नोटिफाई नेपालLoading...



स्पेनस्थित नेपाली समुदायले बार्सिलोनामा नेपाली घर (मन्दिर) बनाउनका लागि ५ करोडभन्दा बढी रुपैयाँ संकलन गरेका छन्।
गैरआवासीय नेपाली संघ स्पेनका प्रवक्ता रमेश खनालका अनुसार गैर–आवासीय नेपाली संघ स्पेनको आयोजनामा बार्सिलोनामा सञ्चालित ५ दिने ‘स्पेन आध्यात्मिक महोत्सव २०२६’ मा ३ लाख युरो (५ करोड २१ लाख नेपाली रुपैयाँ) भन्दा बढीको आर्थिक संकलन भएको हो।
महोत्सवमा वाचन शिरोमणि पण्डित श्री दीनबन्धु पोखरेलको मुखारविन्दबाट प्रवाहित आध्यात्मिक प्रवचनले वातावरण भक्तिमय बनेपछि नेपाली समुदायले मन फुकाएर आ–आफ्नो आर्थिक प्रतिबद्धता घोषणा गरेका थिए। आर्थिक प्रतिबद्धता जाहेर गर्नेहरूलाई आगामी महिनाभित्र संस्थाको खातामा पैसा संकलन गर्न आग्रह गरिएको खनालले जनाए।
महोत्सवको पहिलो दिन नजिकैको समुद्रबाट १०८ कलशमा पवित्र जल भरेर निकालिएको कलश–शोभायात्राले वातावरण उत्सवमय बनाएको थियो। एनआरएनए स्पेनको महिनौँ लामो गृहकार्य, २८ वटा उपसमिति र १४ सह–संयोजकहरूको चुस्त व्यवस्थापनले कार्यक्रम सफल भएको संघले जनाएको छ।
उद्घाटन समारोहमा इस्कोन मन्दिर बार्सिलोनाको विशेष भजन–नृत्य प्रस्तुतिले महोत्सवलाई थप उल्लासमय बनाएको थियो।
एनआरएनए स्पेनका अध्यक्ष सन्तोष श्रेष्ठले संस्थाले प्रमुख उद्देश्य पूरा भएको बताए। उनले भने, 'नेपाल घर (मन्दिर) निर्माणका लागि आर्थिक संकलन गर्नु त थियो नै, तर त्योभन्दा महत्त्वपूर्ण कुरा परदेशको व्यस्त जीवन र कामको स्ट्रेस (तनाव) मा रहेका नेपालीहरूलाई आध्यात्मिक प्रवचनमार्फत मानसिक शान्ति र ऊर्जा प्रदान गर्नु थियो।'
सो महोत्सवमा १५ हजारभन्दा बढी मानिसहरूको सहभागिता रहेको बताइएको छ।
कथावाचन शिरोमणि दीनबन्धु पोखरेलले स्पेनको महायज्ञलाई 'युरोपको इतिहासकै सबैभन्दा सफल र अद्वितीय' कार्यक्रमको संज्ञा दिए।
कार्यक्रम समापन गर्दै उनले आयोजकलाई प्राप्त दानको पारदर्शिता कायम गर्न र तुरुन्तै निर्माण प्रक्रियामा लाग्न आग्रह गरे। उनले भने, 'युरोपको इतिहासमै सबैभन्दा सफल, अद्वितीय एवं उत्साहपूर्ण महायज्ञ। व्यस्त जीवनमा विशेष आध्यात्मिक ज्ञानसहितको ऊर्जा मिल्यो। ३ लाख युरोभन्दा बढी संकलन हुनु ऐतिहासिक उपलब्धि हो।'
प्रवक्ता खनालका अनुसार सो भवन खरिद गर्नको लागि कार्यविधि बनाएर भवन खरिद र व्यवस्थापनको सम्पूर्ण प्रक्रियालाई पारदर्शी ढंगले अगाडि बढाउने भएको छ।
महोत्सवमा ‘नेपाल घर मन्दिर’ निर्माणका लागि मायोर्काका व्यवसायी एवं समाजसेवी बालकृष्ण तिवारी र रामकला तिवारीले १५,५५५ युरो सहयोग प्रदान गरेर आफूहरूलाई सबैभन्दा ठूलो दानवीरको रूपमा नाम लेखाएका छन्। तिवारी दम्पती हिमाल रेस्टुरेन्टका सञ्चालक हुन्।
महोत्सव अवधिभर भोजन प्रसाद व्यवस्थापनमा देखिएको सहभागिता उदाहरणीय रहेको आयोजकले जनाएको छ। हजारौँ श्रद्धालुहरूलाई शुद्ध सात्विक भोजन गराउन विभिन्न व्यवसायी र दाताहरूले देखाएको रुचि र आर्थिक प्रायोजनले प्रवासमा पनि नेपालीहरूको 'सेवा नै धर्म हो' भन्ने भावनालाई उजागर गरेको थियो।
एनआरएनए स्पेनले महोत्सव सफल पार्न अहोरात्र खटिने स्वयंसेवक, कलाकार, सञ्चारकर्मी र समस्त स्पेनवासी नेपाली समुदायलाई कार्यक्रमको सफलताको लागि धन्यवाद ज्ञापन गरेको छ।






-1698832414.jpg)
९ बैशाख , २,०८३