नोटिफाई नेपालLoading...



ओपनर कुशल भुर्तेलको विष्फोटक अर्धशतक र स्पिनर सन्दीप लामिछानेको जादुमयी बलिङको मद्दतमा नेपालले दोस्रो ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा संयुक्त अरब इमिरेट्स (युएई) माथि ८ विकेटको सानदार जित हात पारेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा युएईले दिएको १२९ रनको सामान्य लक्ष्य नेपालले १५.५ ओभरमै मात्र २ विकेट गुमाएर १२९ रन बनाउँदै सहजै पूरा गर्यो।
नेपाललाई २५ बल अगावै जित दिलाउन कुशल भुर्तेलले उत्कृष्ट इनिङ्स खेले।
लक्ष्य पछ्याउने क्रममा नेपाललाई कुशल भुर्तेल र कुशल मल्लले पहिलो विकेटका लागि ६७ रनको सानदार साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए।
मल्ल १७ बलमा १ चौका र २ छक्कासहित १९ रन बनाएर आउट भए। त्यसलगत्तै आजकै खेलबाट डेब्यु गरेका सन्तोष यादव ४ बलमा १ रन बनाएर स्टम्पिङ आउट हुँदा नेपाल ७१-२ को स्थितिमा पुगेको थियो।
तर, एक छेउबाट लगातार आक्रामक ब्याटिङ गरिरहेका भुर्तेलले कप्तान दीपेन्द्र सिंह ऐरीसँग मिलेर नेपाललाई जितसम्म डोर्याए।
यी दुईबीच तेस्रो विकेटका लागि ५८ रनको अविजित साझेदारी भयो। भुर्तेलले ५७ बलमा १२ चौका र २ छक्काको मद्दतले अविजित ८४ रन बनाए।
यस्तै, कप्तान ऐरीले १७ बलमा ३ चौकासहित अविजित २३ रनको योगदान दिए। युएईका लागि बलिङतर्फ मोहम्मद अरफान र निलान्श केसवानीले समान १-१ विकेट लिए।
यसअघि टस जितेर पहिले बलिङ गर्ने नेपालको निर्णयलाई बलरहरूले पूर्ण रूपमा सही साबित गरिदिएका थिए। नेपाली बलरको घातक बलिङसामु युएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२८ रन मात्र बनाउन सक्यो।
नेपालका लागि लेग स्पिनर सन्दीप लामिछानेले अत्यन्तै किफायती र घातक बलिङ गरे। उनले आफ्नो ४ ओभरको स्पेलमा १ मेडन राख्दै मात्र ६ रन खर्चेर ३ महत्त्वपूर्ण विकेट लिए।
यस्तै, तीव्र गतिका बलर हेमन्त धामीले ४ ओभरमा २० रन दिएर २ विकेट चट्काए। नन्दन यादव र शाहब आलमले पनि १-१ विकेट लिए।
नेपाली बलरसामु युएईको शीर्ष क्रम नराम्ररी धराशायी भएको थियो। खेलको पहिलो ओभरमै हेमन्त धामीले युएईका कप्तान मोहम्मद वसिमलाई शून्यमा एलबीडब्लु आउट गरेर दबाब बढाएका थिए।
त्यसपछि लगातार विकेट गुमाएको युएई ७.५ ओभरमा ४८ रन बनाउँदा ६ विकेट गुमाएर नाजुक स्थितिमा पुगेको थियो। अदीब उस्मानीले २२ बलमा ३० रन बनाएर केही संघर्ष गरेका थिए।
संकटमा परेको युएईको इनिङ्सलाई मध्यक्रमका ब्याटर अक्षदीप नाथ र मोहम्मद अरफानले उकासेका थिए। अक्षदीपले ४२ बलको सामना गर्दै ३ चौका र ४ छक्काको मद्दतले अविजित ५३ रनको अर्धशतकीय पारी खेले।
उनलाई अरफानले ३६ बलमा ३२ रन बनाएर साथ दिए। यी दुईबीच सातौँ विकेटका लागि ६४ रनको महत्त्वपूर्ण साझेदारी भएको थियो। अन्य ब्याटरहरूले भने दोहोरो अंकमा रन जोड्न सकेनन्।







९ बैशाख , २,०८३