नोटिफाई नेपालLoading...



सन् १९३३ मा बेलायती लेखक जेम्स हिल्टनले ‘लस्ट होराइजन’ नामक उपन्यास लेखे। त्यस उपन्यासमा हिमालयको काखमा रहेको शान्त, आध्यात्मिक र आनन्दमय भूमि ‘सांग्रिला’ को कल्पना गरिएको थियो। धेरै विदेशी पाठकले त्यो कल्पनाको भूमि कतै हिमालय क्षेत्रमै हुनुपर्छ भन्ने ठाने र पछि संसारले त्यो छविलाई नेपालसँग जोड्न थाल्यो।
सन् १९५० पछि नेपाल बाहिरी मुलुकका लागि खुला भयो। सन् १९५३ मा नेपालका तेन्जिङ नोर्गे शेर्पा र अस्ट्रेलियाका एडमन्ड हिलारीले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेपछि विश्वको ध्यान नेपालतर्फ मोडियो।
पश्चिमी राष्ट्रका पत्रकार, साहसिक पर्यटक र अनुसन्धानकर्ता नेपाल आउन थाले। उनीहरूले एउटा अनौठो अनुभव गरे– देश गरिब थियो, सडक थिएन, बिजुली थिएन, सुविधा थिएन तर मानिसहरूको अनुहारमा मुस्कान थियो। गाउँघरमा आत्मीयता थियो, इमानदारी थियो। प्रकृतिसँग जोडिएको सरल जीवन थियो। त्यसैले उनीहरूले नेपाललाई ‘रियल सांग्रिला’ भनेर लेखे।
त्यतिबेला नेपालमा वर्षमा करिब ६ हजार पर्यटक मात्र आउँथे। उनीहरू केही दिन, केही हप्ता होइन, कम्तीमा एक महिनाबस्थे। गाउँगाउँमा पुग्थे। स्थानीयसँगै खान्थे। खेतबारी हेर्थे। पदयात्रा गर्थे। संस्कृतिमा रमाउँथे। आफ्नै देश फर्केर गएपछि साथीभाइ र आफन्तजनसँग ‘हामीले स्वर्ग देख्यौं’ भन्थे। नेपालसँग ठुलो पूर्वाधार थिएन तर एउटा ठुलो सम्पत्ति थियो– सक्कलीपन।
आज अवस्था उल्टो छ। पर्यटक संख्या बढेको छ तर सन्तुष्टि घटेको छ। सन् २०१९ मा ११ लाखभन्दा बढी पर्यटक नेपाल आए। कोभिडका कारण केही वर्ष पर्यटन क्षेत्र थलियो। अहिले फेरि संख्या पहिलाकै जसरीबढ्दै गएको छ। तर एउटा गम्भीर प्रश्न भने उठेको छ– यति धेरै पर्यटक आउँदा पनि नेपालले अपेक्षित आर्थिक लाभ किन लिन सकेको छैन ?
नेपाल आउने पर्यटक औसतमा १४ दिन बस्छन्। सो अवधिमा उनीहरू लगभग ७१३ अमेरिकी डलर खर्च गर्छन्। जबकि थाइल्यान्डमा पर्यटकले यति नै अवधिमा औसत १,७८५ डलर, श्रीलंकामा १,५४६ डलर र भुटानमा १,३८९ डलर खर्च गर्छन्। यसको अर्थ स्पष्ट छ, समस्या पर्यटकको संख्यामा मात्र होइन, गुणस्तरमा पनि छ। पर्यटक खर्च गर्न तयार छन् तर हामीले आफूसँग भएका अमूल्य सम्पदाहरू संस्कृति, आध्यात्मिकता, प्रकृति र अनुभवलाई व्यवस्थित ढंगले प्रस्तुत गर्न सकेका छैनौं।
पर्यटनको पहिलो छाप: विमानस्थलमै हराउने खुसी
पर्यटकहरूले नेपाल आउने क्रममा सुरुमा हिमाल देख्दैनन्। उनीहरू सबैभन्दा पहिले विमानस्थलको लाइन देख्छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा धेरै पर्यटकले दुईदेखि तीन घण्टासम्म लाइनमा बस्नुपर्छ। अध्यागमन काउन्टरमा उनीहरूले अनावश्यक झन्झटको सामना गर्नुपर्छ। किन आएको ? कहाँ बस्ने ? कसलाई भेट्ने ? यी र यस्ता अनेकौं प्रश्नले स्वागतभन्दा बढी शंका गरिरहेको अनुभूति पर्यटकमा दिलाउँछन्। त्यसपछि लगेज लिन फेरि लामो प्रतीक्षा गर्नुपर्छ। भन्सारमा पुगेर फेरिपर्यटकले लाइनमै उभिनुपर्छ। बाहिर निस्किएपछि अव्यवस्थित ट्याक्सीका कारण पर्यटकले हैरानी बेहोर्नुपर्छ। यही प्रक्रियाले गर्दा नेपाल प्रवेश गरेको एकाध घण्टामै पर्यटकको आधा उत्साह हराइसकेको हुन्छ।
कुनै पनि देशको पहिलो छाप विमानस्थलले बनाउँछ। स्वागत नै अव्यवस्थित भयो भने त्यसले सम्पूर्ण यात्राको मानसिकता बिगार्छ। यसकारण नेपालले अब ‘अतिथि व्यवस्थापन’मा विशेष ध्यान पुर्याउनुपर्छ। विमानस्थललाई केवल सुरक्षा जाँच गर्ने ठाउँ होइन, राष्ट्रिय छवि निर्माण गर्ने प्रवेशद्वारका रूपमा विकास गर्नुपर्छ। यसका लागि केही आधारभूत सुधार तुरुन्त गर्न सकिन्छ।
ई-गेट प्रणाली लागु गर्नुपर्छ। फेस स्क्यान र डिजिटल अध्यागमनको व्यवस्था गर्नुपर्छ। भन्सार प्रक्रियालाई छिटो र पारदर्शी बनाउनुपर्छ। भन्सार तिर्नुपर्ने सामान नल्याएको अवस्थामा पर्यटकलाई बिनाजाँचपास वा सामान्य चेकजाँच जाने व्यवस्था मिलाउनुपर्छ।
अर्थात्, ‘ग्रिन च्यानल’ को विस्तार गर्नुपर्छ। ‘पर्यटक सहायता डेस्क’ स्थापना गर्नुपर्ने आवश्यकता पनि उत्तिकै छ। निःशुल्क सिम कार्ड, आधिकारिक ट्याक्सी दर र आपतकालीन जानकारी तुरुन्त दिने दिगो व्यवस्था मिलाउनुपर्छ। एयरपोर्टमा ‘वेल कम टु नेपाल’ भन्ने बोर्ड मात्र राख्ने होइन कि कर्मचारीको व्यवहार पनि त्यस्तै स्वागतयोग्य हुनुपर्छ।
हामीले नेपाल देखाइरहेका छौं, अनुभव गराइरहेका छैनौं
नेपालको पर्यटनमा रहेको अर्को ठुलो समस्या हो, अनुभवको कमी। हामी पर्यटकलाई पशुपतिनाथ मन्दिर देखाउँछौं तर हिन्दु सभ्यता र आरतीको आध्यात्मिक अनुभव गराउँदैनौं। लुम्बिनी घुमाउँछौं तर बुद्धको ध्यान र शान्तिको अनुभूति गराउन सक्दैनौं। हामी थकाली खाना खुवाउँछौं, नेवारी खाजा चखाउँछौं तर ती भोजन संस्कृतिको कथा सुनाउँदैनौं।
आजका पर्यटकहरू फोटो खिच्न मात्र यात्रा गर्दैनन्। उनीहरू अनुभव बटुल्न चाहन्छन्। उनीहरू नयाँ कुरा सिक्न चाहन्छन्। केही समयकै लागि भए पनि नेपाली स्थानीय जीवन बाँच्ने अभिलाषा उनीहरूमा हुन्छ। तर नेपालको ‘पर्यटन प्याकेज’ अझै ‘हेर्ने’ मै केन्द्रित छन्, ‘अनुभव गर्ने’ मा होइन। यसकारण पर्यटक तीन–चार दिनमै सबै सकियो भन्ने अनुभव गर्छन् र होटलमै बसी मोबाइलमा सामाजिक सञ्जाल चलाएर दिन काट्न थाल्छन्।
नेपालले पर्यटनबाट ठुलो आम्दानी लिन चाहन्छ भने ‘एक्सपेरियन्स इकोनोमी’ (अनुभवसहितको अर्थतन्त्र) मा आफूलाई रूपान्तरित गर्नुपर्छ। पर्यटकलाई गाउँगाउँमा रहेका ‘होमस्टे’को अनुभव दिलाउनुपर्छ। योग र ध्यान शिविरमा पुर्याएर उनीहरूलाई आत्मिक आनन्दको आभास गराउनुपर्छ। ‘बौद्ध मेडिटेसन रिट्रिट’ मा उनीहरूलाई जोडिदिनुपर्छ। अर्थात् आध्यात्मिक यात्रामा पर्यटकहरूलाई सहभागी गराउने प्याकेज बनाउनुपर्छ।
पर्यटकलाई स्थानीय खाना आफैं बनाउने कार्यमा सामेल हुने वातावरण मिलाइदिनुपर्छ। हिमाली जीवनशैलीको नजिकबाट अनुभव लिने स्थिति सिर्जना गराइदिनुपर्छ। कृषि पर्यटनको अवधारणा विकास गरेर पर्यटकमा बेग्लै अनुभूति हासिल गर्ने परिस्थिति निर्माण गर्नुपर्छ।
नेपाली परम्परागत गीत गाउने, त्यसमा नाच्ने, ताल मिलाएर मौलिक बाजा बजाउने अवसर दिएर संस्कृति सिकाउने कार्यक्रम तय गर्नुपर्छ। यस्ता गतिविधिले पर्यटकलाई नेपाल घुम्न आएकोमा कुनै गुनासो रहन्न। त्यस्तो गुनासोरहित अवस्थाले उनीहरूलाई लामो समय नेपालमा बस्न प्रेरित गर्छ। यसको प्रत्यक्ष फाइदा पर्यटन उद्योगलाई मात्र नभएर सिंगो देशलाई नै हुन्छ।
गुणस्तरीय पर्यटनका बाधक सस्ता गाइड
नेपालमा धेरै गाइडको दैनिक आम्दानी अत्यन्त कम छ। कम पारिश्रमिकका कारण अधिकांश गाइडहरू पर्यटकलाई पर्याप्त जानकारी दिनभन्दा पनि अतिरिक्त आम्दानीका लागि ‘कमिसन पाइने पसल’ अर्थात् कमिसन दिने होटल, रेस्टुरेन्ट आदिमा लैजान बाध्य हुन्छन्। यसबाट दुई ठुला समस्या निम्तिन्छन्।
एउटा, पर्यटकले नेपालबारे गहिरो ज्ञान पाउनै सक्दैनन्। अर्को,‘कमिसन र ठगी’को देशका रूपमा नेपालको गलत परिचय बन्छ। पर्यटन क्षेत्रमा काम गर्ने गाइडहरूले नै पर्यटकलाई नेपालको वास्तविक कथा सुनाउनुपर्छ। यसका लागि उनीहरूलाई ढुक्कसँग आफ्नो कर्ममा लाग्न सक्ने बनाउनुपर्छ।
त्यसैले गाइडहरूलाई अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षण दिनु आवश्यक छ। उनीहरू पर्यटकले बोल्ने भाषामा दक्ष हुनुपर्छ। इतिहास, धर्म, संस्कृति र मनोविज्ञानसम्बन्धी ज्ञान उनीहरूलाई दिनुपर्छ। गाइडलाई ‘लाइसेन्स’ दिने प्रणालीको विकास गर्नुपर्छ।
पर्यटनमैत्री व्यवहार नगर्ने गाइडको लाइसेन्स खारेज गर्ने प्रावधान पनि कानुनमा हुनुपर्छ। न्यूनतम पारिश्रमिकको व्यवस्था अनिवार्य रूपमा गर्नुपर्छ। गाइडलाई सम्मानजनक आय दिन सकियो भने नेपाल बेच्ने होइन, नेपाल चिनाउने काममा उनीहरू सक्रिय हुन्छन्।
पुराना नारा र पाराले नयाँ संसार जितिन्न
नेपालले धेरै वर्षदेखि उही शैलीको पर्यटन प्रचार गरिरहेको छ। एक समय ‘नेचुरल्ली नेपाल वन्स इज नट इनफ’ (नेपालको प्रकृति बुझ्न एक पटकको भ्रमण पर्याप्त छैन) भन्ने नारा प्रभावकारी थियो तर अहिले संसार बदलिएको छ। पर्यटनको भाषा बदलिएको छ। पराना नारा र पारा अब व्यावहारिक छैन। डिजिटल युगमा मानिसको ध्यान आकर्षित गर्न नयाँ कथा, नयाँ प्रस्तुति र नयाँ ऊर्जा चाहिन्छ।
थाइल्यान्डले लगभग हरेक दुई वर्षमा आफ्नो पर्यटन ब्रान्ड परिमार्जन गर्छ। नयाँ भिडियो, नयाँ संगीत, नयाँ कथा र नयाँ अनुभव प्रस्तुत गर्छतर नेपालले दशकौंसम्म उही शैली दोहो¥याइरहेको छ। राम्रा कुराको सिको अरू देशबाट गर्दा कुनै फरक पर्दैन। त्यसकारण अरू देशमा जस्तै अब नेपालले आफूलाई ‘हेर्ने देश’कारूपमा होइन, ‘अनुभव गर्ने देश’का रूपमा ‘ब्रान्ड’ बनाउनुपर्छ।
नेपाल केवल हिमाल होइन
नेपाल ध्यानको भूमि हो। नेपाल सभ्यताको संग्रहालय हो। नेपाल आध्यात्मिक यात्राको केन्द्र हो। नेपाल साहसिक पर्यटनको राजधानी हो। नेपाल विविध संस्कृतिको जीवित प्रयोगशाला हो। समग्रमा भन्दा नेपाल प्रकृति र संस्कृतिको अनुपम भण्डार हो।
हामीले सामाजिक सञ्जाल, डिजिटल भिडियो, विश्वस्तरीय डकुमेन्ट्री र प्रभावकारी अन्तर्राष्ट्रिय प्रचार अभियानमार्फत ‘नयाँ नेपाल’ देखाउनुपर्छ। बदलिँदो परिवेशअनुकूल प्रचार सामग्री निर्माण गरी विश्व परिवेशमा सकारात्मक सन्देश फैलाउनु आजको आवश्यकता हो।
सुरम्य रारा ताल, प्राकृतिक सौन्दर्यले ढाकिएको ढोरपाटन, विशालता लुकाएर बसेको बडीमालिका, अंग्रेजलाई पराजित गरेको ऐतिहासिक सिन्धुलीगढी, सयौँ थुम्काको सँगालो शैलुङ तथा स्वर्गसरि अनुभूति हुने पवित्रभूमि स्वर्गद्वारी पर्यटकलाई सहजै आकर्षित गर्न सक्ने गन्तव्य हुन्।
नेपालको भूगोलमा यस्ता अनेकौँ प्राकृतिक, धार्मिक तथा ऐतिहासिक स्थलहरू छन्, जसको वर्णन गरेर साध्य नै छैन। यी स्थानहरूमा व्यवस्थित होमस्टे, गुणस्तरीय होटल, सहज सडक पहुँच तथा भरपर्दो हवाई सेवाको विकास गर्न सकियो भने पर्यटकको आगमन उल्लेखनीय रूपमा बढ्न सक्छ।
स्थानअनुसार जल, स्थल र आकाशमार्फत गरिने पर्यटकीय गतिविधि तथा साहसिक खेलहरूको विस्तार गर्न सके पर्यटन क्षेत्र अझ आकर्षक बन्न सक्छ। तर पर्याप्त पूर्वाधार र बिनासुविधापर्यटक आकर्षित गर्ने प्रयास प्रभावकारी हुन सक्दैन।
पर्यटक नेपालमा केवल हिमाल हेर्न आउँदैनन्। उनीहरू सुरुमा सहरमा बस्छन्। सहरका सडक नियाल्छन्। सार्वजनिक शौचालय प्रयोग गर्छन्। एयरपोर्टबाट बाहिर निस्कँदा फोहोर, धुलो, ट्राफिक जाम र दुर्गन्ध भेटियो भने त्यसले देशको सम्पूर्ण छवि कमजोर बनाउँछ।
त्यसैले कडा सरसफाइ नीति, सार्वजनिक शौचालयमा सुधार, प्रभावकारी ट्राफिक व्यवस्थापन, धुलोधुवाँ नियन्त्रण, वातावरणीय स्वच्छता पर्यटनका लागि अत्यावश्यक हुन्छन्। सफा सहर केवल सौन्दर्य होइन, आर्थिक रणनीति पनि हो।
पर्यटनको सबैभन्दा ठुलो पूर्वाधार ‘इमानदारी’
नेपालको पर्यटन क्षेत्रमा सबैभन्दा खतरनाक समस्या ठगी र अविश्वास हो। एयरपोर्टबाट बाहिर निस्कँदा ट्याक्सीवालाले एउटा मूल्य भन्छ, गन्तव्यमा पुगेपछि अर्को मूल्य माग्छ। रेस्टुरेन्टमा मेनुमा एउटा दर हुन्छ, बिलमा अर्को रकम आउँछ। नाइट क्लब, बार र ट्राभल एजेन्सीमा ठगीका अनगिन्ति घटना सुनिन्छन्।
‘फेक रेस्क्यु’ जस्ता घटनाले त झन् अन्तर्राष्ट्रिय सञ्चारमाध्यममार्फत नेपालको छवि नराम्ररी बिगारेका छन्। यस्ता अवाञ्छित गतिविधिका कारण नेपाललाई हेर्ने सकारत्मक दृष्टिकोण पनि पछिल्लो समय नकारात्मकतामा बदलिएको छ।
एक जना पर्यटकलाई दुई सय रुपैयाँको सामान दुई हजारमा बेचेर हामी क्षणिक नाफा त कमाऔंला तर आफू ठगिएको थाहा पाएपछि ती पर्यटकले आफ्नो देश फर्किएपछि सामाजिक सञ्जालमार्फत अथवा अन्य कुनै माध्यमबाट नेपाल भ्रमणबारे अवश्य खराब सन्देश प्रवाह गर्छन्। त्यस्तो अवस्थामा हजारौं सम्भावित पर्यटक उतै रोकिन्छन्। त्यसले पर्यटन क्षेत्रमा दीर्घकालीन असर पुर्याउँछ।
विश्वासको उद्योगका रूपमा पर्यटन
गाँस, बास र कपास मात्र होइन सुरक्षा पनि आधारभूत आवश्यकता हो। सुरक्षा मानिसको अधिकार पनि हो। बिरानो देशमा घुम्न आउँदा पर्यटकले सुरक्षाको महसुस गर्न पाउनुपर्छ। असुरक्षाको अनुभव भयो भने ती पर्यटक फेरि फर्केर आउँदैनन् र अरूलाई पनि त्यहाँ जान नहुने भनेर सल्लाह दिन्छन्। त्यसैले ‘पर्यटक प्रहरी’लाई अझ प्रभावकारी बनाउनुपर्छ।
आपत्कालीन सहायता दिने ‘एप’ बनाउनुपर्छ। ठगीमा संलग्न व्यवसायीको लाइसेन्स खारेज गर्नुपर्छ। पर्यटक गुनासाको तत्काल सम्बोधन गर्नुपर्छ। सार्वजनिक रूपमा ‘पर्यटनमैत्री नेपाल’ अभियान चलाउनु आवश्यक छ। नेपाल‘सस्तो देश’ होइन, ‘विश्वासिलो देश’ हो भन्ने भाष्य व्यवहारमै स्थापित गर्नुपर्छ।
सीमाबाट आउने पर्यटकलाई पर्याप्त सम्मान
नेपाल आउने भारतीय पर्यटकमध्ये ठुलो हिस्साले स्थलमार्ग प्रयोग गर्छ। भारत हुँदै अन्य देशका पनि धेरै पर्यटकनेपाल भित्रिन्छन्। तर सीमामा अव्यवस्थित प्रक्रिया, एजेन्टको हस्तक्षेप र अन्य अनावश्यक झन्झटले उनीहरू हैरान हुन्छन्।
भारतीय पर्यटकलाई आफ्नो गाडी लिएर आउने सुविधा त छ तर त्यस्ता पर्यटकलाई सीमा नाकामा अनावश्य दुःख दिइन्छ। त्यसकारण अनलाइन भन्सार प्रणाली, एकद्वार सेवा, स्पष्ट सूचना, शिष्ट व्यवहार, उचित प्रतीक्षालय, स्वच्छ खानेपानी र व्यवस्थित शौचालय सुविधा उपलब्ध गराउनुपर्छ। विमानस्थलमात्र होइन, सीमा नाका पनि देशको ‘पहिलो छाप’ हो। सरसफाइ र अनुशासनबिना पर्यटन टिक्दैन भन्ने कुरामा सदैव सचेत रहनुपर्छ।
निजी क्षेत्रलाई सहज वातावरण चाहिन्छ
नेपालको पर्यटनमा निजी क्षेत्रको भूमिका उल्लेखनीय रहेको छ तर राज्यले निजी क्षेत्रलाई गर्ने व्यवहार न्यायोचित छैन। नेपालमा होटल, ट्राभल कम्पनी वा पर्यटन व्यवसाय दर्ता गर्न झन्झटिलो मात्र छैन, समय पनि अत्यधिक लाग्ने गरेको छ।
पर्यटन व्यवसायीले राज्यबाट प्राप्त गर्नुपर्ने सुविधाबाट पनि वञ्चित हुनुपरेको छ।यो सुधार्नै नसकिने समस्या भने बिल्कुलै होइन, केवल राज्यले निजी क्षेत्रलाई हेर्ने नजर फेर्नुपर्छ, पर्यटनमा निजी क्षेत्र अभिन्न रहेको स्वीकार गर्दैपर्यटन व्यवसायीहरूलाई न्याय दिने इच्छाशक्ति राख्नुपर्छ।
यस कार्यका लागि सरकारले एकद्वार प्रणाली लागु गरेर छिटो अनुमतिपत्र दिने व्यवस्था सुनिश्चित गर्नुपर्छ। पर्यटन व्यवसायीलाई कार्यालय धाउनुपर्ने अवस्थाबाट मुक्त गराउन सबै काम डिजिटल माध्यमबाट गर्न सक्ने परिस्थिति निर्माण गर्नुपर्छ। लगानीमैत्री नीति लागु गर्न सके पर्यटन क्षेत्रमा ठुलो लगानी आउन सक्छ। सरकारले निजी क्षेत्रलाई शंका गर्ने होइन, साझेदारका रूपमा हेर्नुपर्छ।
अब नेपालले ठुलो सपना देख्नुपर्छ
सानो सपना सानै सफलता भन्ने भनाइ नै छ। सपना नै नदेखे त झन् हुनेवाला केही छैन। नेपालले अब ठुलो सपना देख्नुपर्छ। ‘जति आए पनि ठिकै छ’ भन्ने सोचबाट आफूलाई माथि उठाउनुपर्छ र स्पष्ट लक्ष्य निर्धारण गर्नुपर्छ। आगामी दशक अर्थात् सन् २०३५ सम्म नेपालमा वार्षिक ३५ लाख पर्यटक भिœयाउने अवस्थामा नेपाललाई पुर्याउने प्रण राज्यले गर्नुपर्छ।
त्यसका लागि प्रभावकारी कार्यक्रम तय गर्नुपर्छ। त्यतिबेलासम्म पर्यटकहरूको औसत बसाइ ३५ दिन बनाउन सक्नुपर्छ। उनीहरूलाई दैनिक कम्तीमा १०० डलर खर्चगराउनुपर्छ। यस्तो लक्ष्य पूरा भयो भने पर्यटनले नेपालको अर्थतन्त्रलाई कायापलट गरिदिन्छ। लाखौं रोजगारी सिर्जना हुन सक्छ। गाउँसम्म आम्दानी पुग्न सक्छ। तर त्यो लक्ष्य केवल विज्ञापनले पूरा हुँदैन, अनुभवको उपयोग गरेर पर्यटनलाई व्यापक रूपमा सुधार्नुपर्छ।
‘नोमाड भिसा’ अन्य सम्भावना र बहस
‘डिजिटल नोमाड भिसा’को व्यवस्था गरेको खण्डमा रचनात्मक तथा प्रविधिमैत्री काम गर्ने विदेशी पर्यटक नेपाल भित्र्याउन सकिन्छ। नेपालको पर्यटन प्रवर्धनमा योगदान दिन सक्ने, सामाजिक सञ्जाल वा अन्य माध्यमबाट नेपालको अन्तर्राष्ट्रिय प्रचारप्रसार गर्न सक्ने व्यक्तिहरूलाई विशेष आह्वान गरी निश्चित अवधिसम्म नेपालमै बसेर काम गराउन यस्तो भिसा दिन सकिन्छ।
कन्टेन्ट क्रिएटर, भ्लगर, सफ्टवेयर डेभलपरलगायतलाई यस्तो भिसा उपयोगी हुन सक्छ। सामान्य पर्यटक भिसाको अवधि ६ महिनासम्म हुने भए पनि डिजिटल नोमाड भिसा दुई वर्ष वा सोभन्दा बढी अवधिका लागि प्रदान गर्न सकिन्छ। निःशुल्क वा सहुलियतपूर्ण रूपमा यस्तो भिसा उपलब्ध गराउन सके उनीहरूका माध्यमबाट नेपालमा थप पर्यटक आकर्षित गर्न सहयोग पुग्न सक्छ।
यसैगरी नयाँ एयरलाइन्स कम्पनीहरूलाई नेपालमा उडान भर्न प्रोत्साहन गर्नु अत्यावश्यक छ। नयाँ अन्तर्राष्ट्रिय विमानस्थल बने पनि नियमित उडा भर्ने परिस्थिति बन्न नसकेको देखिन्छ।
नयाँ एयरलाइन्सलाई कम्तीमा दुई वर्षसम्म अवतरण शुल्कमा पूर्ण वा आंशिक छुट दिने नीति ल्याउन सकिन्छ। यसो गर्दा हवाई भाडा सस्तो हुन गई नेपाल आउने पर्यटकको संख्या बढ्न सक्छ। अवतरण शुल्कमा छुट दिँदा तत्काल केही राजस्व घटे पनि पर्यटकहरूले होटल, यातायात, खानपान र अन्य सेवा क्षेत्रमा गर्ने खर्चबाट त्यो क्षति अप्रत्यक्ष रूपमा पूर्ति हुन सक्छ।
हाम्रो समाजमा संवेदनशील र विवादास्पद मानिने यौन व्यवसायलाई पनि पर्यटनसँग जोड्न सकिन्छ। सामाजिक मूल्य–मान्यता र कानुनी जटिलताका कारण यस विषयमा खुला बहसका चुनौती छ। तर कडा कानुनी व्यवस्था, स्पष्ट नियमन र निश्चित क्षेत्र निर्धारण गरेर यसलाई व्यवस्थित गर्न सकिने तर्क भने भइरहेको पाइन्छ। केही देशले यस्तो व्यवस्थालाई पर्यटनसँग जोडेर आर्थिक लाभ उठाइरहेका छन्। नेपालमा यस विषयमा निर्णय लिनुअघि सामाजिक, सांस्कृतिक, कानुनी तथा नैतिक पक्षबारे गम्भीर बहस र व्यापक सहमति अत्यावश्यक देखिन्छ।
पैसाले खुसी किन्न सकिन्न, मन जितेर आनन्द बेचौं
पर्यटक निस्फिक्री भएर आनन्द लिन नेपाल आउँछन्। उनीहरू दिल खोलेर रमाउन चाहन्छन्। उनीहरू मिठा सम्झना बटुल्न लालायित हुन्छन्। तर हामीले विमानस्थलको लाइन, ठगी, अव्यवस्था, फोहोर र तनाव मात्र दियौं भने नेपालप्रति उनीहरूमा रहेको मोह भंग हुन्छ। त्यस्तो अवस्थामा नेपालको गलत सन्देश विश्वमा फैलिन्छ। त्यसबँट हामीले ठुलो घाटा बेहोर्नुपर्ने र दीर्घकालीन क्षति भोग्नुपर्ने अवस्था पैदा हुन्छ।
असल व्यवहार, आत्मीयता र सम्मानपूर्ण आतिथ्यले पर्यटकहरूमा गहिरो आनन्दको अनुभूति गराउन सक्छ। उनीहरू हृदयदेखि नै खुसी हुँदा त्यसको सकारात्मक प्रभाव हामीमाथि पनि पर्छ। त्यसैले बनावटीपन त्यागेर स्वाभाविक, इमानदार र आत्मीय व्यवहारमार्फत खुसी साटासाट गर्न सकियो भने नेपालको पर्यटन क्षेत्र फुल्न र फल्न धेरै समय लाग्दैन।
समग्रमा भन्नुपर्दा नेपालसँग संसारलाई दिन सक्ने असाधारण मूर्त–अमूर्त सम्पदा छन्, हिमाल, संस्कृति, आध्यात्मिकता, प्रकृति, आतिथ्य र मानवता। तर यी सम्पदाको मूल्य तब मात्र बढ्छ जब पर्यटकले यहाँ सम्मान, सहजता र इमानदारी महसुस गर्छन्। समृद्ध नेपाल केवल सडक र भवनले बन्दैन। समृद्ध नेपाल त त्यतिबेला बन्छ जतिबेला विदेशी पाहुनाले नेपाल छोड्दा भन्छन्, ‘मैले एउटा सुन्दर देश मात्र होइन, एउटा आत्मीय अनुभव र व्यवहार पनि पाएँ।’








२२ जेठ , २,०८३