नोटिफाई नेपालLoading...



दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका-९, खाडा घर भएका २७ वर्षीया कमला रावल र उनका ९ वर्षीय छोरा आयुष रावलको शंकास्पद विषाक्तताका कारण मृत्यु भएको छ।
उपचारका लागि बाटोमै छोराको मृत्यु भयो भने आमाको प्रदेश अस्पताल सुर्खेतमा आज बिहान मृत्यु भएको हो। जंगली च्याउ वा सर्पदंश हुन सक्ने अनुमान गरिए पनि यकिन हुन सकेको छैन।
प्रहरीका अनुसार आइतबार राति आमा-छोरा आफ्नै घरको माथिल्लो तलाको कोठामा भुइँमा ओछ्यान लगाएर सुतेका थिए। भोलिपल्ट बिहान उठ्दा दुवैलाई रिंगटा लाग्ने, शरीर झमझमाउने लगायतका समस्या देखिएपछि उपचारका लागि स्थानीय शाही मेडिकल, सांगेतारातर्फ लगिएको थियो।
उपचारका लागि लैजाने क्रममा ९ वर्षीय आयुष रावलको सोमबार बिहान बाटोमै मृत्यु भएको थियो। अनि आमालाई जिल्ला अस्पताल दैलेखमा सामान्य उपचारपछि थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत रिफर गरियो। चिकित्सकले प्रारम्भिक रूपमा सर्पदंशसँग मिल्दोजुल्दो लक्षण देखिएको अनुमान गरेका थिए।
कर्णाली प्रदेश अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको कमलाको पनि बुधबार बिहान उपचारकै क्रममा मृत्यु भयो।
घटनाको जानकारी प्राप्त भएपछि प्रहरी चौकी जम्बुकाध र प्रहरी चौकी पालतडाबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। घटनाबारे थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दुल्लुबाट प्रहरी निरीक्षक सरोज पौडेलको नेतृत्वमा थप टोली परिचालन गरिएको छ। घटनाको वास्तविक कारण खुल्न बाँकी रहेकाले प्रहरीले विस्तृत अनुसन्धान अघि बढाएको बताएको छ।

.jpg)



-1781786010.jpg)


६ श्रावण , २,०८३