नोटिफाई नेपालLoading...



एक समय चितवनको राप्ती नगरपालिका–३ स्थित किरण ओलीको खोरमा डेढ लाख लेयर्स कुखुरा थिए। अहिले त्यही खोर रित्तो छ। १७ वर्षअघि पाँच हजार कुखुराबाट सुरु गरेको व्यवसायलाई निरन्तर विस्तार गर्दै सफल किसानको परिचय बनाएका ओली तीन वर्षदेखि यो व्यवसाय छाडेर बसेका छन्। उनी कुखुरापालन व्यवसायबाट घाटा भएपछि व्यवसाय छाड्न बाध्य भएका हुन्।
‘कुखुराका लागि क्लोज हाउस बनाउँछु भनेर बैंकबाट लोन लिएको थिएँ। त्यही बेला कुखुरा मरे। लोन थप गर्छु भनेको बैंकले दिएन,’ व्यवसाय छाड्नुको कारण बताउँदै उनले भने, ‘बैंकले आश्वासन दिएर रकम नदिँदा व्यवसाय नै छाड्नुपर्ने अवस्था आयो।’
उनले २०६६ सालमा पाँच हजार कुखुराबाट व्यवसाय सुरु गरेका थिए। २०५१ सालमा आइपुग्दा उनको खोरमा डेढ लाख कुखुरा थिए। भरतपुर महानगरपालिका–१५ स्थित मंगलपुरका योगराज मिश्रको नाम पनि कुखुरा पालक किसानका रूपमा परिचित थियो। २०५१ सालबाट यस व्यवसायमा लागेका मिश्र २६ वर्षपछि व्यवसाय छाड्न बाध्य भए। कोरानोपछि व्यवसाय बन्द हुँदा गरिराखेको कुखुरा पालन व्यवसाय छाड्नुपरेको उनले बताए।
‘कोरोनाकालमा हामीसँग ५० हजार चल्ला थिए। ती सबै गाड्नुपर्यो,’ उनले भने ‘व्यवसाय नै धरापमा पर्दै गएपछि कुखुरा व्यवसाय नै छाडेर बसेको छु।’
६ हजार लेयर्स कुखुराबाट व्यवसाय सुरु मिश्रले व्यवसाय विस्तार गर्दै २०६८ सालमा ह्याचरी उद्योग खोलेका थिए। त्यो बेलासम्म उनको खोरमा व्यक्तिगत २० हजार लेयर्स कुखुरा थिए। मेघा ह्याचरी उद्योग दर्ता गरेर पार्टनरमा व्यवसाय गरेका उनीहरूले सातामा ५० हजारसम्म चल्ला निकाल्दै आएका थिए। उद्योगबाट पाँच करोड हाराहारीमा घाटा भएपछि व्यवसायबाट निस्कन बाध्य भएको उनले बताए।
‘डेढ बिघा जग्गा ल्याएर उद्योग सञ्चालन गरेका थियौं। हप्तामै ५० हजार हाराहारीमा चल्ला उत्पादन हुन्थ्यो। ३० हजार प्यारेन्ट ब्रोइलर थिए,’ उनले भने, ‘घाटा हुँदै गएपछि व्यवसाय नै बन्द गर्न पुग्यौं।’ उनका अनुसार अधिकांश व्यवसायी यस पेसाबाट पलायन भएका छन्। ‘बैंकको लोन मिलाउन नसक्नेहरू यस व्यवसायमा होलान्,’ उनले भने, ‘बैंकको ब्याजदर मिलाउन सक्नेहरू अधिकांश यस व्यवसायबाट बाहिर निस्किएका छन्।’
कुखुरा पालन व्यवसायी तारामणि घिमिरेले पनि बिस्तारै उत्पादन घटाउँदै लगेका छन्। ‘कुखुरा पालन व्यवसायमा लागेको २५ वर्ष भयो। सुरुमा दुई हजार ब्रोइलर राखेको थिएँ। बिस्तारै बढाउँदै लैजाँदा ६० हजारसम्म भए,’ उनले भने, ‘अहिले घटाउँदै १२ हजारमा झारेको छु।’
चितवनमा २०६० सालको दशकमा कुखुरा पालन व्यवसाय तीव्र रूपमा फस्टाएको थियो। त्यतिखेर टोलटोलमा कुखुराका खोर देखिन्थे। अहिले ती खोरमा कुखुरा छैनन्। कुखुरा व्यवसायी मञ्चका कार्यालय प्रमुख शिवप्रसाद घिमिरेका अनुसार कोरोनापछि कुखुरा पालन व्यवसायबाट अधिकांश किसानहरू बाहिरिएका छन्।
कोरोनाअगाडि नेपालमा साना ठुला गरेर २७ हजार ६८५ कुखुरा पालक व्यवसायी थिए। हिजोआज साढे १८ हजार वटा व्यावसायिक फार्म मात्र भएको उनले बताए। ‘नेपालमा ब्रोइलर कुखुरा पालन व्यवासय गर्ने किसान १८ हजार छन् भने लेयर्स फर्म २५० मात्र सञ्चालनमा छन्,’ उनले भने, ‘ह्याचरीको संख्या पनि उत्तिकै मात्रामा घट्दो छ।’
कोरोना अगाडिसम्म लेयर्स कुखुरा फर्म ६०० थिए। नेपालमा तीन सयको हाराहारीमा ह्याचरी रहेकोमा १६० वटा मात्र ह्याचरी सञ्चालनमा रहेको उनले बताए।
चितवन कुखुराको राजधानीका रूपमा समेत परिचित थियो। देशको कुल उत्पादनमध्ये ६० प्रतिशत उत्पादन चितवनले गर्थ्याे। हिजोआज भने व्यवसायीहरू पलायन हुँदै जाँदा चितवनले देशको कुल उत्पादनको २५ प्रतिशत मात्र गर्ने कुखुरा व्यवसायी महासंघका कार्यालय प्रमुख शिवप्रसाद घिमिरे बताउँछन्। ‘कुखुराको उत्पादन लागत बढ्दै छ। व्यवसायीहरूले सधैं घाटा खाएर व्यापार गर्ने कुरा पनि भएन,’ उनले भने।
व्यवसायी घट्दै जाँदा कुखुराको उत्पादनसमेत घटिरहेको छ। नेपालमा विगतमा दैनिक ४५ देखि ४६ लाख किलो मासु उत्पादन हुँदै आएकोमा अहिले ३० लाख मात्र रहेको उनले बताए। त्यसैगरी हप्तामा कुखुराका ५० हजार चल्ला उत्पादन हुँदै आएकोमा ३० लाख मात्र उत्पादन हुने गरेको उनले बताए। आठ लाख केजी ब्रोइलर कुखुराको मासु उत्पादन हुँदै आएकोमा ६ लाख केजी मात्र हुने गरेको उनले बताए।
नेपाल पोल्ट्रीमा आत्मनिर्भर छ तर सरकारका नीतिका कारण पनि व्यवसायी पलायन हुने अवस्थामा रहेको उनको भनाइ छ। ‘केही भइहाल्यो भने सरकारले मोबाइलमा बर्डफ्लुसम्बन्धी रिनटोन समेत राखिदिन्छ। त्यस्तो अवस्थामा मासु र अण्डाको खपत हुँदैन,’ उनले भने ‘लागत पाँच वर्षको बिचमा ५० प्रतिशत बढेको छ।’ उनले पोल्ट्री व्यवसायीका लागि कच्चा पदार्थमा छुट दिनुपर्नेसमेत बताए।
चितवन जिल्लामा यस वर्ष १२ वटा पशुपन्छी फार्म मात्र दर्ता भएका छन्। अघिल्लो वर्ष १५ वटा दर्ता भएको उद्योग वाणिज्य तथा पर्यटन कार्यालय भरतपुरको तथ्यांकमा उल्लेख छ। हरेक पाँच वर्षमा व्यवसाय नवीकरण गर्नुपर्छ। त्यसपछि हरेक दुईदुई वर्षमा आफ्नो व्यवसाय नवीकरण गर्नुपर्ने व्यवस्था रहे पनि पशुपन्छी फार्महरू धेरै दर्ता हुन नसकेको कार्यालयका सूचना अधिकारी शक्तिमान कुमालले जानकारी दिए।
पशु सेवा कार्यालय चितवनका अनुसार पनि जिल्लामा पोल्ट्री व्यवसाय कम हुँदै गएको छ। ‘जिल्लामा सयभन्दा बढी ह्याचरी उद्योग थिए,’ पशु विकास अधिकृत तथा सूचना अधिकारी डा. सविना मिश्रले भनिन्, ‘अहिले ४२ वटा मात्र हाम्रो कार्यालयमा दर्ता भएका छन्।’
उनका अनुसार जिल्लामा विगतमा साना फार्महरू बढी भए पनि अहिले ठुला फार्म मात्र सञ्चालनमा छन्।

.jpg)



-1781786010.jpg)


६ श्रावण , २,०८३