नोटिफाई नेपालLoading...



साविक मेची क्षेत्र तथा नेपाल-भारत सीमा क्षेत्र (क्रस बोर्डर) को पर्यटन प्रवर्धन गर्ने उद्देश्यले इलाममा जेठ २३ र २४ गते ‘केचना-कञ्चनजंघा रेस्पोन्सिभल टुरिज्म मिट’ आयोजना गरिँदैछ।
स्थानीय पर्यटन प्रवर्धन, मौलिक संस्कृति संरक्षण, वातावरणमैत्री पर्यटन विकास तथा स्थानीय उत्पादनको प्रचार–प्रसार गर्न टुरिज्म मिट आयोजना गरिएको हो।
इलाम नगपालिकाअन्तर्गतको पर्यटन प्रवर्धन समिति, इलाम उद्योग वाणिज्य संघ, होटल व्यवसायी संघ, पर्यटन प्रवर्द्धन सरोकार समिति, गाइड, ड्राइभर, पोटर क्लबलगायत संस्थाले संयुक्त रूपमा कार्यक्रम आयोजना गरेका हुन्।
कार्यक्रममा नेपाल र भारतका विभिन्न तहका जनप्रतिनिधि, पर्यटनसहित अन्य व्यवसायी, कलाकार, पत्रकार, संरक्षणकर्मी, विद्यार्थी र स्थानीयको सहभागिता रहने आयोजकले जनाएको छ।
मिटमा २३ गते ल्यान्डरोभर गाडीको र्यालीसमेत आयोजना गरिएको छ। र्यालीमा इलामका डेढ दर्जन हाराहारी ल्यान्डरोभर गाडीले इलामको ठूलो टुँडिखेलबाट यात्रा सुरु गर्नेछन्। यो र्याली कोठीडाँडा, माइपोखरीलगायत ठाउँ पुग्ने आयोजकले जनाएको छ।
उद्घाटनअघि ठूलो टुँडिखेलबाट झाँकीसहितको र्याली गौतमबुद्ध सभागृह पुग्नेछ। मिट अवधिभर डोकुमेन्ट्री प्रदर्शन, प्यानल छलफल, सांस्कृतिक कार्यक्रम र विभिन्न विषयका प्रस्तुतिसमेत रहने आयोजक संयोजक सुशीला सापकोटाले जानकारी दिइन्।
‘यो कार्यक्रम नेपालकै होचो भू-भाग केचनादेखि देशको दोस्रो तथा विश्वको तेस्रो शिखर कञ्चनजंघा क्षेत्रभरको जिम्मेवार पर्यटन प्रवर्द्धन गर्ने रणनीतिक पहल हो,’ उनले भनिन्, ‘यसले स्थानीय पर्यटन विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ।’
इलामलाई प्रवेशद्वार तथा नमुना गन्तव्यका रूपमा प्रस्तुत गर्ने आयोजकको उद्देश्य छ। पर्यटन सरोकारवालाबीचको संवाद, सहकार्य र नवप्रवर्तनलाई यसले प्रोत्साहन गर्ने नगर पर्यटन प्रवर्धन समिति सचिव अर्जुन पोख्रेलले बताए। उनका अनुसार कार्यक्रमको सबै तयारी पूरा भएको छ।
पर्यटनको विकास र प्रवद्र्धन कुनै एक व्यक्ति, संस्था र निकायको तत्परताले मात्र सम्भव नहुने भएकाले संयुक्त प्रयत्नमार्फत् परिणाम दिने पहल गरिएको पर्यटन सरोकारवाला बताउँछन्। केचना–कञ्चनजंघा पर्यटन समितिका पूर्वकार्यकारी निर्देशक केशव धौरालीले समन्वय, सहकार्य र संयुक्त प्रयासले मात्र पर्यटनबाट लाभ लिन सकिने बताए।
‘पर्यटन नै समृद्धिको आधार हो, पर्यटनमैत्री पूर्वाधार विकास, प्रवद्र्धनमा प्रयत्न गर्नुपर्छ,’ उनले भने, ‘तर, यो कुनै संस्था वा व्यक्तिको एकल प्रयासले सम्भव छैन, सबैले संयुक्त रूपमा गर्नुपर्छ।’
पर्यटन प्रवर्धनमा सामूहिक प्रयास गर्नु आवश्यक रहेको भन्दै सरोकारवाला पर्यटन मिट आयोजना गर्न जुटेका हुन्। पर्यटन विषयका अध्ययनकर्ता तथा महेन्द्ररत्न बहुमखी क्याम्पसका सहप्राध्यापक राजेन्द्र बराल सस्तो प्रचारप्रसार, टालटुल, बहानाबाजी र तातै खाउँ जली मरुँको क्रियाकलाप पर्यटन नभएको बताउँछन्।
‘पर्यटनका पछाडि गहन अध्ययन, अनुसन्धान र दर्शन पनि छ, जसमा टेकेर पर्यटन र पर्यटकमैत्री आतिथ्यसाथ आफ्ना उत्पादन र सेवा पर्यटकलाई पस्किने हो,’ उनी भन्छन्, ‘मेरो अध्ययनले पनि सेवामुखी, समुदायमुखी, प्रभावकारी, दीर्घकालीन र संयुक्त प्रयासका कार्यक्रमले पर्यटनमा निरन्तरता पाउने देखाउँछ।’
उनले एउटै व्यवसाय वा एउटै प्रकृति र उद्देश्यका संस्था विभक्त भएर अघि बढ्दा त्यसको प्रभावकारिता, दिगोपन समुदायले अनुभूत गर्न नसक्ने भन्दै यसपटक इलामका सरोकारवाले संयुक्त प्रयासमा यो मिट आयोजना गरेको सुन्दा खुसी व्यक्त गरे।
‘यस वर्ष इलामको पर्यटनलाई आगामी दिनमा व्यवस्थित विकास गर्न समष्टिगत, सामूहिक, जिम्मेवार र संयुक्त प्रयास हुने आशा छ,’ उनले भने, ‘नवीनतम् र विराटसोचसहित पर्यटन प्रवर्धनका क्रियाकलाप गर्नुपर्छ।’








२२ जेठ , २,०८३