नोटिफाई नेपालLoading...



नेपाली कांग्रेसले आफ्ना संस्थापक नेता तथा जननिर्वाचित प्रथम प्रधानमन्त्री बीपी कोइरालाको स्मृति दिवसका अवसरमा ‘मानवकल्याण कोष’ स्थापना गरेको छ।
बुधवार बीपी स्मृति दिवसको अवसरमा आयोजित 'ग्रीन रन' कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापति गगन थापाले यसबारे जानकारी दिएका हुन्। उनले जलवायु परिवर्तनको विषयमा केवल जनचेतना जगाउन मात्र नभई ठोस संकल्प गर्न आफूहरू उभिएको बताए। सभापति थापाले पार्टी सदस्यता शुल्कबाट जम्मा भएको रकमबाट आजैका मितिबाट ‘मानवकल्याण कोष’ स्थापना गर्ने घोषणा गरिएको बताए।
पार्टीले आयोजना गरेको दौडमा सहभागी धावकहरूको सहभागितालाई आधार मानेर प्रतिव्यक्ति करिब ५०० रुपैयाँका दरले पार्टीको तर्फबाट १० लाख रुपैयाँ उक्त कोषमा जम्मा गरिएको उनले बताए। अहिलेका लागि यो कोषको सम्पूर्ण रकम हालै विस्थापित भएका सुकुम्बासी परिवार, विशेष गरी एकल महिला र साना बालबालिकाको पठनपाठनमा देखिएको अवरोध हटाउन खर्च गरिने उनको भनाइ थियो।
सो अवसरमा उनले नेपाल महिला संघलाई यस कार्यका लागि स्वयंसेवकको रूपमा खटिन विशेष अनुरोध गरिएको भन्दै उनीहरूले विभिन्न बस्तीमा पुगेर काम गर्ने जानकारी दिए। विकासको अवधारणामा सामाजिक न्याय, मानव कल्याण, लोककल्याण, नैतिक जिम्मेवारी र दूरदर्शितालाई छुटाउन नहुने बीपी कोइरालाको विचारलाई स्मरण गर्दै थापाले विकास दिगो हुन यी पक्षहरू अपरिहार्य रहेको बताए।
बीपी कोइरालाले प्राकृतिक स्रोतसाधन र भूमिमा न्याय हुनुपर्छ भनेर वन राष्ट्रियकरणको अवधारणा अघि बढाएको उल्लेख गर्दै कांग्रेसले विगतका यी महत्त्वपूर्ण वैचारिक मार्गदर्शनलाई बिर्संदै गएको उनले औँल्याए। वर्तमानमा इमानदार बन्दै भविष्यका पाइला चाल्न र विगतका अग्रजका निर्णयबाट सिक्न आवश्यक रहेको उनको भनाइ थियो। जलवायु परिवर्तनलाई नेपालको विकासको मूल विषय बनाउन चाहने बताउँदै उनले यसका लागि बीपीका विचार र निर्णयहरूलाई पुनः अवलोकन गरिएको जानकारी दिए।
यस्तै, ललितपुरको युएन पार्कबाट सुरु भएको पाँच किलोमिटरको 'ग्रीन रन' प्रतियोगितामा १६ मिनेट १५.७ सेकेन्डमा दूरी पूरा गर्दै मुकेश बहादुर पाल प्रथम भएका छन्। उक्त प्रतियोगितामा कांग्रेस सभापति थापाले विजयी धावकहरूलाई नगद पुरस्कार प्रदान गरेका हुन्।
प्रतियोगितामा प्रथम भएका पालले ५० हजार, दोस्रो भएका नरेन्द्र सिंह रावलले २५ हजार, तेस्रो भएका सञ्जय श्रेष्ठले २० हजार, चौथो भएका गणेश सिंहले १२ हजार, पाँचौँ भएका अमृत ठकुरीले १० हजार र छैठौँ भएका नागेश्वर अहिरले ८ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्।

.jpg)



-1781786010.jpg)


६ श्रावण , २,०८३