नोटिफाई नेपालLoading...



बजारमा अभाव हुँदै गएको क्यान्सरका अति आवश्यक औषधिहरू तुरुन्तै दुई देशबाट आयत गर्ने तयारी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
अहिले अप्ठेरो टार्न महँगै मूल्यमा भए पनि औषधी आयत गर्ने र बाँकी कानुनी समस्या मिलाउन प्रक्रिया अघि बढिरहेको स्वास्थ्य मन्त्री निशा महेताले बताइन्।
शुक्रबार नागरिकसँग भनिन् , ‘औषधि झिकाउनको लागि दुवै देशका कम्पनीहरूलाई पत्र तयार भइरहेको छ, छिट्टै आयत हुन्छ’। यी दुवै देशबाट पहिलादेखि नै आयत गर्दै आएको हुनाले सङ्कटको बखत बढी मूल्यमा भए पनि आयत गर्ने गरी अनुमति दिने तयारी भइरहेको मन्त्री मेहताले बताइन।
‘पहिला पनि भारतबाटै आयत हुन्थ्यो, यो बेला विशेष अनुरोध गरेरै भए पनि लिन्छौ’, उनले भनिन्।
अन्तर्राष्ट्रिय बजारमै उत्पादन कम भएर महँगी भएका अति आवश्यक औषधीहरू कार्वोपलाटिन र सिसपलाटिन लगायत किमोथेरापीमा मिश्रित हुने औषधीहरू नेपालले आयत गर्न नसकेपछि क्यान्सरका बिरामी समस्यामा परेका हुन्।
समस्या परेपछि कतिपय बिरामीले कालो बजारीमा औषधी खरिद गर्न बाध्य भएको स्थिति छ भने कतिपयले पाउनै नसकेको अस्पतालहरूले जनाएका छन्।
मन्त्री मेहताको अनुसार औषधीमा प्रयोग हुने कच्चा पदार्थको मूल्य नै अति महँगो परेपछि एकातिर उत्पादन नै कम भएको छ भने अर्कोतिर पहिलाको बजार मूल्य भन्दा महँगो बनेका छन्।
नेपालले भारत र बङ्गलादेशमा उत्पादन हुने यी औषधीहरू आयत गर्दै आएको थियो। अन्तर्राष्ट्रिय बजार मूल्य बढेपछि आयत कर्ताहरुले त्यो मूल्य भन्दा कम मूल्यमा खरिद तथा विक्री गर्न नसकेपछि सरकारसँग मूल्य समायोजनको माग राख्दै आएका थिए।
सरकारले २०७३ सालमा जारी गरेको मूल्य अनुसार यी औषधि राजपत्रमा प्रकाशित भई स्थिर मूल्यमा विक्री गर्नु पर्ने व्यवस्था छ।








२२ जेठ , २,०८३