नोटिफाई नेपालLoading...



उदयपुरको कटारीमा रहेको कटारी प्रादेशिक अस्पतालमा मंगलबारदेखि हाडजोर्नी सेवा सुरु भएको छ। सेवाको सुरुवातसँगै स्थानीय एक बालकको खुट्टाको भाँचिएको हड्डीको पहिलो शल्यक्रिया (अप्रेसन) सफलतापूर्वक गरिएको छ।
कटारी नगरपालिका–४ स्थित अस्पतालमा अप्रेसन कक्षको तयारी पूरा भएकै दिन खुट्टा भाँचिएर उपचारका लागि आएका कटारीका सन्देश श्रेष्ठका ६ वर्षीय छोराको अप्रेसन गरिएको हो। अस्पतालको अर्थोपेडिक टिमले शल्यक्रियामार्फत बालकको भाँचिएको हड्डी सफलतापूर्वक उपचार गरेको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. गौरव साहले जानकारी दिए।
डा. साहका अनुसार बिरामी बालक कटारी नगरप्रमुख राजेशचन्द्र श्रेष्ठका भाइका छोरा हुन्। नजिकका स्वास्थ्य संस्थाप्रति जनविश्वास कम हुँदा सामान्य रोगका बिरामीसमेत सुविधासम्पन्न अस्पतालमा रिफर हुने अवस्था रहेको उल्लेख गर्दै उनले मेयर श्रेष्ठकै कारण अस्पतालले पहिलो हाडजोर्नी शल्यक्रिया गर्ने अवसर पाएको बताए।
“हामीले हाडजोर्नी सेवा सुरु गर्ने भनेर तीन महिनादेखि तयारी गर्दै आएका थियौँ। वास्तवमा अप्रेसन कक्ष आज मात्रै तयार भएको हो,” डा. साहले भने, “संयोग भन्नुपर्छ, मेयरसाबकै भतिजको खुट्टा भाँचिएछ। उहाँ आफैँ बिरामी लिएर आउनुभयो र यही अस्पतालमा उपचार गरौँ भन्नुभयो। हाम्रो टिमले त्यो अवसरको सदुपयोग गर्दै अप्रेसन सफल पार्यो।”
हाडजोर्नी विशेषज्ञ डा. रमानन्द यादव र एनेस्थेसियोलोजिस्ट डा. सुरेश साहको टोलीले बालकको सफल शल्यक्रिया गरेको हो।
डा. साहले भर्खरै स्तरोन्नति भएको अस्पताल भएकाले सेवा विस्तारका काम तीव्र रूपमा भइरहेको बताए। भवनका लागि जमिन साँघुरो भएकाले कोठा व्यवस्थापन, ओपीडी कक्ष थप्ने, वार्ड विस्तारलगायत आन्तरिक तथा भौतिक सुधारका काम भइरहेको उनको भनाइ छ।
यसअघि नगरपालिकाले सञ्चालन गर्दै आएको १५ शय्याको कटारी नगर अस्पताललाई सरकारले ६ महिनाअघि मात्र ५० शय्याको प्रादेशिक अस्पतालमा स्तरोन्नति गरेको थियो। स्तरोन्नतिपछि अस्पतालले विशेषज्ञ सेवासहितको उपचार सुरु गर्ने क्रममा हाडजोर्नी सेवा सञ्चालनमा ल्याएको मेसु साहले बताए।