नोटिफाई नेपालLoading...



अस्ट्रेलियाका पूर्व क्रिकेटर डेभिड वार्नरले मदिरा सेवन गरेपछि गाडी चलाएको आरोप स्वीकार गरेका छन्। अप्रिलमा सिड्नीमा गरिएको श्वास परीक्षण (ब्रेथ टेस्ट) पछि उनीविरुद्ध मुद्दा दर्ता गरिएको थियो।
बुधबार भएको अदालतको सुनुवाइमा वार्नरले आफ्नो गल्ती स्वीकार गरेका हुन्। उनका वकिल बबी हिलका अनुसार वार्नरले आफ्नो निर्णयलाई ‘मूर्खतापूर्ण’ र ‘लापरवाह’ भन्दै त्यसप्रति जिम्मेवारी लिएका छन्।
हिलका अनुसार वार्नरले इस्टर आइतबार साथीको अपार्टमेन्टमा तीन गिलास वाइन पिएपछि आफ्नै कार चलाउने निर्णय गरेका थिए। उनले उबर वा अन्य सुरक्षित विकल्प रोज्नुपर्नेमा त्यसो नगरेको स्वीकार गरेका छन्।
यस मुद्दाको सजाय अगस्ट १८ मा सुनाइनेछ। दोषी ठहर भए वार्नरले कम्तीमा छ महिनासम्म सवारी चलाउन नपाउने र ४२,२०० अस्ट्रेलियाली डलरसम्म जरिवाना वा अधिकतम नौ महिनासम्म जेल सजाय भोग्नुपर्ने सम्भावना रहेको छ।
सन् २०२४ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका वार्नर हाल पाकिस्तान सुपर लिग (पीएसएल) मा कराँची किंग्स र अस्ट्रेलियाको बिग ब्यास लिगमा सिड्नी थन्डरका कप्तानका रूपमा आबद्ध छन्।
आरोप सार्वजनिक भएपछि क्रिकेट एनएसडब्ल्यूका प्रमुख कार्यकारी ली जर्मोनले घटनालाई ‘चिन्ताजनक’ भन्दै संस्थाले यसलाई अत्यन्त गम्भीर रूपमा लिएको बताएका थिए।
उनले मदिरा सेवनपछि सवारी नचलाउन र सुरक्षित विकल्प अपनाउन सबैलाई आग्रह गरेका छन्।
अदालतमा वार्नरका वकिल हिलले भने, ‘वार्नरलाई आफूले गलत निर्णय गरेको थाहा छ। उबर लिन सक्ने अवस्थामा पनि आफ्नै कार चलाउनु लापरवाह र मूर्खतापूर्ण निर्णय थियो।’






.jpg)

६ श्रावण , २,०८३