नोटिफाई नेपालLoading...



टोरन्टो सिटी हलमा नेपाली झण्डा फहराउने विशेष कार्यक्रमसँगै ‘नेपाली हेरिटेज वीक’ को औपचारिक घोषणा सम्पन्न भएको छ। नेपाली समुदायका लागि ऐतिहासिक तथा गौरवपूर्ण मानिएको उक्त कार्यक्रम उत्साहपूर्ण रूपमा आयोजना गरिएको जनाइएको छ।
कार्यक्रममा विशेष अतिथिका रूपमा सहभागी भएकी ओन्टारियोकी सांसद क्रिस्टिन वोंग–टामले नेपाली समुदायप्रति सम्मान व्यक्त गर्दै क्यानडाको बहुसांस्कृतिक समाजमा नेपालीहरूको योगदान प्रशंसनीय रहेको बताइन्। उनले यस्ता सांस्कृतिक पहलहरूले विभिन्न समुदायबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरिन्।
त्यसैगरी प्रमुख अतिथि तथा वक्ताका रूपमा सहभागी काउन्सिलर नीथन शनले नेपाली समुदायको सक्रियता, एकता तथा सांस्कृतिक पहिचानप्रति उच्च सम्मान व्यक्त गरे। उनले टोरन्टोमा ‘नेपाली हेरिटेज वीक’ घोषणा गर्न पाउँदा गर्व लागेको उल्लेख गर्दै आगामी दिनमा पनि नेपाली समुदायसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए।
कार्यक्रमका क्रममा काउन्सिलर शनमार्फत टोरन्टो शहरकी मेयर ओलिभिया चाउद्वारा जारी गरिएको प्रोक्लामेसन हस्तान्तरण गरिएको थियो। सोही अवसरमा ‘नेपाली हेरिटेज वीक’ को औपचारिक घोषणा गरिएको हो। यस घोषणाले टोरन्टो शहरमा नेपाली समुदायको सांस्कृतिक पहिचानलाई संस्थागत मान्यता दिएको जनाइएको छ।

उनले सम्बोधनका क्रममा अप्रिल महिनालाई ‘नेपाली हेरिटेज महिना’ का रूपमा विस्तार गर्ने पहलसमेत अघि बढाइएको जानकारी दिए।
कार्यक्रममा एनआरएनए क्यानडाका अध्यक्ष जगन सापकोटा, एनसीसीएसका अध्यक्ष सुदर्शन सापकोटा लगायतले शुभकामना मन्तव्य राखेका थिए। एनसीसीएसका अध्यक्ष सापकोटाले ‘नेपाली हेरिटेज वीक’ को अवधारणा संस्थाबाट प्रारम्भ भए पनि यसको सफल कार्यान्वयन सम्पूर्ण समुदायको सहकार्यबाट सम्भव भएको उल्लेख गरे। साथै उनले यस पहललाई संघीय तहसम्म विस्तार गर्न संयुक्त प्रयास आवश्यक रहेको बताए।
कार्यक्रमको सञ्चालन एनसीसीएसका महासचिव टीकाराम पौड्यालले गरेका थिए भने सभापतित्व एनसीसीएसका अध्यक्ष विमल बस्नेतले गरेका थिए। बस्नेतले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे।
टोरन्टोस्थित विभिन्न नेपाली संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको उक्त कार्यक्रममा समुदायबीचको एकता, सहकार्य तथा संस्थागत समन्वय स्पष्ट देखिएको थियो।
औपचारिक कार्यक्रमपछि सिटी हलको कमिटी कक्षमा स्वागत कार्यक्रमसमेत आयोजना गरिएको थियो, जहाँ सहभागीहरूबीच अन्तरक्रिया तथा नेटवर्किङ सम्पन्न भएको जनाइएको छ।
समग्रमा, उक्त कार्यक्रमले टोरन्टोमा नेपाली समुदायको सांस्कृतिक पहिचान, ऐतिहासिक उपस्थिति तथा सामाजिक योगदानलाई नगरस्तरमा औपचारिक मान्यता दिलाउने महत्वपूर्ण उपलब्धि हासिल गरेको ठहर गरिएको छ।





-1698832414.jpg)


९ बैशाख , २,०८३