नोटिफाई नेपालLoading...



क्यान्सर उपचारमा अत्यावश्यक मानिने ‘कार्बोप्लाटिन’ र ‘सिसप्लाटिन’ औषधीको पुनः अभाव भएको छ। बजारमा औषधी अभाव देखिएपछि बिरामी मर्कामा पर्दै आएको क्यान्सर उपचारमा संलग्न अस्पतालहरूले जनाएका छन्।
बजारमा सहज पाउन छाडेपछि बिरामीका आफन्तलाई औषधी खोज्न धेरै ठाउँमा भौंतारिनुपरेको भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा. उज्ज्वल चालिसेले बताए। उनका अनुसार बिरामीले थुपै्र ठाउँ चाहारेपछि मात्र महँगो मूल्यमा औषधी पाएका छन्। अस्पतालका फार्मेसीहरूमा अभाव भएपछि उनीहरूले अन्यत्र खोजी गर्नुपरेको हो। ‘बल्लतल्ल खोजेर ल्याएका छन्, त्यो पनि महँगो मूल्यमा’, उनले भने।
औषधी व्यवस्था विभागले व्यवस्था गरेको सीमित औषधी केही दिनमै सकिने वीर अस्पताल क्यान्सर विभागका प्रमुख डा. विवेक आचार्यले जानकारी दिए। उनले भने, ‘औषधी सकिन लागेको छ। केही दिनका लागि राहत भएथ्यो, फेरि अभाव हुन थाल्यो’, उनले भने।
बीचमा हाल सहज बने पनि केही दिनमै अभाव देखिने नेपाल क्यान्सर अस्पतालका निर्देशक डा. सुदिप श्रेष्ठले बताए। अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेपछि नेपाली बजारमा नियमित आयात हुन नसकेसँगै किमोथेरापीमा प्रयोग हुने कार्बोप्लाटिन र सिसप्लाटिन औषधी दुई सातादेखि बजारमा अभाव हुन थालेको हो। किमोथेरापीमा प्रयोग भइरहेका यी औषधी क्यान्सर उपचारमा प्रभावसिद्ध मानिन्छन्।
कतिपय बिरामीका आफन्त कालोबजारीमा औषधी किन्न बाध्य हुनुपरेको र कम गुणस्तरको समेत हुने जोखिम बढेको नेपाल औषधी आयात संघका अध्यक्ष पवन आचार्यले बताए। ‘पाउन त पाइएको छ तर अति महँगो छ। गुणस्तरको पनि सुनिश्चितता छैन’, उनले भने। दुई सातादेखि औषधी अभाव भएपछि औषधी व्यवस्था विभागले भण्डारण भएका औषधी संकलन र अनुगमन गरी बिरामीलाई वितरण गर्दै आएको थियो।
बजारमा भण्डारण गरिएका औषधीसमेत बिक्री वितरण भएपछि पूरै अभाव भएको औषधी आयात संघका अध्यक्ष आचार्यले बताए। ‘औषधी आयातकर्तासँग भएको औषधी एक सातामै १२ सय भाइल बिक्री भयो। अब बजारमा छैन’, उनले भने।
प्रति वर्ष २४ हजार भाइल आयात हुन्छ । बिरामीलाई आयात संघले सकेसम्म पुर्जाका आधारमा मात्र बिक्री वितरण गरेको थियो । ‘होलसेलका औषधीसमेत खोजी गरी संघले बिरामीलाई उपलब्ध गराउँदै आएको हो, अब होलसेलमा पनि औषधी छैन’, उनले भने।
औषधी अन्तर्राष्ट्रिय बजारमै महँगिएको औषधी आयात कम्पनीहरूले जनाएका छन्। अन्तर्राष्ट्रिय बजारमा महँगिएपछि नेपालमा मूल्य समायोजन समस्याले औषधी अभाव भएको सरोकारवालाले जनाएका छन्। यी औषधीको मूल्य २०७३ सालमै नेपाल सरकारले राजपत्रमा स्थिर मूल्य राखी प्रकाशन गरेपछि बढी मूल्यमा आयात तथा बिक्री गर्न मिल्दैन। अबको स्थितिमा सरकारले राजपत्रमै फुकुवा नगरेसम्म औषधीको मूल्य समायोजन मिल्दैन। एकातिर अन्तर्राष्ट्रिय बजारमा यी औषधी कम उत्पादन भएको र अर्कातिर मूल्य समायोजनमा भएको बाधाले बिरामी मर्कामा पर्ने देखिएको सरोकारवाला बताउँछन्।
राजपत्रमा भएको व्यवस्थामा परिवर्तन नगरेसम्म उपाय नभएपछि सार्क फेडरेसन अफ अन्कोलोजी नेपालले औषधी व्यवस्था विभागलाई दुई साताअघि नै पत्र पठाएको थियो, तर सरकारले सबै निकायले गरेको अनुरोध दुई सातासम्म सम्बोधन गर्न नसकेपछि समस्या बढेको उनीहरूले गुनासो गरेका छन्। ‘हामीले पत्र पठाएका हौं, सरकारले अहिलेसम्म केही गर्न सकेको छैन’, सार्क फेडरेसन अफ अन्कोलोजी नेपालकी अध्यक्ष डा. सन्ध्या चापागाईले भनिन्।
सरकारले क्यान्सरजस्तो संवेदनशील मूल्यमा समयमै ध्यान नदिँदा बिरामी मर्कामा पर्ने नेपाल औषधी आयात संघका अध्यक्ष आचार्यले बताए। ‘अति आवश्यक औषधीलाई सोही रूपमा तुरुन्त निकासा दिनुपर्ने हो, मन्त्रीले काम हुँदै छ भन्नुहुन्छ तर दुई साता बितिसक्यो’, उनले भने।
स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले सम्बन्धित पक्षसँग बसेर छलफल गरेको र निकास दिने प्रयास भइरहेको जनाएको छ। बुधबार औषधी व्यवस्था विभाग र स्वास्थ्य मन्त्रालयबिच छलफल भएको थियो। ‘केके गर्ने भन्नेबारेमा सबैसँग छलफल भइरहेको छ’, स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले भने। औषधी व्यवस्था विभागले पनि मन्त्रालयसँग छलफल भइरहेको बताएको छ। औषधी आयात संघले स्वचालित मूल्य समायोजन हुने व्यवस्था गरेमा बिरामी र आयातकर्ता दुवैलाई सहज हुने माग राखेको छ। स्वचालित मूल्य समायोजनको सिद्धान्तअनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि हुँदा नेपाली बजारमा पनि मूल्यवृद्धि हुने र मूल्य घट्दा नेपालमा पनि स्वतः घट्न जान्छ।
भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क मुख क्यान्सर शिविर
भक्तपुर क्यान्सर अस्पतालले मुखको क्यान्सर जोखिम समूहका लागि निःशुल्क परीक्षण क्लिनिक सुरु गरेको छ, तर बिरामी भने औंलामा गन्ने मात्र आएको अस्पतालले जनाएको छ। अस्पतालले विश्व सुर्तीजन्य पदार्थरहित दिवसका अवसरमा आइतबारदेखि शुक्रबारसम्म निःशुल्क मुखको क्यान्सर परीक्षण शिविर सञ्चालन गरेको हो, तर बिरामी भने अति न्यून आएको अस्पतालका निर्देशक डा. उज्ज्वल चालिसेले जानकारी दिए। ‘पाँच दिनसम्ममा दश÷पन्ध्र जना मात्र आएका छन्’, उनले भने।
दिवसका अवसरमा अस्पतालले मुखमा हुन सक्ने क्यान्सरको निःशुल्क परीक्षण गर्ने, सुर्ती सेवन गर्नेलाई सुर्ती छाड्नका लागि परामर्श दिनेजस्ता सेवा प्रदान गरिरहेको छ। समाजमा सुर्ती सेवन गर्ने थुपै्र मानिस भए पनि थाहा नपाएर या बेवास्ता गरेर ढिला आएको हुन सक्ने डा. चालिसेले बताए। थप एक दिन बाँकी रहेकाले जोखिम समूहलाई स्वास्थ्य परीक्षणका लागि आउन अनुरोध गरेका छन्। ‘धेरै लामो समय सुर्ती सेवन गरेकालाई मुख तथा घाँटीको क्यान्सरको जोखिम हुन्छ, समयमै परीक्षण गरेमा उपचार हुन्छ’, उनले भने। यसका साथै सुर्ती छाड्नका लागि आवश्यक परामर्श र उपायसमेत प्रदान गरिरहेको उनले जानकारी दिए। शिविर शुक्रबारसम्म चल्ने छ।








२२ जेठ , २,०८३