नोटिफाई नेपालLoading...



सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–८ का एक युवकलाई अपहरण गरेको आरोपमा उनका आफ्नै बाबुआमा र भाइलाई प्रहरीले मंगलबार साँझ पक्राउ गरेको छ।
प्रहरीले भोक्राहा नरसिंह गाउँपालिका–८ का सदरुल मियाँलाई अपहरण गरेको आरोपमा उनका ५५ वर्षीय बुबा मियाँ, ५० वर्षीया आमा अमिरा खातुन र १५ वर्षीय भाइ कविर मियाँलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सदरुल अपहरणमा परेको भन्दै सोमबार साँझ प्रहरीलाई सूचना आएको थियो। सोही सूचनाका आधारमा खोजी गर्दा मंगलबार अपराह्न भारतको सुपौल जिल्लाको कसाइनबाट सदरुललाई उद्धार गरी नेपाल ल्याएर आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी एवम् प्रवक्ता चन्द्र खड्काले जानकारी दिए।
उनका अनुसार सदरुलले आफ्नै बाबुआमा र भाइले अपहरण गराएको भन्दै प्रहरीसमक्ष बयान दिएपछि उनीहरूलाई पक्राउ गरी अनुसन्धान थालिएको हो।
सदरुललाई अपहरण गर्नमा बाबुआमा र भाइको संलग्नताबारे अनुसन्धानबाट मात्र यकिन हुने प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानमा भने सदरुल र उनका परिवारबीच झगडा रहेको खुलेको छ।
अहिलेसम्मको अनुसन्धानअनुसार सदरुल र उनका बाबुआमाबीच अंशसम्बन्धी विवाद रहेको देखिएको छ। सदरुलले बाबुआमासँग भएको सम्पत्ति मावली पक्षको नाममा पास गरिदिएको दाबी गरिएको छ। उनका दुई भाइ विदेशमा रहेका छन्। बाबुआमा र भाइहरूले आफूलाई एक्लो बनाएको उनको आरोप छ। सदरुल विवाहित हुन् र उनी सँगै बस्दै आएका थिए।
अंशसम्बन्धी विवाद अदालतमा समेत विचाराधीन अवस्थामा रहेको छ। मंगलबार नै अदालतमा पेश हुने भएकाले योजनाबद्ध रूपमा आफूलाई अपहरण गरिएको सदरुलले प्रहरीसमक्ष दाबी गरेका छन्। प्रहरीलाई दिएको बयानअनुसार उनलाई भोक्राहा नरसिंह गाउँपालिका–७ बाट अपहरण गरिएको बताइएको छ।
उनलाई परिवारका सदस्यले सोमबार साँझ तरकारी किन्नका लागि हरिनगरको भुटाहा बजार गएको तर फर्केर नआएको भन्दै प्रहरीलाई जानकारी गराएका थिए। त्यसपछि खोजी गर्ने क्रममा भारतीय प्रहरीसँग समन्वय गर्दा सुपौलको कसाइन क्षेत्रमा बेवारिसे अवस्थामा भेटिएको डीएसपी खड्काले बताए।







९ बैशाख , २,०८३