नोटिफाई नेपालLoading...



उदयपुरमा मंगलबार भएका दुई अलग आगलागीमा परेर दुई जनाको ज्यान गएको छ। उदयपुरको उदयपुरगढीमा राति आगलागी हुँदा २ जना घाइते भएका छन्।
उदयपुरगढी ८ को चुरुम्फास्थित साबित्रा मगरको घरमा मंगलबार राति ८:४० बजे आगलागी हुँदा उनीसहित २ महिला घाइते भएका हुन्।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार सावित्रा स्वयंले घरमा सल्काएको बिँडी (घरेलु चुरोट) ले बच्चाले खेल्ने क्रममा पोखिएको तारपिन तेलमा सल्किएर आगलागी भएको हो। सो आगोले ४० वर्षीया सावित्राका दुवै हात खुट्टा तथा कम्मरभन्दा पछाडिको भाग जलेर गम्भीर घाइते भएकी छिन्। उनको शरीरमा लागेको आगो निभाउन गएकी छिमेकी ४१ वर्षीया विष्णु मगरको पनि दुवै हात र खुट्टामा आगोले जलेको छ।
सावित्राको शरीरको ४० प्रतिशत भाग जलेको छ भने विष्णुको शरीरको १० प्रतिशत भागमा आगोले पोलेको प्रहरीको भनाइ छ। घटनाबारे सूचना प्राप्त भए अनुसार अस्थायी प्रहरी पोस्ट नेपालटारबाट खटिएको टोलीले घाइतेहरूको उद्धार गरी उपचारार्थ जिल्ला अस्पताल ल्याइएको थियो। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी चिरञ्जीवी थापाले जानकारी दिए।
उता मंगलबार बिहान ३:३० बजे चौदण्डीगढी नगरपालिका ७ बेलटार बजारस्थित बैंक लाइनको एक घरमा आगलागी हुँदा नाति बाजेको मृत्यु भएको थियो। सो घटनामा एक महिला घाइते भएकी थिइन्। २ तले कच्ची घरको माथिल्लो तलामा सुतिरहेका बेला भुइँतलामा सल्केको आगोले घरधनी ७० वर्षीय लक्ष्मीनारायण खड्का र उनकै नाति ३० वर्षीय पवन खड्काको ज्यान लिएको प्रहरीले जनाएको छ।
आगो लागिरहेका बेला ब्युँझेका लक्ष्मीका छोरा ३६ वर्षीय पदम र उनकी श्रीमती तथा छोरी भने हाम फालेर बाँच्न सफल भए। भर्याङ जलिसकेकाले ज्यान बचाउन बरण्डाबाट हाम फाल्दा ३० वर्षीया पदम पत्नी अस्मिता खड्काको एउटा खुट्टा भाँचिएको छ। उनको स्थानीय चौदण्डीगढी नगर अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बेलटारले जनाएको छ। वृद्ध बुवा र शाररिक रुपमा असक्त पवन भने भाग्न नपाएका कारण जल्न पुगेको प्रहरीको अनुमान छ।
साथै, आगलागीबाट खड्का परिवारका २ वटा खसी जलेर मरेका छन् भने आगो निभाउन सहयोग गर्दा छिमेकी चन्दन साहको खुट्टाको गोलीगाँठोमा घाउ भएको छ। त्यसै गरी भुइँतलामा रहेका हेम परियारको टेलर पसल, मित्र थापाको स्टेसनरी, मैया पौडेलको चटपटे र किराना पसलमा क्षति पुगेको छ।
खड्का परिवारमा २ जनाको मानवीय क्षतिबाहेक घर र घरभित्र रहेका सम्पूर्ण मालसामान जलेर ३१ लाख बराबरको क्षति भएको छ। सबै गरी ६३ लाख बराबरको धनमाल आगोले नष्ट गरेको प्रहरी भनाइ छ।






-1698832414.jpg)
९ बैशाख , २,०८३