नोटिफाई नेपालLoading...

.jpg)
.jpg)
विराटनगर महानगरपालिकाले बजार क्षेत्रका अव्यवस्थित फुटपाथ अतिक्रमण हटाउने भएको छ। महानगरपालिकाले सरोकारवालासँग छलफल गरी बजार क्षेत्रका फुटपाथ हटाउन विशेष अभियान सञ्चालन गर्ने जनाएको हो।
सरोकारवाला निकायसँगको समन्वय बैठकले वैशाख ११ गतेदेखि मुख्य बजार तथा आसपासका क्षेत्रमा कडाइका साथ फुटपाथ व्यवस्थापन लागू गर्ने निर्णय गरेको महानगरपालिकाले जनाएको छ। महानगरका मेयर नागेश कोइरालाको उपस्थितिमा सम्पन्न बैठकले प्रारम्भिक चरणमा दुई दिन माइकिङमार्फत व्यवसायी र सर्वसाधारणलाई सचेत गराउने तथा त्यसपछि पूर्ण रूपमा कार्यान्वयनमा जाने रणनीति तय गरेको छ।
महानगरले सडक पेटीमा भइरहेको अव्यवस्थित व्यापार, सटरबाहिर सामान राख्ने प्रवृत्ति र ट्राफिक अवरोधलाई लक्षित गर्दै नियम कडाइ गर्ने जनाएको छ।
महानगरका मेयर नागेश कोइरालाका अनुसार पछिल्लो समय सर्वसाधारणबाट फुटपाथ अतिक्रमण, जाम समस्या र असुरक्षित आवतजावतबारे व्यापक गुनासा आएका थिए। त्यसैलाई सम्बोधन गर्न अभियानलाई प्राथमिकताका साथ अघि बढाइएको हो।
मेयर कोइरालाले व्यवस्थित, सफा र सुरक्षित सहर निर्माणका लागि निजी क्षेत्र, व्यवसायी र नागरिक सबैको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै अभियानमा साथ दिन आग्रह गरेका छन्।
नगर प्रहरी प्रमुख राजन पौडेलका अनुसार अबदेखि पसलको सटर बाहिर कुनै पनि सामान राख्न पाइने छैन। निर्माण सामग्री सडक पेटीमा थुपार्न नपाइने, मोटरसाइकल ग्यारेजका सामान बाहिर राख्न निषेध गरिने तथा कवाडी व्यवसाय सञ्चालनका लागि न्यूनतम मापदण्ड अनिवार्य रूपमा पालना गर्नुपर्नेछ। नियम उल्लंघन गर्नेविरुद्ध कारबाही प्रक्रिया पनि सँगसँगै अघि बढाइने जनाइएको छ।
फुटपाथ व्यवस्थापनसँगै ट्राफिक चाप न्यूनीकरण र व्यवस्थित पार्किङको दीर्घकालीन समाधान खोज्न महानगरले सरसफाइ शाखाका प्रमुख पुण्यकुमार दाहालको संयोजकत्वमा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सन्तोष न्यौपाने, मोरङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल साह, खुद्रा व्यापार संघ विराटनगरका अध्यक्ष सञ्जयकुमार सिंह मण्डल सदस्य तथा नगर प्रहरी प्रमुख राजन पौडेल सदस्य–सचिव रहेको समिति गठन गरेको छ।
समितिले ठेला व्यवस्थापन, पार्किङ क्षेत्र निर्धारण र ट्राफिक प्रवाह सुधारसम्बन्धी सुझावसहित १५ दिनभित्र प्रतिवेदन पेश गर्नेछ। प्रतिवेदनका आधारमा महानगरले चरणबद्ध रूपमा सुधारका कार्यक्रम लागू गर्ने योजना बनाएको छ।
महानगरको अभियानमा प्रशासनको पूर्ण साथ र सहयोग रहने मोरङका प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले प्रतिबद्धता जनाएका छन्।







९ बैशाख , २,०८३