नोटिफाई नेपालLoading...



प्रतिनिधिसभाको पहिलो अधिवेशन सम्पन्न भइसकेको छ। यसैबिच सरकारले ‘सय दिनका काम’ को रूपरेखा प्रस्तुत गर्दै १८ बुँदे राष्ट्रिय प्रतिबद्धता सार्वजनिक गरेको छ। यसै सन्दर्भमा नागरिक फ्रन्टलाइनको गत बुधबारको शृंखलामा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विश्वराज पोखरेलसँग प्रधान सम्पादक गुणराज लुइँटेलले संवाद गरेका छन्। गत निर्वाचनको अनुभव, समसामयिक राजनीतिक परिस्थिति र भावी गन्तव्यबारे पूर्व अतिरिक्त प्रहरी महानिरीक्षकसमेत रहिसकेका सांसद पोखरेलसँगको संवादको सम्पादित अंश।
तपाईंले पहिलो अधिवेशनको अनुभव कस्तो पाउनुभयो? यसपालिको अधिवेशनले तपाईंलाई के अनुभूति दियो?
पहिलो अधिवेशनमा हामी उपस्थित हुँदा सबै साथी अत्यन्त उत्साहित थिए। धेरैले राम्रोसँग अध्ययन गरेका थिए र देशलाई केही गरौं भन्ने जोस थियो। यस्ता साथीसँग भेट भएपछि मलाई लाग्यो कि अब यो मुलुक परिवर्तन हुन्छ। यो नै अधिवेशनको पहिलो अनुभूति थियो । मैले देशको सेवा गर्दा धेरै ठुला कार्यक्रममा भाग लिएको छु तर एकैथलोमा देश बनाउनुपर्छ भन्ने युवाशक्ति, त्यसमा पनि अत्यन्त अध्ययनशील र योग्य साथीहरू एकै ठाउँमा उभिएको देख्दा र राष्ट्रिय स्वतन्त्र पार्टीका साथीहरूसँग भेट्दा ठुलो आशा पलायो।
अधिवेशन छोटोजस्तो भयो होइन? राम्रो सिनेमा हेरेपछि तुरुन्तै सकिएजस्तो भयो कि?
हो, त्यस्तो अनुभूति पनि भयो । मलाई छोटोजस्तो लाग्यो किनभने हामी सबै साथीले शून्य समयमा बोल्ने अवसर पाएनौं । हाम्रो विभाजन वर्णानुक्रममा गरिएको थियो। त्यसले गर्दा धेरै साथीको पालो आएन, मेरो पनि पालो आएन। त्यसैले धेरैले बोल्ने अवसर नपाउँदा अधिवेशन छोटो लाग्यो । तर अब समिति बैठक र बजेट अधिवेशन छिटै हुने भएकाले त्यसको प्रतीक्षामा छौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद धेरै भएपछि पालो आउन समय लाग्छ । थोरै सांसद भएको पार्टीको पालो छिटो आउँछ। वर्णानुक्रमानुसार पालो बिस्तारै आउँछ । सुरुको अक्षरबाट भएको भए छिटो आउँथ्यो।
तपाईं लामो समय प्रहरी सेवामा रहनुभयो। त्यतिबेला निर्वाचन गराउने जिम्मेवारीमा हुनुहुन्थ्यो। अहिले आफैं निर्वाचन लड्दाको अनुभव कस्तो रह्यो?
धेरै फरक छ। त्यो बेलाको जिम्मेवारी एउटा सरकारप्रति जवाफदेही हुनु थियो– कानुन कार्यान्वयन गर्ने, निर्वाचन सम्पन्न गर्ने। अहिले भने म जनतासँग मत माग्दै थिएँ। जनताप्रति जवाफदेही बन्नुपर्ने भयो। दुवैको चरित्र नै फरक छ। पहिला अरूलाई जिम्मेवारी दिनको लागि थियो, यसपालि आफैंले जिम्मेवारी लिनका लागि थियो । हिजो सरकारको निर्देशनअनुसार कानुन कार्यान्वयन गर्नुपथ्र्यो, अहिले जनताका मुद्दा, समस्या, आवश्यकता र आकांक्षा पहिचान गरी उनीहरूको मन जितेर मत माग्नुपर्ने अवस्था थियो। चरित्र नै फरक भएकाले अनुभूति पनि धेरै फरक भयो।
निर्वाचन जित्न के गर्नुपर्ने रहेछ? तपाईंले जित्नुभयो नि?
हो, जितियो। मेरो विचारमा अन्य उम्मेदवारको तुलनामा केही बढी मेहनत गर्नुपर्यो। किनभने हामीसँग बलियो संगठन थिएन। पुराना दलसँग बलियो संगठन र स्थानीय निकाय थियो, उनीहरू एकै ठाउँबाट शक्ति परिचालन गर्न सक्थे तर हामी हरेक कुराका लागि जनताको घरदैलोमा पुग्नुपर्थ्याे, पटक–पटक मनाउनुपर्थ्याे। उनीहरूलाई मत परिवर्तन गर्न सम्झाउनुपथ्र्यो, बुझाउनुपथ्र्यो। बुझाएपछि मात्र मत परिवर्तन गर्न तयार हुन्थे । एक, दुई पटक जाँदा पनि सहमत भएनन्। तेस्रो पटक गएर ‘हामीलाई अवसर दिनुस्, राष्ट्रिय स्वतन्त्र पार्टीलाई विश्वास गर्नुस्’ भनेपछि मात्र तयार हुने नागरिकहरू। यति गर्दा पनि सजिलो थिएन। दुर्गम जिल्ला– एउटा पालिकामा सातवटा गाउँ छन्। एउटा गाउँ घुम्न कम्तीमा सातदेखि दश दिन लाग्छ। त्यति दुर्गम ठाउँमा बस्न, खानको असुविधा त्यतिकै छ। तैपनि हामी घरघरै नपुगे पनि टोल–टोलमा पुग्यौं । जनताले ‘एकपटक हेरौं’ भन्दै विश्वास गर्नुभयो। उहाँहरूको अपेक्षा छ– बिदेसिएको छोरो फर्कने वातावरण बनोस्, युवा बिदेसिन नपरोस्, रोजगारी सिर्जना होस्। हिजोका पार्टीहरूको कामबाट सन्तुष्ट नभएर विकल्प खोज्दै मत परिवर्तन गरेका हुन्।
यसपटक मत त परिवर्तन भयो तर विचार पनि परिवर्तन भयो कि भएन?
अहिले मत परिवर्तन भयो तर विचार अझै पनि यतै उतै छ। धेरै नागरिकको विचारमा परिवर्तन आइसकेको छैन। काम गरेर देखाएपछि मात्र विचार परिवर्तन हुन सक्छ। त्यसैले हामीलाई ठुलो चुनौती छ– जनताले जे विश्वास गरेका छन् र हामीले जे विश्वास दिलाएका छौं, दुवैलाई सम्बोधन गर्ने गरी काम गर्नुपर्छ। यो सरकार, पार्टी र हरेक प्रतिनिधिले जनता र देशको पक्षमा भूमिका खेल्नुपर्छ। नभए फेरि जनताले मत बदल्न सक्छन्।
तपाईं पाँच मतले मात्र जित्नुभयो। त्यो अन्तर देख्दा आफू भाग्यमानी भएजस्तो लाग्छ?
हो, त्यो अन्तर हेर्दा म भाग्यमानी नै रहेछु भन्ने लाग्छ। यो पाँच मतको विजय मेरो प्रारब्ध पनि हो कि जस्तो लाग्छ। धेरै नागरिकले अन्तिम घडीमा निर्णय गरेर मत दिन गएको बताएका छन्। अन्तिम घडीमा निर्णय गरेर हामी पाँच जना गयौं भन्ने पनि पाएको छु। यस्ता पाँचजना मान्छे त मैले भेटिसकेँ। एउटा ड्राइभिङ स्कुलमा चार–पाँच जना मतदाता थिए। उनीहरूले भने– ‘हामी पाँचजना २० गते राति हिँड्यौं, २१ गते मत दियौं । हाम्रो मतले नै जितायो कि?’ जम्मा पाँच मतले जितेपछि हरेक मान्छेलाई ‘मेरो मत नभएको भए के हुन्थ्यो?’ भन्ने लाग्छ। त्यसमाथि कांग्रेसको प्रभाव रहेको क्षेत्रमा एउटा गाउँमा अस्पताल नबन्दा मतदान बहिष्कार भयो। त्यो बहिष्कार नभएको भए मलाई गाह्रो हुन्थ्यो । यो सबै परिस्थिति र दैवी योजनाले जितायो जस्तो लाग्छ । कांग्रेसको आन्तरिक बैठकमा ‘अन्तर्घात भयो’ भन्ने चर्चा छ तर म भन्छु– यो प्रारब्ध नै हो।
तपाईंले राष्ट्रिय स्वतन्त्र पार्टी रोज्नुको कारण के हो? तपाईंले लामो समय कांग्रेस र एमालेको दबदबा हुँदा सेवा गर्नुभयो?
त्यसका दुईतीन कारण छन् । म पुराना पार्टीहरूसँग जोडिएर काम गरेको मान्छे हुँ र ती पार्टीको आचरण, व्यवहार, चरित्र, कार्यशैली सबै मलाई थाहा छ। त्यहाँ ‘झोले प्रवृत्ति’ छ, पुराना नेताले जे गरे पनि विरोध नगर्ने, नबोल्ने प्रवृत्ति। त्यस्तो पार्टीबाट देश बन्दैन भन्ने मेरो निचोड छ। नयाँ पार्टीमा युवा पुस्ताले नेतृत्व गरिरहेको छ, लचकता छ, अर्कोलाई कुरा सुन्ने र आफूलाई परिवर्तन गर्ने बानी छ। उद्देश्य प्राप्तिका लागि आफ्नै निर्णय मात्र ठिक होइन भन्ने सोच छ। मेरो ३० वर्षको अनुभव पार्टीका लागि एउटा सम्पत्तिको रूपमा आउँछ। यो पार्टी सुशासनको पक्षमा उभिएको छ। पुराना पार्टीहरू प्रजातन्त्रको पक्षमा मात्रै उभिए, सुशासनमा उनीहरूको जोड भएन। यो पार्टी भ्रष्टाचार अन्त्य, कुशासन अन्त्य, विकास र समृद्धिको नारा लिएर आएको छ। त्यसैले मैले यो पार्टी चयन गरेँ।
तपाईं यो पार्टीमा कहिले चयन हुनुभयो? के सभापति रवि लामिछानेले प्रस्ताव गर्नुभएको थियो?
२०७९ सालमा रवि लामिछानेले मलाई काठमाडौंबाट उठ्न प्रस्ताव गर्नुभएको थियो। अन्तिम घडीसम्म ‘अरू निर्वाचन क्षेत्र भए पनि रोज्नुस्’ भन्नुभयो तर त्यतिबेला मैले निर्णय गर्न सकिनँ। त्यसपछि पनि म पार्टीको सम्पर्कमा रहेँ, हरेक क्रियाकलाप नजिकबाट हेरिरहेँ। अन्ततः मैले प्रवेश गर्ने निर्णय गरेँ। पार्टी नेतृत्वबाट नै धेरै प्रस्ताव आएको थियो– उहाँहरूले राम्रो मान्छे खोजिरहनुभएको थियो। धेरै दबाबपछि ‘बाँकी जीवन निःस्वार्थ रूपमा देश र नागरिकलाई दिनुपर्छ’ भन्ने सोच बन्यो। अनुभवको पनि मुलुकलाई आवश्यकता छ, असल चरित्रको व्यक्तिले देश बनाउँछु भन्ने अभियान चाहिन्छ। त्यसैले प्रवेश गरेँ।
राष्ट्रिय स्वतन्त्र पार्टीका लागि अब अवसर र चुनौती के–के छन्?
अवसर ठुलो छ । जनताले दुईतिहाइ जति मत दिएर पठाइदिएका छन्। नेपालको राजनीतिक इतिहासमा २०१६ सालपछि यति धेरै मत सायद कसैले पाएको छ। सबै पार्टीहरूप्रति ठुलो वितृष्णा हुँदा हामीले यो अवसर पायौं। सानो–सानो कुराले जनता खुसी हुने क्षण छ यो तर चुनौती पनि छ– हामीले परिपक्वता, धैर्य र नतिजामुखी हिसाबले काम गर्न सकेनौं भने जनताको अविश्वास फैलिन सक्छ। दुई तिहाइ मत त आयो तर धेरै मतदाता अझै पुराना पार्टीमा छन्। उनीहरूले हाम्रा कमजोरी हेरिरहेका छन् । राम्रो काम गरे उनीहरू पनि जोडिन सक्छन्, नत्र अर्को पटक दण्डित गर्छन् । पुराना पार्टीका मतदाता हामीसँग जोडिन खोजिरहेका छन्। हालको नेतृत्वले ‘देश बनाउने’ सोच बोकेको छ, ‘हाम्रा र अरूका मतदाता’ भन्ने हुँदैन। त्यसरी नहेरी सबैलाई समेट्न सक्यौं भने देश नै परिवर्तन हुन्छ।
रास्वपाभित्र ‘आफ्नो पार्टी, आफ्नो गुट, नजिकको हो कि होइन’ हेर्ने पद्धति छ कि छैन? त्यस्तो नहोस् भन्ने खबरदारी कस्तो छ?
त्यसविरुद्ध ठुलो खबरदारी छ। रास्वपाभित्र सानो त्रुटि भए पनि छिट्टै प्रतिक्रिया आउँछ– ‘यो गलत भयो, नातावाद भयो, कृपावाद भयो’ भन्ने। हरेक पाइलामा खबरदारी हुन्छ । हिजो यस्तो देखिएको थिएन। अहिले बिहानदेखि बेलुकासम्म देश कसरी बढाउने भन्ने विज्ञ साथीहरूको विचार आइरहन्छ। नेतृत्वमा कसैले कमजोरी, नातावाद देखायो भने भयंकर गतिमा खबरदारी आउँछ। त्यसैले कोही पनि ट्रयाकबाट बाहिर जान सक्ने अवस्था छैन । यो सकारात्मक पक्ष हो।
तपाईं सभापति रवि लामिछाने कि प्रधानमन्त्री बालेन्द्र शाहसँग नजिक? त्यस्तो अवस्था छ कि छैन?
त्यो छैन । कोही पनि कतैतिर छैन । विशेष विषयमा सभापतिलाई राख्दा पनि उत्तिकै सुनुवाइ हुन्छ, प्रधानमन्त्रीलाई राख्दा पनि उत्तिकै। भर्खरै एउटा भेटमा मैले जिल्लाको समस्या रिपोर्ट गरेको थिएँ, त्यो मन्त्रालयमा सर्कुलेसन भइसकेको रहेछ। प्रधानमन्त्रीले सम्बन्धित मन्त्रालयलाई निर्देशन दिइसक्नुभएको रहेछ। सभापति र प्रधानमन्त्रीबिच अन्तर आउन थाल्यो भन्ने चर्चा यथार्थ होइन। दुवै जना बसेर जे निष्कर्ष निस्किन्छ, त्यही कार्यान्वयनमा जान्छ । फरक विचार आउन सक्छ तर विश्लेषण गरेर जे उपयुक्त हुन्छ, त्यसमा दुवैको सहमति हुन्छ।
मन्त्रीहरूको काम र सांसदहरूको मामला छुट्टै समूहले अनुगमन गर्छ? कस्तो व्यवस्था छ?
हामी त्यो व्यवस्थाभित्र पुगिसकेका छौं । हरेकको प्रदर्शनपछाडि राष्ट्रिय स्वतन्त्र पार्टीका व्यक्तिहरूले अनुगमन गरिरहनुभएको छ। कसैलाई ‘मलाई कसैले अनुगमन गरेको छैन’ भन्ने छैन । जनता, देश र सरकारको पक्षमा काम गर्नुपर्छ। कसैले काम गरेन भने नेतृत्व निर्मम हुन्छ किनभने त्यसको विकल्प छैन। सुशासन परिवर्तन गर्न निर्ममता, साहस र त्यसलाई थेग्ने बल चाहिन्छ। तीनै वटा भएको ठाउँबाट मात्र परिवर्तन सम्भव छ ।
उपसभामुख चयनको बेलामा सभापति र प्रधानमन्त्रीबिच कुरा मिलेन भन्ने सुनियो। राप्रपालाई दिने कि श्रम संस्कृति पार्टीलाई दिने भन्नेमा मतभेद थियो?
त्यस्तो पनि छैन । कुनै व्यक्ति चयन गर्दा भिन्न–भिन्न प्रस्ताव आउनु स्वाभाविक हो। तर उपयुक्त के भनेर विश्लेषण गर्दा जनताले के मन पराउँछन्, पार्टी र सरकारको हित केमा हुन्छ, त्यो छनोट गर्दा बहस, छलफल हुन्छ तर निर्णय गर्ने बेलामा जनता र मुलुकको हित हुने नै हुन्छ। त्यो भइसकेको छ र जे निर्णय हुन्छ, त्यसलाई समग्र पार्टीले बोकेर हिँड्छ। निर्णय सबै संसदीय दलका साथीलाई सुनाइन्छ, बिमति राख्ने अवसर दिइन्छ तर अन्ततः सर्वसम्मत हुन्छ।
सरकार गठन भएको तीन साता भयो । संसद्को सुरुवात कस्तो पाउनुभयो?
संसद् एकदमै प्रभावकारी ढंगले चल्यो । नयाँ सांसदहरूले परिपक्वता, अनुभव र ज्ञान राखेर प्रस्तुति दिनुभएको छ। सरकारले जुन स्पिड र परिपक्वताले काम गरिरहेको छ, त्यो प्रशंसनीय छ। नेपाल मात्रै होइन, विदेशमा बसेका नेपालीले पनि यसको चर्चा गरिरहेका छन् । सुरुवाती अनुभूति एकदमै सकारात्मक छन्।
अहिलेका ऐननियम सेवाग्राहीमैत्री छैनन् भन्ने चर्चा छ। तिनको परिमार्जन कसरी अघि बढेको छ?
यसमा तयारी भइरहेको छ। धेरै ऐन–प्रक्रियामा प्रवेश गरिसकेका छन्। समितिहरू बन्दै छन्, अध्ययन गर्दै छन्। मलाई विश्वास छ– धेरै ऐन परिमार्जन, संशोधन हुनेछन्, नयाँ बन्नेछन् । नागरिकमैत्री ऐन आउनेछन्, जसले गर्दा नागरिकले अफिसमा नगई अनलाइनबाटै सेवा लिन सक्ने अवस्था आउनेछ । हाम्रो प्राथमिकता नै घरबाटै सेवा प्राप्त गर्ने कुरा हो।
कुन–कुन ऐन संशोधनका लागि काम भइरहेको छ?
धेरै छन् । पछिल्लोमा निजामती ऐन, प्रहरी ऐन छिटो पारित गर्नुपर्ने अवस्थामा छन्। राज्य संयन्त्रभित्रका संरचना परिवर्तन गर्नुपर्ने अवस्था छ। धेरै कुरा संविधान परिवर्तनबाटै हुन्छ । संविधान संशोधनका लागि सबैसँग सर्वसम्मत सहमतिको आधारमा काम भइरहेको छ । एउटा टिम बनेरै काम गरिरहेको छ। नागरिकले अनुभूत गर्ने गरी नागरिकमैत्री ऐन, कानुन, संविधान बनाउने प्रयास भइरहेको छ।
संविधान संशोधन वा अत्यावश्यक कानुन परिमार्जनमा पुराना दलबाट कति सहयोग प्राप्त होला? दुईतिहाइ त राष्ट्रियसभाको पनि चाहिन्छ, होइन?
आमनागरिकले यो कुरा नजिकबाट हेरिरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले राम्रो काम गर्न खोज्दा कसैले सहयोग नगरे, पार्टीहरू सहयोग गर्न तयार नभए नागरिकले त्यस्ता पार्टीलाई दण्डित गर्छन् । सबै नागरिक सचेत छन् । हामीले पछि चुक्नुहुँदैन। सही कुरालाई देश र नागरिकको हितमा सहयोग गर्नुपर्छ भन्ने विचार बाहिर आइरहेको छ । यसले सहयोगको वातावरण बन्छ भन्ने विश्वास छ।
राष्ट्रियसभासँग कहिलेकाहीं द्वन्द्व पनि हुन सक्छ । त्यस्तो अवस्थामा प्रतिनिधिसभाले नै ‘हामी यसरी नै जान्छौं’ भन्ने अवस्था आयो भने के गर्नुहुन्छ?
ठुला विषयमा हामी पटक–पटक सहमतिको वातावरण तयार गर्ने प्रयास गर्छौं । जनताले थाहा पाउने गरी ‘यो मुलुक र नागरिकको हितका लागि हाम्रो प्रयास छ, सबैको सहयोग खोजिरहेका छौं’ भन्ने सन्देश बाहिर जानेबित्तिकै जनताको दबाबले उनीहरूलाई सहयोग गर्न बाध्यता ल्याउँछ।
अघिल्लो पटक निजामती कर्मचारी विधेयकमा ‘कुलिङ अफ पिरियड’ (प्रतीक्षा अवधि) को व्यवस्था थियो । त्यसलाई संसद्ले पारित गरे पनि कर्मचारी तहबाट छेडखानी भएकोजस्तो अवस्था नआओस् भन्नेमा तपाईंहरूको ध्यान गएको छ?
हामी त्यसमा छौं । पुराना दलले सरकार चलाउँदा के कमी–कमजोरी भए, जनताले के मन पराएनन् भन्ने हामीले राम्ररी अनुगमन गरेका छौं । कुलिङ अफ पिरियड नै एउटा कारण थियो– धेरै ठाउँमा मत माग्दा ‘हामी कुलिङ अफ पिरियडलाई मत दिँदैनौं’ भन्थे । २०८२ भदौ २३–२४ को घटना, भ्रष्टाचारका विभिन्न घटना, आफ्ना पार्टीका व्यक्तिलाई जोगाइएको, आफूउपर उठेका आरोपको सामना नगरेको, यी सबै विषय आमनागरिकलाई थाहा छ । त्यसैले उनीहरू सचेत छन्, यो मुलुकको हितका लागि काम गर्नेलाई सहयोग नगरे नागरिकले दण्डित गर्छन्।
तपाईं राज्य व्यवस्था समितिको सदस्य हुनुहुन्छ। यो समिति कसरी चलाउनुपर्छ?
राज्य व्यवस्था समिति मुलुकको शक्तिको रूपमा रहेको समिति हो। अहिले विद्यमान कानुनलाई जनमैत्री, नागरिकमैत्री बनाउने, देशको पक्षमा नयाँ कानुन निर्माण गर्ने, र कति गतिमा कस्तो प्रतिबद्धतासाथ काम गर्ने भन्नेमा हामी केन्द्रित हुनुपर्छ। यो समिति सबैभन्दा महत्त्वपूर्ण छ। सबै दलको उच्च नेतृत्व यही समितिमा छ। मुलुक निर्माणमा यसको भूमिका ठुलो हुन्छ । त्यसैले सशक्त रूपमा अहोरात्र काम गरेर अहिलेको आवश्यकता सम्बोधन गर्ने कानुन र नीति बनाउन यो समितिले भूमिका खेल्न सक्छ।
यसको नेतृत्व तपाईंकै जिम्मेवारीमा आयो भने के गर्नुहुन्छ?
म गर्छु । मलाई जुनसुकै जिम्मेवारी पनि त्यति कठिन लाग्दैन । किनभने मैले राज्य संयन्त्रमा २९ वर्ष काम गरेको अनुभव छ। जहाँसुकै जिम्मेवारी भए पनि नागरिक र सरकारले अपेक्षा गरेअनुरूप परिपक्वता र नतिजामुखी ढंगले निर्वाह गर्न सक्छु भन्ने विश्वास छ । पार्टीले दिएको जुनसुकै जिम्मेवारी प्रभावकारी ढंगले सम्पन्न गर्न सकिन्छ।
सरकारतर्फको सुरुवाती काम राम्रो लागेको छ?
मलाई धेरै राम्रो लागेको छ । मैले प्रहरी सेवामा हुँदा पनि ‘हनिमुन पिरियड’मा काम गरेको हेर्थें । तर अहिले त्यो भन्दा धेरै गतिमा काम भइरहेको छ । सरकार हनिमुन भनेर चुप लागेर बसेको छैन । योजनाबद्ध ढंगले लक्ष्य निर्धारण गरेर अगाडि बढेको देख्दा म अत्यन्तै प्रभावित छु।
मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएपछि धेरै धनी मान्छे रहेछन् भन्ने चर्चा छ। यसलाई कसरी हेर्नुहुन्छ?
यो हेर्नुपर्ने दुई–चार वटा पाटा छन् । पहिलो, सम्पत्ति सार्वजनिक भएपछि सबैले परीक्षण गर्न सक्ने भए । दोस्रो, आजको सम्पत्ति र भोलिको तुलना गर्ने अवसर भयो। लुकाइछिपाई केही छैन । हिजोकै दिनमा कमाइसकेको रहेछ, गलत गरिसकेको रहेछ भनेर व्याख्या गर्नु गलत हुन्छ। कोही भन्छन्– ‘भोलि देखाउनका लागि आज धेरै देखाएको’ भन्ने सोच पनि गलत छ। आज जे देखाएको छ, त्यसको स्रोत पुष्टि गर्नुपर्ने बेला आयो भने सुन किन्दाको बिल आजको हो, भोलिको होइन । बैंक ब्यालेन्स आजको मितिसम्मको हो । भोलि देखाउनका लागि अहिले नभएको पैसा बैंकमा राख्न मिल्दैन । विपक्षीले यस्तो आलोचना गर्नु स्वाभाविक पाटो हो तर आलोचना हुनु उचित होइन । नेपाली युवाहरूले आफ्नो सम्पत्ति देखाउँदा ३० करोड, १५–१६ करोड फरक छ । हिजो उहाँहरूसँगको सम्पत्ति सामान्य थियो तर महँगीले गर्दा हिजो १० हजार तोला किनेको सुन आज तीन लाख पुगेको छ। त्यसरी बढेको सम्पत्तिलाई गलत ढंगले कमायो भन्नु गलत हुन्छ । नेपालमा सार्वजनिक पद धारण गर्ने धेरै भ्रष्ट भए तर आम्दानीको स्रोत देखिँदैन । त्यसले गर्दा नागरिकमा ‘यसले पनि भ्रष्टाचार गरेको होला’ भन्ने भ्रम फैलाउन सजिलो परिस्थिति बनेको छ। भ्रष्टाचार नियन्त्रण भएपछि यो परिस्थितिको अन्त्य हुन्छ ।
विगतमा बलिया सरकार पनि लामो समय टिकेनन्। यो सरकार पूरा अवधि जान्छ भन्नेमा विश्वस्त हुनुहुन्छ?
हामीले के भनेका छौं भने हाम्रो सफलतालाई दिगो रूपमा लैजान पुराना दलहरूको असफलतालाई शिक्षाको रूपमा लिनुपर्छ। नेपाली कांग्रेसको बहुमत हुँदै गिरिजाप्रसाद कोइरालाको सरकार ढल्यो, प्रचण्डको बहुमतको सरकार ढल्यो, केपी ओलीको दुईतिहाइ सरकार ढल्यो । ती किन ढले? त्यो कारण बुझेर, शिक्षा लिएर सरकार चलाउनुपर्छ । मलाई विश्वास छ– राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार पाँच वर्ष पूरा काल देशको नेतृत्व गर्छ र त्यसले गरेको कामले पटक–पटक नेतृत्वको अवसर पाउँछ । प्रधानमन्त्री बालेन्द्र शाहले पाँच वर्षै चलाउनुहुन्छ। उहाँले जनताको विश्वास घुम्ने कुनै काम गर्नु हुन्न।
यो सरकारले कुनै कस्तो काम गरे जनता एकदमै विश्वास गर्लान्?
जनतासँग मत माग्दा उनीहरूले तीन–चार वटा कुरा उठाएका छन् । ती गरे भने सरकारले पूरा काल बिताउँछ र फेरि अवसर पाउँछ । जनताको ठुलो असन्तुष्टि के छ भने देश बनेन, बेरोजगारी सिर्जना भयो, सडक, स्वास्थ्य, शिक्षा बनेन । किन बनेन ? भ्रष्टाचारले बनेन । त्यसैले सरकारले भ्रष्टाचार नियन्त्रण गर्ने र हिजोका भ्रष्टाचारलाई कारबाहीको दायरामा ल्याउने काम ग¥यो भने जनताको विश्वासनीयता धेरै माथि पुग्छ।
तपाईं प्रहरीभित्र काम गर्नुभयो, नेतृत्वसम्म पुग्ने अपेक्षा थियो तर पुग्न दिइएन, अदालतसम्म जानुभयो। त्यो कुरालाई अहिले कसरी सम्झिनुहुन्छ?
हिजोको दिनमा भएको भ्रष्ट चरित्रको कारण म पनि पीडित भएको छु । त्यो सिस्टमले मलाई पीडित बनायो र संस्थाहरू बन्न दिइएन । भ्रष्ट आचरण, कुशासनका कारणले यो स्थिति सिर्जना भयो । जो–जो जिम्मेवारीमा गए, उहाँहरूको भ्रष्ट चरित्रकै कारण आज उहाँहरू बढ्न सक्नुभएको छैन।
गत भदौको जनआन्दोलनमा प्रहरीमाथि नराम्रो आक्रमण भयो। प्रहरी संगठनलाई कसरी अगाडि बढाउने योजना छ?
संगठन ठिक ढंगले काम गर्न नसक्नुको पछाडि दुई–चार वटा कारण छन् । हामीसँग साधन–स्रोतको कमी छ भन्नु एउटा पाटो हो । त्योभन्दा ठुलो पाटो अवसरको प्राप्तिमा समानता छैन । राजनीतिज्ञले प्रहरीलाई आफ्नो वरिपरि घुमाउँदा, अगाडि–पछाडि हिँडाउँदा आफूलाई मान र सान सम्झे। त्यो राजनीतिक चरित्रले प्रहरीको सेवामा ठुलो प्रभाव पा¥यो। सुरक्षा निकायको जुन आदर्श, मूल्य र मान्यता हुनुपर्छ, त्यसमा क्षति भयो । अबको दिनमा कुनै पनि सेवा, प्रहरी मात्र होइन, वृद्धि, विकास र अवसरको खोजीमा कुनै व्यक्तिलाई हेर्नुहुँदैन । सिस्टमलाई हेर्नुपर्छ । त्यो सिस्टम नबन्दा म पीडित भएँ । त्यो पीडाले आज राजनीतिमा प्रवेश गरेको छु।
तपाईंलाई प्रहरी महानिरीक्षक हुन नदिने को हुन्?
नाम नलिऊँ तर एउटा सर्कल छ– बिचौलियाको सर्कल। प्रत्यक्ष जिम्मेवारीको हिसाबले एउटा प्रधानमन्त्रीले ‘मेरो श्रीमान्, परिवार, छोरा, साला, व्यापारीको प्रेसरले गर्न सकिनँ’ भन्न मिल्छ? मसँग नभने पनि अनौपचारिक रूपमा मसँग आयो। म किन बन्न सकिनँ? स्वाभाविक आधारमा नबन्नु परेको भए सायद म कोर्ट जाँदिनथेँ तर १७ महिना सिनियर हुँदै अदालत गएँ। अदालतमा पनि यति ठुलो अन्याय हुन्छ भन्ने विश्वास थिएन। म पाँच वर्ष अदालतमा काम गरेको मान्छे। त्यतिबेला न्यायाधीशहरूलाई न्यायमूर्ति नै ठान्थेँ, पूजा गर्नलायक तर मेरो मुद्दा फैसला गर्ने बेलामा जुन फैसला भयो, त्यो कसैले पचाउँदैन। त्यो अदालतको विश्वसनीयतालाई नोक्सान पुर्याउने कुरा हो।
प्रहरी महानिरीक्षक बन्न ठुलो पैसाको माग गरिएको थियो कति थियो?
मैले पटक–पटक भनिसकेको छु । अनौपचारिक रूपमा आएको सात करोड थियो । सात करोड भएको भए आइजिपी हुन्थेँ होला तर अहिले सांसद हुन्नथे। कहिलेकाहीं नराम्रो चिजले राम्रो चिज प्राप्ति गर्न मद्दत गर्छ । आज म जसबाट अन्यायमा परेको छु, उनीहरूविरुद्ध राज्यले सम्पत्ति शुद्धीकरण अनुसन्धान सुरु गरेको छ । अनुसन्धानमा मलाई सोध्न आए म भनिदिन्छु । जानकारीमा आएको कुरा हो तर त्यो कारोबारमा परिणत भएन, भाषामा मात्र रह्यो। यसले चरित्र बुझ्न मद्दत गर्छ । हिजो प्रणाली कस्तो थियो, त्यसमा रहनेहरूको चरित्र कस्तो थियो भन्ने बुझ्न आधार बन्छ।
अन्त्यमा, यो सरकार, संसद् आमनेपालीको हो भनेर कसरी ढुक्क बनाउनुहुन्छ?
म भन्छु - आमनेपालीको हो किनभने मत माग्दा पार्टीले जनतासामु जे प्रतिबद्धता व्यक्त गरिएको छ, त्यसमा नचुकी काम गरिरहेको छ। कुनै दिन चुकेछ भने तपाईंहरूले औंला ठड्याउनुहोला। हाम्रो प्रयासमा इमानदारी छ। कुनै लोभ, डर, त्रासमा नपरी इमानदारीपूर्वक काम गरेसम्म तपाईंहरूले यसलाई आफ्नो ठान्नुस्। देश जसले बनाए पनि हामी नेपाली खुसी हुन्छौं। हिजो पुराना दललाई मौका दियौं, उहाँहरूप्रति विश्वास गुम्यो। अब नयाँ अवसर राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिनुभएको छ। हाम्रो नेतृत्वले जनताको पक्षमा काम गरेसम्म ‘यो हाम्रो सरकार हो’ भन्ने सोचेर सहयोग गर्नुहोस्। अब यसपटक देश बनेन भने धेरै वर्षसम्म राजनीतिज्ञप्रति वितृष्णा रहनेछ। त्यसैले यसपटक बनाउनैपर्छ। जनताको आशा, विश्वास र भरोसा तोड्न मिल्दैन। तोड्ने प्रयास भयो भने जनताले सजाय दिन्छन्।






-1698832414.jpg)
९ बैशाख , २,०८३