नोटिफाई नेपालLoading...



‘गडजिला’का दुई चलचित्रमा अभिनय गरेर चर्चामा आएकी बहिरा अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन भएको छ। स्थानीय समयअनुसार मंगलबार बिहान अमेरिकाको मेरील्याण्डमा भएको दुर्घटनामा १८ वर्षकी उनको ज्यान गएको हो।
बिहान ३ बजेअघि इजाम्सभिलमा कार सडकबाट खसेर कल्भर्टमा ठोक्किँदा उनी कारमा सवार दुई यात्रुमध्ये एक थिइन्। फ्रेडरिक काउन्टी शेरिफको कार्यालयका अनुसार चालकलाई स्थानीय अस्पताल लगिएको थियो भने अर्का यात्रुले उपचार लिन अस्वीकार गरेका थिए। अत्यधिक गति नै दुर्घटनाको मुख्य कारण रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ। तर, घटनाको पूर्ण अनुसन्धान भइरहेको छ।
हटल अमेरिकी सांकेतिक भाषा (एएसएल) की मातृभाषी थिइन्। उनका परिवारका अन्य सदस्यहरू पनि बहिरा छन्। उनको निधनपछि आमाबाबुले सामाजिक सञ्जालमार्फत भावुक भिडियो सन्देश साझा गरेका छन्।
‘केलीकी आमा र चार जना भाइबहिनीहरू शोकाकुल छन्,’ बुबाले विमानस्थलबाट पोस्ट गर्दै सांकेतिक भाषामै भने, ‘तिनीहरू घरमा सँगै छन् र शोक मनाइरहेका छन्। म केलीको शव घर फिर्ता ल्याउन मेरील्याण्ड जाँदैछु।’
दुर्घटनास्थलबाट अस्पताल लैजाँदै गर्दा हटलको मुटु रोकिएको थियो। बुबाले भने, ‘हामीले सँगै बिताएका १८ वर्षका लागि हामी धेरै आभारी छौं। तर हामीसँग अझै धेरै समय भएको भए हुन्थ्यो।’
उनका बुबाले चालकसँग पनि सम्पर्क गरेका थिए। शेरिफ कार्यालयले चालकलाई १९ वर्षीय फ्रेडरिक काउन्टीका युवकको रूपमा पहिचान गरेको छ। बुबाले चालकलाई भने, ‘मैले तिमीलाई माफ गरिसकेको छु। यो घटनाले तिम्रो बाँकी जीवन बर्बाद नपार।’
‘मलाई अझै पनि लाग्छ कि केली हामीसँगै छिन्,’ उनकी आमाले सांकेतिक भाषामार्फत भावुक हुँदै भनिन्।
केली हटलले ‘गडजिला भर्सेस कङ’ र यसको सिक्वेल ‘गडजिला एक्स कङ: द न्यू एम्पायर’ मा जिया नामकी अनाथ केटीको भूमिका निर्वाह गरेकी थिइन्। उनको चरित्रले कङसँग विशेष सम्बन्ध बनाउँदै सांकेतिक भाषा प्रयोग गरेर कुराकानी गर्थिन्।
यो खबर सुनेपछि उनको ‘गडजिला’ सह-कलाकार मिली बबी ब्राउनले इन्स्टाग्राममा लेखिन्, ‘यो सुनेर म धेरै निराश भएँ। केली, तिमीलाई धेरै याद आउनेछ।’
सन् २०२१ मा पप संस्कृति वेबसाइटसँगको कुराकानीमा सह-कलाकार अलेक्ज्याण्डर स्कार्सगार्डले केलीको व्यावसायिकता र निर्देशन छिटो आत्मसात् गर्ने क्षमताको प्रशंसा गरेका थिए। सन् २०२४ मा एसोसिएटेड प्रेससँगको अन्तर्वार्तामा हटलले ‘गडजिला’ मा काम गर्नुअघि राक्षस चलचित्रहरू नहेरेको र बुबाले यो विधा बुझ्न सहयोग गरेको बताएकी थिइन्।
उनी भन्थिन्, ‘म धेरै मानिसलाई सम्मान गर्छु, तर सबैभन्दा धेरै सम्मान मेरो आमाबाबु र दिदीबहिनीलाई गर्छु।’
पहिलो फिल्मपछि आफ्नो सामान्य जीवनमा फर्कन सकिन्छ कि भनेर उनी अलिकति चिन्तित पनि थिइन्। ‘मानिसहरूले मलाई स्कुलमा चिन्थे, तर यो मैले सोचेको जस्तो खराब छैन,’ उनले भनेकी थिइन्।
हटल यसअघि सन् २०२१ को ‘म्याग्नम पीआई’ टेलिभिजन एपिसोडमा पनि देखिएकी थिइन्। उनी आगामी फिल्म ‘ह्वाट डजन्ट किल अस’ मा पनि अभिनय गर्ने तयारीमा थिइन्।
बहिरा अभिनेत्री अलाक्वा कोक्सले इन्स्टाग्राममा लेखिन्, ‘म धेरै दुखी छु। यो अकल्पनीय समयमा मेरो मन उनको परिवारसँग छ।’
ओस्कर विजेता मार्ली म्याटलिनले लेखिन्, ‘प्यारी केली हटलको निधनले म अत्यन्त मर्माहत छु। उनको सुन्दरता र प्रतिभा सधैं स्मरणीय रहोस्।’
‘कोडा’ फिल्मका ओस्कर विजेता ट्रोय कोट्सुरले पनि हटलको मृत्युले आफ्नै छोरीको याद दिलाएको बताएका छन्।
अस्टिनको टेक्सास स्कूल फर द डेफका अधिकारीहरूले फेसबुकमार्फत हटलको निधनको घोषणा गर्दै सहपाठी र साथीहरूका लागि परामर्श तथा समर्थन सेवा उपलब्ध रहेको जानकारी दिएका छन्। एपी

.jpg)



-1781786010.jpg)


६ श्रावण , २,०८३