नोटिफाई नेपालLoading...



ए–डिभिजन मछिन्द्र फुटबल क्लब तेस्रो संस्करणको इलाम गोल्डकपको फाइनल प्रवेश गरेको छ। मोरङको पथरी ११ फुटबल क्लबविरुद्ध सानदार जित हासिल गर्दै मछिन्द्र उपाधिनजिक पुगेको हो।
ठूलो टुँडिखेलमा भएको पहिलो सेमिफाइनलमा मछिन्द्रले ५–२ को फराकिलो गोलान्तरले पथरीलाई पाखा लगायो। मछिन्द्रको तर्फबाट खेलको १३औँ मिनेटमा मिलन चाम्लिङले गोल गरे । पथरीका मौसम लिम्बूले त्यसको चार मिनेटमै जबाफी गोल फर्काए । मछिन्द्रका मिलनले पुनः अर्काे गोल गर्दै ३०औँ मिनेटमा टिमलाई २–१ को अग्रता दिलाए ।
५०औँ मिनेटमा मछिन्द्रका सौरभ सुब्बाले गोल गर्दै टिमलाई अग्रता ३–१ गोलान्तरमा पु¥याए । ७०औँ मिनेटमा सुजल डंगोलले पथरीका लागि गोल गरी ३–२ बनाए । ८०औं मिनेटमा मछिन्द्रका अविनाश स्याङतानले टिमलका लागि गोल थप्दा मच्छिन्द्र ४–२ गोलान्तरको अवस्थामा पुग्यो । इन्जुरी समयमा मछिन्द्रका श्याम मुर्मुले एक गोल गरे ।
फाइनल पुगेसँगै मछिन्द्रले कम्तीमा नगद ५ लाख रुपैयाँ सुरक्षित गरेको छ । अब उसको भेट बिहीबार हुने दोस्रो सेमी फाइनलको विजेतासँग हुनेछ । मछिन्द्रका मिलन चाम्लिङ राई नै पहिलो सेमी फाइनलको ‘म्यान अफ दि म्याच’ भए । उनले नगद ८ हजार १ सय रुपैयाँ पाए ।
मछिन्द्रका प्रशिक्षक प्रवेश कटवालले टोलीले राम्रो नतिजा निकालेपनि अझ तयारी गरेर फाइनलमा आउने बताए । ‘आज (मंगलबार)को खेलमा विपक्षी टिम हिजोअस्तिका खेलमा सायद अलि थाकेर पनि हुनसक्छ यतिको फराकिलो अन्तर भएको,’ उनले भने, ‘तर, फाइनलमा हामी राम्रो तयारीसहित आउनेछौं ।’
पथरीका प्रशिक्षक अर्जुन बस्नेतले यसअघिका खेलमा खेलाडी सहभागी भएको र थकित भएकै कारण फराकिलो अन्तरले हार बेहोर्नुपरेको स्विकारे । ‘मछिन्द्र राम्रो टिम पनि हो, हाम्रा खेलाडी हिजोमात्रै गेम खेलेर आएकाले पनि उत्कृष्ट प्रदर्शन हुन सकेन ।’
मछिन्द्रले क्वार्टरफाइनलमा पाहुना टोली मलेसियाको एन–पेनाङ एफसीलाई हराएको थियो । सोमबारको तेस्रो क्वार्टरफाइनलमा राष्ट्रिय टोलीका भरिभराउ खेलाडी रहेको मच्छिन्द्रले टाइब्रेकरबाट ३–२ गोलान्तरले एन–पेनाङलाई घर पठाएको थियो । बिहीबार डिफेन्डिङ च्याम्पियन (एनआरटी) र झापा धुलाबारीको रोलिङ क्लबबीच दोस्रो सेमीफाइनल हुनेछ ।
रेडहर्स फुटबल क्लबले आयोजना गरेको प्रतियोगिताको फाइनल खेल वैशाख १२ मा हुनेछ । फाइनल विजेताले नगद १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।


-1698832414.jpg)




९ बैशाख , २,०८३