नोटिफाई नेपालLoading...



हाम्रो समाजको कुनै कुनामा रहेका निकै डरलाग्दा दु:ख भनौं वा डर लाग्दा सत्यलाई एउटा चेलीले बाँच्नका लागि के-के गर्नुपर्छ भन्ने यथार्थ बोल्ने साहसी सिनेमा हो-लालीबजार।
नेपाली चलचित्र क्षेत्रमा पछिल्लो समयदेखि केही सामाजिक यथार्थमा आधारित कथावस्तु देखिन थालेका छन्। ‘लालीबजार’ले पनि समाजको पीडा, विभेद साथै चेलीबेटीमाथिको ऐतिहासिक अन्यायलाई पस्किने साहस गरेको छ। यो सिनेमा मनोरञ्जन मात्र होइन, हाम्रो समाजको कुनै कुनामा घटेका यथार्थलाई दर्शकमाझ ल्याउने एउटा प्रयास पनि हो। हुन पनि कथा, साहित्य र चलचित्रले शब्दका रूपमा कथा तथा दृश्यका रूपमा यथार्थ उजागर गरी समाजलाई बदल्ने माध्यमको काम गर्छन्।
यस चलचित्रमा विशेष पात्रका रूपमा स्वस्तिमा खड्का, रविन्द्र सिंह बानियाँ, विशाल देवकोटा, समिरा थापा, मुकुन्द श्रेष्ठ आदि रहेका छन्। चलचित्रका लेखक यम थापाले समाजको सत्य पस्केका छन् भने निर्माता रविन्द्र सिंह बानियाँ र दीपेश खत्रीले त्यसलाई राम्ररी प्रस्तुत गरेका छन्।
चलचित्रले विशेषगरी पश्चिम नेपालका सीमान्तकृत समुदायको जीवन संघर्ष, गरिबी र पीडालाई केन्द्रमा राखेको छ। परम्पराको नाममा पुस्तौंदेखि महिलाले भोग्दै आएको असमानता र बाध्यताको कथालाई चलचित्रले निकै संवेदनशील ढंगले प्रस्तुत गरेको देखिन्छ। यो चलचित्रका कुनै-कुनै दृश्य साह्रै मार्मिक छन्। यही कारणले ‘लालीबजार’ अन्य व्यावसायिक चलचित्रभन्दा फरक देखिन्छ।
‘लालीबजार’की मुख्य पात्र स्वस्तिमा खड्काले आफ्नो भूमिकालाई जीवन्त बनाएकी छन्। उनको अभिनयमा विद्रोह, पीडा, ममता, कर्तव्य र आत्मसम्मानजस्ता पक्ष सशक्त रूपमा देखिएका छन्। यस चलचित्रले नेपालको ग्रामीण यथार्थलाई विश्वसनीय ढंगले प्रस्तुत गरेको छ। कृत्रिम वा बनावटी चमकधमकभन्दा पनि मानवीय भावना र मौन पीडालाई क्यामराले सुन्दर ढंगले समातेको अनुभूति हुन्छ। चलचित्रको भूगोल, पृष्ठभूमि र धुनले कथाको भावनात्मक गहिराइलाई दर्शकसम्म प्रभावकारी रूपमा पुर्याएको छ।
‘लालीबजार’मा पूर्ण रूपमा त्रुटि भने देखिएको छैन तर यो कथा अझै पीडादायी र गहिरो बन्न सक्थ्यो। अझै यसलाई सत्यपरक रूपमा उजागर गर्न सकिन्थ्यो। कतिपय दृश्यहरू अनावश्यक रूपमा लामो महसुस हुन्छन् भने केही ठाउँमा कथाले अत्यधिक भावनात्मक मोड लिँदा स्वाभाविकता कमजोर भएको देखिन्छ। ‘लालीबजार’ले धेरै सामाजिक विषय पटक-पटक उठाउन खोज्दा मूल कथाको विषय र शीर्षकको गहिराइ केही स्थानमा कमजोर भएको अनुभूति पनि हुन्छ।
समग्रमा ‘लालीबजार’ नेपाली समाजलाई सोच्न बाध्य बनाउने एउटा कठोर सत्य हो। यस चलचित्रले सिनेमा केवल मनोरञ्जन मात्र होइन, इतिहास बोकेको तथा समाज बनाउन वा परिवर्तन गर्न सक्ने माध्यम पनि हो भन्ने सन्देश दिएको छ। वर्तमानमा नेपाली चलचित्र उद्योगले व्यापारिक सूत्रहरू दोहोर्याइरहेका बेला ‘लालीबजार’जस्तो चलचित्रले फरक बाटो देखाउने काम गरेको छ। यसले दर्शकलाई सत्यकथा मात्र सुनाएको छैन, समाजमा लुकेको पीडासँग प्रत्यक्ष भेट पनि गराएको छ।
‘लालीबजार’ एउटा संवेदनशील सत्यकथा बोकेको प्रभावशाली नेपाली चलचित्र हो, जसले नेपाली चलचित्रलाई सम्मानित बाटोमा डोर्याएको छ। यसले दर्शकको मन मात्र होइन, सोचलाई पनि हृदयदेखि छोएको छ।








२२ जेठ , २,०८३