नोटिफाई नेपालLoading...



मंगलबार कीर्तिपुरमा कारभित्र जलेको अवस्थामा मृत फेला परेका सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको प्रहरीले प्रारम्भिक अनुसन्धानबाट निष्कर्ष निकालेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त कीर्तिपुरले घटनास्थलको सिसिटिभी फुटेज, प्रत्यक्षदर्शीको बयान तथा अन्य प्रमाणहरूको विश्लेषणपछि श्रेष्ठले आफैंले कारभित्र आगो लगाएर आत्मदाह गरेको निष्कर्षमा पुगेको जनाएको हो।
प्रहरीका अनुसार मंगलबार बिहान ११ बजेर २० मिनेटतिर श्रेष्ठले बा ५ च ३०३८ नम्बरको कार आफैं चलाएर कीर्तिपुरको ट्याङ्गलाफाँटस्थित चाँदनी चोक नजिक पुगेका थिए। उनले सडकबाट केही पर रहेको खाली जग्गामा कार पार्किङ गरेपछि केही बेरमै कारभित्रबाट आगो सल्किएको प्रत्यक्षदर्शीहरूले देखेका थिए।
घटनास्थल नजिक रहेका एक युवकले कारमा आगो लागेको देखेपछि तत्काल उद्धारको प्रयास गरेका थिए। सिसिटिभी फुटेजमा ती युवक कारतर्फ दौडिँदै गएर अगाडिको ढोका खोल्ने प्रयास गरेको देखिएको प्रहरीले जनाएको छ। चालक सिटतर्फको ढोका खोल्ने क्रममा उनको हातसमेत पोलेपछि उनी पछि हट्न बाध्य भएको अनुसन्धानमा संलग्न अधिकारीहरूले बताएका छन्।
प्रहरीका अनुसार घटनास्थलमा भेटिएका प्रमाण, सिसिटिभी दृश्य र अन्य प्राविधिक अनुसन्धानले बाह्य व्यक्तिको संलग्नताको संकेत नदेखिएको तथा श्रेष्ठ आफैंले आत्मदाह गरेको देखिएको छ।






.jpg)

६ श्रावण , २,०८३