदा पतिको मुटुको धड्कन पुनः बढेपछि आकस्मिक कक्षमा भर्ना गर्नुपरेको थियो। राति शौचालय जाँदा हातमा लगाइएको क्यानुलाबाट अत्यधिक रक्तस्राव भएपछि पुनः उपचार गर्नुपरेको उनले बताइन्। अहिले पनि उपचार जारी रहेकाले डिस्चार्ज कहिले हुने भन्ने निश्चित छैन।
लामो उपचार अवधिमा थप तीन लाख रुपैयाँ खर्च भएको र त्यो रकम ऋण खोजेर जुटाएको उनले बताइन्। सामान्य खेतीपातीबाट जीविका चलाउने परिवारका लागि मुटुको उपचारमा लागेको ऋण कसरी तिर्ने भन्ने चिन्ताले सताइरहेको उनले सुनाइन्। अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनमा भएको भए औषधि खर्चमा केही राहत मिल्ने उनको अपेक्षा थियो। सरकारको विपन्न नागरिक सहयोग कार्यक्रमले मुटुको शल्यक्रिया गर्नुपर्ने अवस्थाका बिरामीलाई मात्रै सुविधा उपलब्ध गराउँछ तर अस्पतालमा आउने सबै बिरामी शल्यक्रिया गर्नुपर्ने अवस्थाका हुँदैनन्। लामो समयसम्म औषधि सेवन र नियमित उपचार गर्नुपर्ने मुटुरोगी भने अन्तरंग सेवामा स्वास्थ्य बिमा कार्यक्रम नहुँदा बढी मारमा परेका छन्। अस्पतालमा भेटिएका अन्य बिरामीका कुरुवाले पनि यस्तै गुनासो गरे।
अस्पतालका सूचना अधिकारी सुदीप दाहालका अनुसार उपचारका लागि आउने सेवाग्राहीबाट अन्तरंग सेवामा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन नभएको गुनासो बारम्बार आउने गरेको छ। हाल अस्पतालमा बहिरंग सेवामा मात्रै स्वास्थ्य बिमा लागु छ, जसअन्तर्गत सेवाग्राहीले २५ हजार रुपैयाँसम्मको सेवा लिन सक्छन्। अस्पतालमा विपन्न नागरिक, ज्येष्ठ नागरिक, निःशुल्क बाल मुटुरोग सेवा तथा अन्य केही लक्षित कार्यक्रम सञ्चालनमा छन् तर ती सीमित वर्गका लागि मात्रै भएकाले अन्य बिरामी त्यसबाट वञ्चित हुने गरेका छन्। अस्पतालसँग अत्यन्त विपन्न बिरामीलाई १० देखि १५ हजार रुपैयाँसम्म सहयोग गर्ने कोष भए पनि त्यो पर्याप्त छैन।
‘बिमा गर्नेहरूले एक लाख रुपैयाँसम्मको सुविधा पाउनुपर्ने हो तर उनीहरूले अन्तरंग सेवामा त्यो अधिकार उपयोग गर्न पाएका छैनन्,’ दाहालले भने। उनका अनुसार अस्पताल खर्चबाहेक खाना, बसाइ र कुरुवाको खर्चसमेत बिरामीले बेहोर्नुपर्छ। यस्ता अतिरिक्त आर्थिक भार कम गर्ने प्रभावकारी माध्यम स्वास्थ्य बिमा भए पनि सरकारले अस्पताललाई तिर्न बाँकी करिब ४० करोड रुपैयाँ भुक्तानी नगरेकाले अन्तरंग सेवामा बिमा कार्यक्रम सञ्चालन गर्न नसकिएको हो। ‘सरकारले बाँकी रकम भुक्तानी गरेर स्वास्थ्य बिमा कार्यक्रम नियमित रूपमा सञ्चालन हुने अवस्था बनेपछि मात्रै अन्तरंग सेवामा बिमा लागु गर्न सम्भव हुन्छ,’ सूचना अधिकारी दाहालले भने।
.jpg)




-1781786010.jpg)



६ श्रावण , २,०८३