नोटिफाई नेपालLoading...



दैशैभरका अस्पतालहरू हप्तामा दुई दिन बिदा भई बिरामीहरू समस्यामा परिरहेको बेला भक्तपुरको ख्वप अस्पतालले हप्तैभरि सेवा दिएर उदाहरण प्रस्तुत गरेको छ।
संघीय सरकारको निर्देशन अनुसार हप्तामा शनिबार र आइतबार दुई दिन बिदा हुँदा च्याम्हासिंह भक्तपुरस्थित यो अस्पतालले भने हप्तामा सातै दिन सेवा दिइरहेको छ। अस्पतालमा यसअघि नै शनिबार पनि बिदा थिएन। सरकारले हालै हप्तामा दुई दिन शनिबार र आइतबार बिदा दिने निर्णय गरे पनि आइतबारको थप बिदा पनि नदिई हप्ताभरि नै अस्पताल सञ्चालन गरी सेवा दिएर अस्पतालले उदाहरणीय कार्य गरेको हो। यो अस्पतालमा दसैँ, तिहार, शनिबार, आइतबार वर्षमा कुनै पनि दिन बिदा नभई वर्षभरिमा ३६५ दिन नै सेवामा निरन्तरता रहेको छ।
अस्पताल भक्तपुर नगरपालिकाद्वारा सञ्चालित छ। अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा भक्तपुर नगरपालिकाका प्रमुख हुने बन्दोबस्त छ। भक्तपुर नगरपालिका प्रमुख एवं अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापति जनताको सेवाका लागि यसअघि नै शनिबार पनि बिदा नदिएको र नयाँ सरकारको निर्देशन अनुसार आइतबार बिदा दिने निर्देशन भए पनि जनताको सेवाकै लागि आइतबार पनि बिदा नदिने निर्णय गरेको सुनाए। दुई दिने सरकारी बिदाको घोषणाले शुक्रबारको बिरामीले सोमबार मात्रै सेवा पाउने भई निजीमा जानुपर्ने बाध्यता नहोस् भनेर संघीय सरकारले घोषणा गरेको थप आइतबार पनि बिदा नदिने निर्णय भएको जानकारी उनले गराए। जनताको सेवाका लागि अस्पतालले विहान ७ देखि साँझ ६ बजेसम्म गरी दैनिक ११ घण्टा सेवा दिइरहेको जानकारी उनले गराए।
अस्पतालले राखेको तथ्यांक अनुसार अस्पतालमा दैनिक एक हजारको हाराहारीमा सेवाग्राही छन्। यस हिसावले महिनामा ३० हजार बिरामी आउने गरेको तथ्यांक छ। तथ्यांक अनुसार चालु आर्थिक वर्षको चैतसम्म दुई लाख ११ हजारले सेवा पाएका छन्। ‘चालु आर्थिक वर्षको वैशाख, जेठ र असार तीन महिनामा थप एक लाख हाराहारीले सेवा लिन आउने अपेक्षा छ,' अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रजापति भन्छन्, 'यस हिसावले चालु आर्थिक वर्षमा सेवाग्राहीहरूको संख्या तीन लाख प्लस पुग्ने निश्चित छ।’
पछिल्लो आर्थिक वर्ष २०८१।०८२ अस्पतालमा दुई लाख ८८ हजार नौ सय बिरामीले सेवा पाएको अस्पतालको तथ्यांक छ। अस्पतालले आ.व. २०८०।८१ मा ७० भन्दा बढी जिल्लाका २ लाख ५३ हजार बिरामीलाई स्वास्थ्य उपचार सेवा प्रदान गरेको अस्पतालले जनाएको छ। आव २०७९।८० मा ७२ जिल्लाका २ लाख २० हजार ४ सय बिरामीलाई स्वास्थ्य उपचार सेवा प्रदान गरेको अस्पतालले जनाएको छ।
अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा मजेशप्रताप मल्ल राम्रो सेवा दिएका कारण आफनो अस्पताल सरकारी तथ्यांकमा देशका उत्कृष्ट दस अस्पतालभित्र परेको जानकारी गराउँछन्। अस्पतालमा आउने बिरामी स्थानीय नै भएकाले शनिबार र आइतबारको बिदाले सोमबार बिरामीको चाप aढेर अस्पताललाई नै भार पर्ने भएको उनले बताए। भक्तपुर नगरपालिका वडा नं ९ मा रहेको यस अस्पतालमा विशेष गरी भक्तपुर नगरबासी आउने गर्दछन्। यसका साथै यो अस्पतालमा छिमेकी चाँगुनारायण नगरपालिकाjfसी पनि aढी आउने गर्दछन्।
भक्तपुर नगरपालिकाबाट सञ्चालित जनस्वास्थ्य केन्द्रबाट स्वास्थ्य सेवा प्रदान गर्दै आएकोमा २०७८ सालमा कोभिडबाट जनता आक्रान्त भएको बेला ख्वप अस्पतालको नाउँबाट सेवा सुरु भएको हो। २५ शय्याको ख्वप अस्पताल स्वीकृति २०७३ सालमै पाए पनि जनस्वास्थ्य केन्द्रकै नाउँमा सेवा दिइरहेको थियो। अस्पतालले इन्टरनल मेडिसिन, नाक-कान-घाँटी, स्त्री रोग, हाडजोर्नी, दन्त रोग, बाल रोग, छाला रोग, युरोलोजी, नशा रोग, मानसिक रोग, मुटु रोगलगायतको विशेषज्ञ सेवा प्रदान गर्दै आएको छ। अस्पतालमा विभिन्न रोगको ३३ जना विशेषज्ञसहित ५० जनाभन्दा बढी चिकित्सक र २०७ जना जनशक्तिले सेवा दिइरहेको तथ्यांक छ।
जनताका लागि गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले स्थापना गरिएको ख्वप अस्पतालमा विशेषज्ञ सेवा ८० रुपैयाँ र मेडिकल अफिसरको सेवा ५० रुपैयाँमा प्राप्त गर्न सकिन्छ। अस्पतालले छोटो समयमै विभिन्न रोगको दुई हजार वटाभन्दा बढी शल्यक्रिया गरिसकेको छ। गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरेको कारण ख्वप अस्पतालले जनताको अस्पतालको परिचय पाएको छ।
२०७९ सालमा बागमती प्रदेश स्वास्थ्य मन्त्रालयबाट १०० शय्याको स्वीकृति पाएपछि अस्पतालले सेवा विस्तार गर्दै छ। च्याम्हासिंह र ब्रम्हायणी गरी दुई ठाउँबाट सेवा प्रदान गरिरहेको अस्पतालले भक्तपुर नगरपालिकामा जनप्रतिनिधि बहाल भएको २ वर्षको अवसर पारी असार ७ गतेबाट आइसियु सेवा पनि सुरु गरेको थियो। ख्वप अस्पताल सुविधासम्पन्न अस्पतालको रूपमा विकास हुँदैछ।
२०७९ सालको स्थानीय तहको निर्वाचनमा नेपाल मजदुर किसान पार्टीले ख्वप अस्पताललाई स्तरोन्नति गरी १०० शय्याको सुविधासम्पन्न अस्पतालको रुपमा विकास गर्ने, वडा वडामा स्वास्थ्य उपचार केन्द्रको विस्तार गरी विशेषज्ञ चिकित्सकहरूसहितको नियमित स्वास्थ्य शिविर सञ्चालन गर्नेलगायत प्रतिबद्धता गरेको थियो। निर्वाचनपछि ख्वप अस्पताल १०० शय्यामा स्तरोन्नति गर्नुका साथै भनपा वडा नं.१ सल्लाघारी, भनपा वडा नं. २ व्यासी, भनपा वडा नं. ५ भगवतीस्थान, भनपा वडा नं. ९ दतात्रयमा चिकित्सकसहित स्वास्थ्य सेवा प्रदान गर्नुका साथै च्याम्हासिंहमा ख्वप अस्पतालमार्फत सेवा दिइरहेको छ।
यस अस्पतालले भक्तपुर नगरपालिका क्षेत्रमा घरदैलो नर्सिङमार्फत घरघरमा गएर सेवा प्रदान गरिरहेको छ भने नियमित रूपमा वडा वडामा पाठेघर र स्तन क्यान्सर, आँखा, हाडजोर्नी, नाक कान र घाटी, स्वास प्रश्वास सेवालगायतको विशेषज्ञ चिकित्सकसहित स्वास्थ्य शिविरहरू पनि सञ्चालनमा सहयोग गर्दै आइरहेको छ।
भक्तपुर नगरवासीहरूको लागि चाहिने अक्सिजन र रगत पनि ख्वप अस्पतालले निःशुल्क वितरण गर्दै आएको छ। महिनाको करिब १००० सिलिण्डर अक्सिजन वितरण गर्दै आएकोमा नगर बाहिरका बासिन्दाहरूका लागि ठूलो सिलिन्डरको १०० रुपैयाँ र सानो सिलिण्डरको रु. ५० मा वितरण गर्दै आएको छ। बाहिर खरिद गर्दा ६।७ सय रुपैयाँ प्रति सिलिन्डरको मूल्य तिर्नु पर्दछ।
नगरपालिकाले जनताको स्वास्थ्य उपचारको लागि कुनै समस्या नहोस् भनी श्वासप्रश्वास पुनःस्थापना केन्द्र, आफ्नै व्यवस्थापनमा ख्वप तीलगंगा आँखा अस्पताल र नगरस्तरीय नागरिक आरोग्य केन्द्र (आयुर्वेदिक) सञ्चालन गर्दै आएको छ। केन्द्र सरकारको पूर्ण स्वामित्वमा रहेको भक्तपुर क्यान्सर अस्पताल, शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र पनि भक्तपुर नगरभित्रै छ। बागमती प्रदेश अन्तर्गतको भक्तपुर अस्पतालले पनि राम्रो सेवा दिइ रहेको छ। यसबाट धेरै रोगहरूको उपचार भक्तपुरमा सम्भव हुँदै गइरहेको छ। अस्पताल सात रोपनी क्षेत्रफलमा रहेको।
२०५४ सालको स्थानीय निकायको निर्वाचनपछि सात वटा कलेजहरू सञ्चालन गर्न सफल भक्तपुर नगरपालिकाले २०७४ सालको स्थानीय निकायको निर्वाचनपछि घरघरमा नर्सिङ्ग सेवा सुरु गर्दै आएको छ। विभिन्न कलेजहरू सञ्चालन गरी शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै आएको भक्तपुर नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई पनि प्राथमिकतामा राख्न थालेको हो।





-1698832414.jpg)


९ बैशाख , २,०८३