नोटिफाई नेपालLoading...



नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले भारतीय बन्दरगाहबाट नेपालको विराटनगरसम्म सिधा कार्गो रेल सञ्चालनले कोशी प्रदेशका उद्योगी–व्यवसायीमा उत्साह थपेको बताएका छन्। मंगलबार विराटनगरमा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले आयोजना गरेको अन्तर्क्रियामा राउतले यस्तो बताएका हुन्।
‘भारत र चीनसँगको अन्तर्राष्ट्रिय व्यापारमा कोशी प्रदेशको सम्भावना एवं आईसीपीको पूर्वाधार विकासलगायत सुधारका क्षेत्रहरू’ विषयक अन्तर्क्रिया कार्यक्रममा उनले तेस्रो मुलुकसँग हुने आयात–निर्यातका लागि भारतीय रेल कार्गो नेपालका भन्सार विन्दुसम्म ल्याउने निजी क्षेत्रको लामो समयदेखिको माग सम्बोधन भएको बताए।
“कार्गो रेल सञ्चालनपछि ढुवानी लागत घट्ने, उद्योगीको उत्पादन लागत कम हुने, सामान सुरक्षित रूपमा भन्सार परिसरमै अनलोड गर्न सकिने तथा चोरी–क्षतिको सम्भावना न्यून हुने भएकाले निजी क्षेत्र उत्साहित भएको छ,” उनले भने।
तर, आईसीपीमा पर्याप्त गोदाम, क्रेन तथा अनलोडिङ उपकरणको अभाव रहेकाले सामान व्यवस्थापनमा ढिलाइ भई डेमरेज शुल्क तिर्नुपर्ने अवस्था आउन सक्ने उनको भनाइ थियो। रेलमार्फत ठूलो परिमाणमा सामान आउने भएकाले साना तथा मझौला व्यवसायी भने यो सुविधाबाट वञ्चित हुन सक्ने उनले बताए।
अध्यक्ष राउतले कोशी प्रदेश भारत, चीन, बंगलादेश र भुटानसँग जोडिने रणनीतिक प्रवेशद्वार भएकाले यसलाई ट्रान्जिट हबका रूपमा विकास गर्नुपर्नेमा जोड दिए। प्रदेशमा उत्पादित चिया, अलैंची, अदुवा, बेसारलगायत कृषिजन्य वस्तुको निर्यात प्रवर्द्धनका लागि ‘एक्स्पोर्ट हाउस’ स्थापना आवश्यक रहेको उनले बताए।
व्यापार सहजीकरणका लागि सरकारी निकायबीचको समन्वय सुदृढ गर्दै एकल विन्दु सेवा सञ्चालन गर्नुपर्ने, भन्सार नाकामा आधुनिक प्रयोगशाला र प्रविधिको विकास गर्नुपर्ने तथा बढ्दो व्यापार घाटा न्यूनीकरण गर्न आयात प्रतिस्थापनसँगै निर्यातमुखी उद्योग स्थापना गर्नुपर्नेमा उनले जोड दिए।
भन्सार सुधार तथा व्यापार सहजीकरणका विज्ञ श्याम दाहालले नेपाल–भारत, नेपाल–चीन र नेपाल–बंगलादेशबीचको पारवहन तथा व्यापार सम्झौताबारे जानकारी गराए। उनले व्यापार सहजीकरणका लागि भन्सार सुधार, निकासी–पैठारीमा गैरभन्सार अवरोध हटाउने, मालवस्तु एक स्थानबाट अर्को स्थानमा लैजाँदा अवरोध नहुने व्यवस्था तथा इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ सिस्टममार्फत ढुवानी गर्नुपर्ने विषयमा जोड दिए।
उनले भन्सार विन्दुमा भौतिक पूर्वाधार सुधार आवश्यक रहेको बताए। पूर्वसहसचिव रविशंकर सैंजुले इलेक्ट्रोनिक ट्र्याकिङ सिस्टमबाट लिन सकिने फाइदा तथा नेपाल, भारत, बंगलादेश र चीनसँग भएका सन्धि–सम्झौताका प्रावधानबारे जानकारी गराएका थिए।
विराटनगर भन्सार कार्यालयका प्रमुख उमेश श्रेष्ठले भन्सारबाट प्रदान गरिने सेवामा व्यवसायीलाई कुनै झन्झट नहुने गरी समयमै सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिए।
कार्यक्रममा नेपाल उद्योग परिसंघ कोशीका अध्यक्ष पवनकुमार सारडा, उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठी, मोरङ उद्योग व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनिल साह, नेपाल–भारत उद्योग वाणिज्य संघका अध्यक्ष मुकेश उपाध्याय, विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष देवकीनन्दन शर्मालगायतले आर्थिक गतिविधि बढाउन, कोशी प्रदेशको सम्भावना उपयोग गर्न तथा कार्गो रेल र व्यापार सहजीकरणमार्फत निर्यात प्रवर्द्धन गर्न सरकारको सहयोग आवश्यक रहेको बताए।
.jpg)




-1781786010.jpg)



६ श्रावण , २,०८३