नोटिफाई नेपालLoading...



परराष्ट्रमन्त्री शिशिर खनालले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग भेट गरेका छन्।
नयाँ दिल्लीस्थित नेपाली दूतावासका अनुसार शुक्रबार डोभालको कार्यालयमा भएको भेटमा नेपाल-भारत द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ पार्नेलगायतका विभिन्न विषयमा छलफल भएको थियो।
त्यसअघि परराष्ट्रमन्त्री खनालले शुक्रबार साँझ नयाँ दिल्लीमा इन्डिया फाउन्डेसनद्वारा आयोजित कार्यक्रममा विशिष्ट व्यक्तित्वहरूको भेलालाई सम्बोधन गरेका थिए। उनले नेपालको विदेश नीतिका प्राथमिकताहरूको रूपरेखा प्रस्तुत गर्नुका साथै सहभागीहरूसँग ऊर्जा, व्यापार, पूर्वाधार, क्षेत्रीय सम्पर्क, प्रविधि र पर्यटनमा केन्द्रित भएर अन्तरक्रिया गरेको दूतावासले जानकारी दिएको छ। उनले नेपालको विदेश नीति रूपान्तरण र आर्थिक वृद्धिको लागि नेपाली जनताको आकांक्षाबाट निर्देशित रहेको कुरामा जोड दिएका थिए।
परराष्ट्रमन्त्री खनाल भारतका विदेशमन्त्री डा. एस जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा शुक्रबारदेखि आइतबारसम्मको तीन दिने औपचारिक भ्रमणमा रहेका छन्। परराष्ट्रमन्त्री खनालले समकक्षी डा जयशंकरसँग पनि औपचारिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
भेटमा उनीहरूबिच द्विपक्षीय व्यापार, लगानी, सम्पर्क सञ्जाल (कनेक्टिभिटी), ऊर्जा तथा जनस्तरको सम्बन्धलगायत विषयमा छलफल हुनेछ। परराष्ट्रमन्त्री खनाल भ्रमण सम्पन्न गरी आइतबार स्वदेश फर्कने कार्यक्रम छ।








२२ जेठ , २,०८३