नोटिफाई नेपालLoading...



काठमाडौं बालाजुस्थित आफ्नै कोठामा घरायसी विवादमा श्रीमतीको हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।
तारकेश्वर नगरपालिका-६ लोलाङ पैँयुटारमा घरायसी विवादका क्रममा 'नेपाली ब्रो' उपनामले चिनिने ४२ वर्षीय कुमार थापा मगरले शुक्रबार राति फलामको रडले प्रहार गर्दा उनकी श्रीमती ४२ वर्षीया ईश्वरी भुजेलको मृत्यु भएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) पवन कुमार भट्टराईका अनुसार घाइते भुजेलको गएराति त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारका क्रममा ११ बजेतिर मृत्यु भएको हो।
प्रवक्ता भट्टराईले हाल मृतकको शरीर त्रिवी शिक्षण अस्पतालमा रहेको र पोस्टमार्टम हुन बाँकी रहेको जानकारी गराए। प्रारम्भिक अनुसन्धानमा पारिवारिक विवादका कारण भएको झगडामा श्रीमान्ले श्रीमतीलाई हानेर घाइते बनाएको र घाइते भए पश्चात् मृत्यु भएको देखिएको प्रहरीको भनाइ छ।
कुटपिट गर्ने मगरलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। उनलाई अहिले प्रहरी वृत्त बालाजुमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।








२२ जेठ , २,०८३