नोटिफाई नेपालLoading...



नेपालमा पछिल्ला वर्षहरूमा भएका जलनका घटनैपिच्छे सरकारी स्तरबाट घोषणा हुन्छ - अन्तर्राष्ट्रिय स्तरको जलन अस्पताल निर्माण गर्ने र सोही स्तरको सेवा प्रदान गर्ने। तर घोषणाअनुसार काम हुन सकेको छैन। महँगो मानिने जलनको उपचार स्वदेशमै सहज र पर्याप्त पाउन नसक्दा बिरामी र आफन्त मारमा पर्दै आएका छन्।
गत असार अन्तिम साता मात्र काठमाडौंमा आत्मदाह प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारका क्रममा ज्यान गयो। त्यसपछि आत्मदाह प्रयासका पाँच÷छ वटा घटना भएका छन्, जसमा दुई जनाको उपचारका क्रममा ज्यान गएको छ। यस पटक पनि सरकारले विगतमा जस्तै अन्तर्राष्ट्रिय स्तरको जलन अस्पताल निर्माणको घोषणा गरेको छ।
चार वर्षअघि नयाँ बानेश्वरमा पे्रमराज आचार्यले आत्मदाह गरेपछि पनि सरकारले यस्तै घोषणा गरेको थियो। तीन वर्षअघि नेपाली कांगे्रसका नेता चन्द्र भण्डारी निवासमै ग्यास विस्फोटमा परी जलेर घाइते भए। उनकी आमाको जलेर मृत्यु भयो। नेपालमा उपचार हुन नसकेपछि चन्द्रलाई भारत लगियो। उक्त घटनापछि पनि सरकारले नेपालमा अन्तर्राष्ट्रिय स्तरको जलन अस्पताल निर्माणको घोषणा गर्यो।
पोखरामा आयोजना गरिएको एक कार्यक्रममा भाग लिन गएका तत्कालीन अर्थमन्त्री विष्णु पौडेल पनि कार्यक्रम उद्घाटनका क्रममा बेलुन पड्किँदा जलेर घाइते भए। तत्कालीन सरकारले पनि चाँडै नेपालमा स्तरीय जलन अस्पताल निर्माण गर्ने भन्यो।
गत फागुनमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सार्वजनिक गरेको वाचापत्रमा पनि सातै प्रदेशमा जलन अस्पताल निर्माण गर्ने भनिएको छ। निर्वाचनमा करिब दुई तिहाइ बहुमत पाएपछि रास्वपा नेतृत्वमा सरकार बन्यो। सरकारले जारी गरेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीमा पनि जलन अस्पताल निर्माण गर्ने भनिएको छ। आर्थिक वर्ष २०८३/८४ को बजेटमा पनि जलन अस्पताल कीर्तिपुरको क्षमता विस्तार गर्ने भनिएको छ। त्यस्तै वीर अस्पतालमा रहेको जलन उपचार सेवाको क्षमता पनि विस्तार गर्ने भनिएको छ।
कांग्रेस नेता भण्डारीले पटकपटक अत्याधुनिक जलन अस्पताल निर्माण गर्नुपर्ने बताउँदै आएका छन्। पछिल्लो पटक भएका आत्मदाहका घटनापछि पनि नेता भण्डारीले जलन उपचार अति महंगो र जटिल हुने भएकाले नेपालमै अत्याधुनिक अस्पताल निर्माण गर्नुपर्ने बताएका छन्। उनले आफूसँगको संवादमा व्यवसायी मीन गुरुङले जलन अस्पताल निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेको स्मरण पनि गरेका छन्। उनले जलन अस्पताल निर्माणका लागि सरकारले गुरुङसँग संवाद गर्नुपर्ने बताएका छन्।
एक साताअघि प्रधानमन्त्री बालेन्द्र शाहले सातै प्रदेशमा जलन उपचार सेवालाई थप सुदृढीकरण गर्न निर्देशन दिएका थिए। उनले जलनका बिरामीलाई समयमै उपचार उपलब्ध गराउन यस्तो निर्देशन दिएका हुन्। नेपालमा जलन अस्पताल निर्माणको घोषणा दर्जनौं पटक भएको देखिन्छ। तर घोषणा कार्यान्वयन पक्ष शून्य जस्तै छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीका अनुसार हाल सातै प्रदेशमा गरी १४ वटा अस्पतालमा जलन उपचार सेवा एकाइ सञ्चालनमा छन्। ती एकाइमा चिकित्सक तथा सर्जनलाई तालिम दिएर खइटाएको दाबी उनको छ। मन्त्रालयका अनुसार अहिले कीर्तिपुर वर्न अस्पताल, वीर अस्पताल, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कोसी प्रादेशिक अस्तपाल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, डडेल्धुरा प्रादेशिक अस्पताल, नारायणी अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, सुष्मा कोइराला मेमोरियल अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा जलन उपचार हुन्छ। नयाँ एकाइ विस्तार भएका अस्पतामा एकाइमार्फत नै सेवा दिइरहेको मन्त्रालयले जनाएको छ। सरकारले जलनका बिरामीको उपचारमा एक लाख रुपैयाँ उपलब्ध गराउने व्यवस्था गरेको छ।
जनशक्ति र स्रोत अभाव
सरकारले पछिल्लो समय कीर्तिपुर वर्न अस्पताल र वीर अस्पतालको जलन उपचार विभागलाई आवश्यक बजेट र जनशक्तिको प्रवर्धन गरेको छ। अन्य जलन अस्पताल र विस्तारित युनिट सीमित जनशक्ति, स्रोत र साधनका भरमा सञ्चालनमा रहेको जलन उपचार विशेषज्ञ बताउँछन्। सरकारले बजेट र जनशक्ति प्रवर्धन गरेका अस्पतालमा समेत अत्याधुनिक सेवा र उपकरणको अभाव छ। नेपाल अहिले पनि शरीरको पचास प्रतिशतभन्दा बढी जलन भएका, गम्भीर जलनका बिरामीको उपचारका लागि दक्ष नभइसकेको चिकित्सक नै स्वीकार गर्छन्।
वीर अस्पताल जलन उपचार विभागका संयोजक तथा वर्न प्लास्टिक सर्जन डा. पियुष दाहाल सरकारले सातै प्रदेशमा विस्तार गरेका जलन युनिट काम चलाउ मात्र भएको बताउँछन्। विस्तारित युनिटहरूमा जनशक्ति, पूर्वाधार र विज्ञ जनशक्तिको कमी भएकाले तिनले भवितव्यमा काम गर्न सक्ने स्थिति नरहेको उनी औंल्याउँछन्।
सरकारले प्रवर्धन गरेको भनिएको कीर्तिपुर वर्न अस्पताल र वीर अस्पतालको जलन विभागमा पनि जनशक्ति र स्रोतसाधन अपुग रहेको कीर्तिपुर वर्न अस्पतालका वर्न प्लास्टिक सर्जन डा. शंकरमान राई स्वीकार्छन्। उनी भन्छन्, ‘भवन निर्माण गर्दैमा अस्पताल अत्याधुनिक हुने होइन। मुख्य कुरा सेवा, उपकरण र दक्ष चिकित्सक हुुनुपर्छ’, उनले भने।
उनका अनुसार जलन उपचार सेवा पहिलाको तुलनामा अहिले विस्तार भएको छ तर त्यो अपेक्षित रुपमाचाहिँ हुन सकेको छैन। ‘पहिला जलनका बिरामीको मृत्युदर धेरै थियो, अहिले शरीरको ४० प्रतिशत बढी जलेर घाइते भएकाको उपचार भइरहेको छ’, उनले भने।
अति गम्भीर जलनका बिरामीको उपचार अतिमहंगो छ। त्यो खर्च न बिरामीले धान्न सक्छन न अस्पतालले धान्ने अवस्था छ। जलन उपचार आफंैमा अतिमहंगो भएकाले नेपालले धनी देशको तुलनामा सेवा दिन कठिन छ। डा. राईका अनुसार जलनका बिरामीलाई आवश्यक पर्ने डाइलोसिस मेसिनको प्रतिदिन ८० हजार रुपैयाँ लाग्छ। राई पनि सातै प्रदेशमा विस्तारित जलन उपचार एकाइमा तालिम प्राप्त जनशक्ति नभएको बताउँछन्। वर्न प्लास्टिक सर्जनबिना जलनको उपचार पर्याप्त र सम्भव नहुने उनी बताउँछन्। उनले नेपालमै वर्न प्लास्टिक जनशक्ति कम रहेको सुनाए। ‘वर्न प्लास्टिक सर्जनले के कति गहिरो भाग काटेर फाल्ने, छाला प्रत्यारोपण कसरी गर्ने, जलनका बिरामीलाई कसरी राख्नेदेखि सबै स्थितिको बारेमा अध्ययन र तालिम लिएका हुन्छन, जुन अरु चिकित्सकले गर्न सक्दैनन्’, डा. राई भन्छन्।
मुलुककै पुरानो र ठुलो वीर अस्पतालका वर्न प्लाष्टिक सर्जन डा. दाहाल भएको जनशक्तिको पनि सदुपयो हुन नसकेको बताउँछन्। बजारमा भएको जनशक्तिलाई अस्पतालमा भित्र्याउन सकिएको छैन। उनका अनुसार सेवा विस्तार भनिएको वीर अस्पतालमै पर्याप्त वर्न प्लास्टिक सर्जन, नर्सिङ जनशक्ति, उपकरण, औषधिको व्यवस्था हुन सकेको छैन। बिरामी कुरुवा औषधि खोज्न भौतारिनुपरेको उनले सुनाए। नेपालमा हाल ४० जना मात्र वर्न प्लास्टिक सर्जन भएको उनी बताउँछन्। प्रदेशमा विस्तारित सबै जलन एकाइमा वर्न प्लास्टिक सर्जन नभएको र भएकामा पनि निकै कम रहेको उनले सुनाए।
वर्न प्लास्टिक सर्जनको कमी भएकाले जनरल सर्जन र अन्य नर्सिङ जनशक्तिलाई कम्तीमा एक महिनाको तालिम दिएर प्रारम्भिक उपचार व्यवस्थापन गर्न सकिने डा. राई बताउँछन्। उनका अनुसार कीर्तिपुर वर्न अस्पतालले यससम्बन्धी तालिम दिइरहेको र थप तालिमका लागि सरकारसँग पहल भइरहेको छ।
विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार नेपालमा बर्सेनि ८० हजारजना जलनमा पर्छन् र तीमध्ये २१ सयको मृत्यु हुने गरेको छ।
.jpg)




-1781786010.jpg)



६ श्रावण , २,०८३