नोटिफाई नेपालLoading...

खैरहनी नगरपालिका–१३ की गंगा कडेरियाले यस वर्ष ठूलो आशाका साथ चैते धान लगाइन्। प्रतिकठ्ठा दुई हजार रुपैयाँका दरले १४ कठ्ठा जग्गा भाडामा लिएर उनले चैते–५ जातको धान रोपेकी थिइन्। धान पाक्ने बेला आउँदा उनको खेत सुनौलो बाला होइन, सेताम्मे सुकेका बालाले भरिएको छ।
‘पहिला त अलिअलि मात्र देखिन्थ्यो। यसपालि त पुरै धान बिग्रियो। दुई पटक विषादी पनि हाल्यौं। तर केही भएन,’ उनले धानका बाला देखाउँदै भनिन्, ‘अब धान काट्ने कि नकट्ने भन्ने दोधारमा छु। केही क्षतिपूर्ति पाइए हुन्थ्यो भन्ने लागिरहेको छ।’
मल, बीउ, विषादी र सिँचाइमा गरी करिब ३० हजार रुपैयाँ खर्च भइसकेको उनले बताइन्।
गंगा मात्र होइनन्, पूर्वी चितवनका सयौं किसान यतिबेला यस्तै पीडामा छन्। धान पाक्ने बेलामा देखिएको ‘नेक ब्लास्ट’ अर्थात् घाँटी मरुवा रोगले चैते धानका बाला नै सुकाइदिएपछि किसानको वर्षभरिको मेहनत जोखिममा परेको छ।
सोही क्षेत्रका किसान जगन्नाथ कडेरियाले सात कठ्ठामा लगाएको धानको अवस्था पनि उस्तै छ। उनका अनुसार करिब ८० प्रतिशत बाला पाक्न नपाउँदै सुकिसकेको छ।
‘धानमा यस्तो समस्या पहिले कहिल्यै देखिएको थिएन,’ उनले भने, ‘बर्खे धानमा पनि क्षति भयो। अब अर्को पटक बाली लगाउने कि नलगाउने भन्ने चिन्ता थपिएको छ।’
साना किसान सहकारी संस्थाका अध्यक्ष रामशरण पाठकका अनुसार खैरहनीको साविक कुमरोज क्षेत्रका धेरै खेतमा धानको बाला त आएको छ। तर दाना लागेको छैन।
‘चैते–५ जातको धानमा ७५ प्रतिशतसम्म पपेटा मात्र देखिएको छ। बाला छ तर दाना छैन,’ किसानको पीडा सुनाउँदै उनले भने, विशेष गरी चैते–५ र हर्दिनाथ–१ जातमा समस्या बढी देखिएको छ। पिआर जातमा भने तुलनात्मक रूपमा कम असर परेको छ।’
धानबाली पाक्ने बेलामा रोगको सङ्क्रमण बढेपछि किसानहरू सरकारी निकायको ढोका ढकढक्याउन बाध्य भएका छन्।
धान जोन सञ्चालक समितिका संयोजक तेजप्रसाद बर्तौलाले रोग लागेको धानको नमुना बोकेर संघिय अन्तर्गतको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ चितवन र प्रदेश अन्तरगतको कृषि विकास कार्यालयसम्म पुगेका थिए।
‘धानको बाला पूरै सेतो भएर सुकेको छ। सिस्यानी र गवई क्षेत्रमा त खेत नै सेताम्मे देखिन्छ,’ उनले बताए।
वरिष्ठ बालि संरक्षण अधिकृत सुजन अम्गाईका अनुसार धानमा देखिएको समस्या ‘नेक ब्लास्ट’ रोग हो। यो ढुसीजन्य रोगले धानको घाँटी अर्थात् बाला जोडिने भागमा आक्रमण गर्छ। रोग लागेपछि बाला पोषण नपाएर सुक्ने र दाना नलाग्ने समस्या देखिन्छ।
‘अहिले धेरै ठाउँमा रोग अन्तिम चरणमा पुगेको छ,’ रोगको अनुगमनका क्रममा खेतमा पुगेका अम्गाईले भने, ‘७० देखि ८० प्रतिशतसम्म क्षति पुगेको अवस्थामा थप विषादी प्रयोग गरेर खर्च बढाउनुको अर्थ छैन। जति उत्पादन हुन्छ। त्यति तत्काल भित्र्याउनु नै उपयुक्त हुन्छ।’
उनका अनुसार रोग प्रारम्भिक अवस्थामा पहिचान भए ढुसीनाशक विषादी प्रयोग गरेर नियन्त्रण गर्न सकिन्छ। तर बाला सुकिसकेपछि उपचार प्रभावकारी हुँदैन।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यान्वयन एकाई चितवनका प्रमुख महेश रेग्मीले यस वर्षको असामान्य मौसमका कारण रोग फैलिएको बताउँछन्।
‘धान जोन अन्तरगत पर्ने राप्ती, खैरहनी रत्ननगरलगायत पूर्वी चितवनका क्षेत्रमा लगभग सबै क्षेत्रमा देखिएको छ,’ उनले भने, ‘केही दिन परेको वर्षा, रातिको चिसो र दिउँसोको तातोका कारण तापक्रममा ठूलो उतारचढाव आयो। यस्तो अवस्थामा ढुसी फैलिन अत्यन्त अनुकूल हुन्छन्।’
उनका अनुसार नेक ब्लास्ट मुख्यत बीउबाट सर्ने रोग हो। पुराना जातका धानमा रोग प्रतिरोधात्मक क्षमता कम हुँदै जाने भएकाले संक्रमणको जोखिम बढ्छ।
‘हर्दिनाथ–१ र चैते–५ किसानमाझ लोकप्रिय जात हुन्। तर अहिले यिनै जात बढी प्रभावित भएका छन्,’ रेग्मीले भने, ‘रोग प्रतिरोधी नयाँ जातको विकास र किसानलाई विकल्प उपलब्ध गराउन आवश्यक छ।’
किसानहरूले यतिबेला राहत र क्षतिपूर्तिको माग गरिरहेका छन्। कृषि क्षेत्रका जानकारहरू पनि प्राकृतिक विपत्ति सरह यस्ता आकस्मिक रोगजन्य प्रकोपलाई सम्बोधन गर्न विशेष कोषको व्यवस्था आवश्यक रहेको बताउँछन्।
कृषि विकास कार्यालय चितवनका प्रमुख झलक कँडेलले किसानलाई राहत स्वरुप क्षतिपूर्ति दिनका लागि नीतिगत रुपमा समावेश गराएर सरकार लाग्नुपर्ने बताए।
‘तीनै तहका सरकारले यस्ता आकस्मिक कृषि विपत्तिका लागि छिटो राहत दिने संयन्त्र बनाउनुपर्छ,’ उनले भने, ‘रोग नियन्त्रणसँगै रोग प्रतिरोधी नयाँ जातको विकास र विस्तारमा पनि ध्यान दिन आवश्यक छ।’
प्रदेश सरकारले विपत व्यवस्थानबाट राहत दिने व्यवस्था गरेपनि प्रकृया लामो भएका कारण सुधार गर्नुपर्ने बताए।
चितवनमा हरेक वर्ष सात हजार हेक्टरभन्दा बढी क्षेत्रमा चैते धान खेती हुँदै आएको छ। पछिल्ला वर्षमा हर्दिनाथ–१ मा घाँटी मरुवा रोग देखिन थालेपछि किसानले चैते–५ रोजेका थिए । तर यस वर्ष त्यही विकल्प लगाईएको धानमा पनि रोग देखिएको हो।








२२ जेठ , २,०८३