नोटिफाई नेपालLoading...



अब पालो महिला फुटबलको। किनकी आगामी वर्ष फिफा महिला विश्वकप ब्राजिलमा हुँदै छ। उत्तरी अमेरिकी राष्ट्रमा सोमबार नै फिफा विश्वकप (पुरुष) सम्पन्न भएको छ। यसलगत्तै फिफा महिला विश्वकपमा जुट्दैछ।
पुरुष विश्वकपमा स्पेनले उपाधि जितेसँगै अबको ध्यान अर्को वर्ष ब्राजिलमा हुने महिला विश्वकपतर्फ मोडिएको छ। तीन वर्षअघि महिला विश्वकपको च्याम्पियन पनि स्पेन नै थियो। पुरुषमा पनि स्पेनले सो सफलता दिलायो। फिफा वरीयताको शीर्ष स्थानमा रहेको स्पेनले सन् २०२३ को महिला विश्वकपको फाइनलमा सिड्नीमा इङ्ल्यान्डलाई १–० ले हराउँदै उपाधि जितेको हो।
अमेरिकामा सोमबार राती स्पेनको पुरुष टोली भने अर्जेन्टिनालाई १–० ले नै हराउँदै दोस्रोपल्ट विश्व च्याम्पियन भयो। स्पेनको महिला बालोन डिओर विजेता आइताना बोनमती र अलेक्सिया पुटेलाससँगै युवा स्टार साल्मा पारायुएलो पनि थिइन्। पुरुष विश्वकपको फाइनलपछि टेलिभिजन अन्तर्वार्तामा स्पेनका स्टार मिडफिल्डर रोड्रीले बोनमतीको खुलेर प्रशंसा गरे।
‘उनको स्तरसम्म पुग्न प्रयास गरिरहेको छु,’रोड्रीले भने। सन् २०२३ को विश्वकप अमेरिकाका लागि भने सुखद रहेन। स्विडेनसँग अन्तिम १६ मा स्तब्ध हुँदै अमेरिका विश्वकपबाट बाहिरिएको थियो। यद्यपि अमेरिकाले अहिलेसम्म चारपल्ट महिला विश्वकपको उपाधि जितिसकेको छ। अमेरिका विश्व वरीयताको दोस्रो स्थानमा छ।
अमेरिकाले अक्टोबरमा स्पेनसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ। यी खेलहरू नोभेम्बरको अन्त्यतिर टेक्सासमा सुरु हुने कन्काकाफ विश्वकप छनोटको तयारीका रूपमा रहनेछन्। स्पेनविरुद्ध यी खेलले अर्को वर्ष ब्राजिलमा हुने विश्वकपमा दुवै टोली कस्तो देखिन सक्छन् भन्ने झलक पनि दिने अपेक्षा गरिएको छ।
‘छनोटअघि यस्तो तयारी गर्न पाउँदा उत्साहित छौं। किनकी स्पेन उत्कृष्ट टोली हो। त्यसैले यो टोलीसँग खेल्न पाउनु राम्रो अवसर हुनेछ। च्याम्पियन्स लिगमा स्पेनका खेलाडीहरूविरुद्ध खेलेकी छु। उनीहरू उत्कृष्ट खेलाडी छन्,’ अमेरिकी मिडफिल्डर लिली योहान्सले भनिन्।
महिला विश्वकप छनोट तीव्र गतिमा अघि बढिरहेको छ। आगामी विश्वकपका लागि १४ राष्ट्रले स्थान सुरक्षित गरिसकेका छन्। आयोजक राष्ट्रका रूपमा ब्राजिल स्वत् छनोट भइसकेको छ। तर ब्राजिलले अहिलेसम्म महिला विश्वकप जित्न सकेको छैन। ब्राजिल महिला विश्वकप आयोजनाको लेगेसी एन्ड स्टेकहोल्डर अफेयर्सकी कार्यकारी निर्देशक तथा ब्राजिलकी पूर्वडिफेन्डर एलिने पेलेग्रिनोले महिला र पुरुष दुवै टोलीले अहिले समान अवसर पाउने गरेको बताइन्।
‘केही समयअघि पुरुष र महिलाले समान अवसर पाउँदैनथे। अहिले परिवर्तन भइरहेको छ। यो विश्वकपमा परिवर्तनलाई वास्तविक रूपमा अघि बढाउने सम्भावना छ,’उनले भनिन्। फिफा, ब्राजिलको संघीय सरकार र आयोजक सहरहरूले रंगशाला भरिभराउ बनाउन र प्रतियोगिता सफलतापूर्वक सञ्चालन गर्न निकै मेहनत गरिरहेको छ।
ब्राजिलको सबैभन्दा ठूलो चासो भने अनुभवी कप्तान मार्टाको अवस्थालाई लिएर छ। उनी ब्राजिलकी सर्वाधिक (१२२ गोल) गोलकर्ता हुन्। पेरिस ओलम्पिकको स्वर्ण पदक खेलमा अमेरिकासँग १–० ले पराजित भएपछि मार्टाले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएकी थिइन्। तर त्यसको अर्को वर्ष उनी कोपा अमेरिका फेमेनिनाका लागि राष्ट्रिय टोलीमा फर्किइन्।
ब्राजिलमा विश्वकप आयोजना हुँदा उनी ४१ वर्षकी हुनेछिन्। अमेरिकाले जुनमा ब्राजिल भ्रमण गरेर दुई खेल खेलेको थियो। साओ पाउलोमा भएको पहिलो खेलमा अमेरिका २–१ ले पराजित भयो। फोर्टालेजामा भएको दोस्रो खेल अमेरिकाले १–० ले जित्यो। अमेरिकी प्रशिक्षक एम्मा हेजले शत्रुतापूर्ण वातावरणमा टोलीले अव्यवस्थित क्षणहरूलाई पनि आत्मसात गर्न सिक्नुपर्ने बताएकी थिइन्।
कुनकुन राष्ट्र छनोट भए?
अहिलेसम्म अस्ट्रेलिया, फिलिपिन्स, जापान, उत्तर कोरिया, चीन, दक्षिण कोरिया, अर्जेन्टिना, कोलम्बिया, न्युजिल्यान्ड, जर्मनी, फ्रान्स, स्पेन र डेनमार्कले महिला विश्वकपमा स्थान सुरक्षित गरिसकेका छन्।
सन् २००३ र २०११ को विश्व च्याम्पियन जर्मनी हाल विश्व वरीयताको तेस्रो स्थानमा रहेको टोली हो। ब्राजिलले यसअघि सन् २०१४ मा पुरुष विश्वकप र २०१६ मा ओलम्पिक आयोजना गरिसकेको छ। अर्को वर्ष महिला विश्वकपका खेल हुने सबै आठ सहर रियो डी जेनेरियो, साओ पाउलो, बेलो होरिजोन्टे, ब्रासिलिया, फोर्टालेजा, पोर्टो आलेग्रे, रेसिफे र साल्भाडोरले सन् २०१४ को पुरुष विश्वकपका खेलहरू पनि आयोजना गरेका थिए।
अर्को वर्षको महिला विश्वकप ३२ टोली सहभागी हुने अन्तिम संस्करण हुनेछ। त्यसपछि पुरुष विश्वकपजस्तै ४८ राष्ट्रमा विस्तार गरिनेछ। सन् २०३१ को महिला विश्वकप अमेरिका, मेक्सिको, कोस्टारिका र जमैकाले संयुक्त रूपमा आयोजना गर्ने अपेक्षा गरिएको छ। यसको औपचारिक घोषणा सम्भवत् नोभेम्बरमा हुनेछ।

.jpg)



-1781786010.jpg)


६ श्रावण , २,०८३