नोटिफाई नेपालLoading...



आइसिसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्याण्ड्सको उट्रेचमा भएको एकदिवसीय खेलमा नेपाल नामिबियासँग ८ विकेटले पराजित भएको छ।
ब्याटिङ र बलिङ दुवै क्षेत्रमा कमजोर देखिएको नेपालले प्रस्तुत गरेको १५८ रनको सामान्य लक्ष्य नामिबियाले केवल ३७.४ ओभरमा २ विकेट गुमाएर सहजै पूरा गर्यो।
नामिबियाको सहज जितमा प्रारम्भिक ब्याटर माइकल भान लिङ्गेन र जान फ्रिलिनकले उत्कृष्ट ब्याटिङ गरे। फ्रिलिनकले ८९ बल खेल्दै ८ चौका र १ छक्का प्रहार गरेर ७८ रनको अविजित इनिङ्स खेले।
यस्तै, भान लिङ्गेनले ७९ बलमा ४ चौकासहित ५१ रनको अर्धशतकीय योगदान दिए। पहिलो विकेट २१ रनमै गुमाए पनि फ्रिलिनक र भान लिङ्गेनले दोस्रो विकेटका लागि ८७ रनको महत्वपूर्ण साझेदारी गर्दै नामिबियाको जितको आधार खडा गरेका थिए। जान निकोल लोफ्टी–इटन १७ रनमा अविजित रहे।
सस्तो योगफल बचाउने दबाबमा मैदान उत्रिएको नेपालको बलिङ लाइनअपले नामिबियाका ब्याटरहरूलाई कुनै दबाब दिन सकेन। स्पिनर सन्दीप लामिछानेले ७ ओभरमा ३२ रन खर्चिए पनि कुनै विकेट लिन सकेनन्।
नेपालका लागि यो खेलबाट एकदिवसीय क्रिकेटमा डेब्यू गरिरहेका बलर नन्दन यादवले ३ ओभरमा १७ रन दिएर १ विकेट लिए भने कप्तान रोहित पैडेलले ५.४ ओभरमा २१ रन खर्चेर १ विकेट हात पारे। तीव्र गतिका मुख्य बलरहरू करन केसी र सोमपाल कामी यो खेलमा विकेटविहीन रहे।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल ४६.५ ओभरमा १५७ रनमै समेटिएको थियो। नेपालको सुरुवात निकै निराशाजनक रह्यो। ओपनर कुशल भुर्तेल इनिङ्सको दोस्रो बलमै व्यक्तिगत २ रनमा आउट भएपछि सुरु भएको विकेट पतन निरन्तर चलिरह्यो।
मध्यक्रममा कप्तान रोहित पौडेलले सर्वाधिक ३१ रन र दीपेन्द्र सिंह ऐरीले ३० रन बनाउँदै नेपालको इनिङ्स उकास्ने प्रयास गरे पनि उनीहरूको बहिर्गमनसँगै नेपाल पुनः सस्तोमै समेटियो।
तल्लो क्रममा गुलशन झाले २०, करन केसीले १८ र सोमपाल कामीले १५ रन जोडेपछि नेपालको स्कोर १५० पार भएको थियो। आसिफ शेख १६ रनमा आउट हुँदा आरिफ शेख शून्य रनमै पेभेलियन फर्किएका थिए।
नेपाललाई सस्तैमा समेट्ने क्रममा नामिबियाका जेजे स्मिट सबैभन्दा घातक साबित भए। उनले ९.५ ओभरमा १ मेडनसहित मात्र २७ रन खर्चेर ६ विकेट लिए। यस्तै, ज्याक ब्रासेल र बर्नार्ड स्कोल्ट्जले २–२ विकेट लिए।
७४ बल बाँकी छँदै नामिबियाले सहज जित निकाल्दा नेपालले भने लिग-२ को अंक तालिकामा महत्त्वपूर्ण अंक गुमाएको छ।
.jpg)




-1781786010.jpg)



६ श्रावण , २,०८३