नोटिफाई नेपालLoading...

.jpg)
.jpg)
तनहुँको पर्यटकीय क्षेत्र बन्दीपुरले सन् २०२५ मा बन्दीपुर भ्रमण वर्ष मनायो। त्यो वर्ष बन्दीपुरले सबैगरि ६ लाख २५ हजार पाहुना भित्र्याउन सक्यो। ती पाहुनामध्ये ५ लाख आन्तरिक थिए। बाँकी १ लाख २५ हजार पाहुना विदेशी थिए। यो वर्ष भने बन्दीपुरले स्वदेशी र विदेशी गरि कम्तिमा आठलाख पाहुना भित्र्याउने लक्ष्य राखेको छ।
आठलाख पाहुना भित्र्याउने लक्ष्य पुरा गर्नका लागि बन्दीपुरले यो वर्ष मेहनत थालेको छ। त्यसका लागि आगामि दुईसातापछि ‘गाउँ पर्यटन मेला’ आयोजना गर्दैछ। त्यसबाहेक बन्दीपुर आसपासका ११ वटा होमस्टेसम्म पाहुना लैजाने प्रयास गर्दैछ। वर्षैभरि कुनै न कुनै कार्यक्रम गरेर पाहुनालाई गाउँ उकाल्ने योजना बन्दीपुरको रहेको छ।
क्षेत्रीय होटल संघ बन्दीपुरकी अध्यक्ष फूलमति थापा भन्छिन्, ‘हामीले पाहुनालाई बन्दीपुर बजारमा मात्र राख्ने होईन, आसपासका गाउँमा लगेर त्यहाँका बासिन्दालाई पनि पर्यटनमार्फत लाभ दिलाउने प्रयास गर्नेछौ।’ उनका अनुसार बन्दीपुरले अहिले आसपासका ११ मध्ये आठवटा होमस्टेलाई जोडेर सर्किट बनाईरहेको छ। पाहुनालाई ती होमस्टेका स्थानीय संस्कृति देखाउने प्रयास यो पटक गरिएको उनले बताइन्।
‘पर्यटनको लाभ बन्दीपुर बजारले मात्र लिने होईन, आसपासका गाउँका बासिन्दालाई पनि त्यसको लाभ दिन सकिन्छ। त्यो लाभ पाएमा मात्र स्थानीयको अपनत्व हुन्छ,’ उनले भनिन, ‘स्थानीयको कलाशैली, संस्कृतिलाई देखाउन सकियो भने गाउँलेले पर्यटनबाट लाभ पाउनेछन। नत्र होमस्टे चलाएर मात्र भएन, पाहुना लैजना सकिएन भने उपलब्धी हुँदैन।’
फरक फरक गाउँको संस्कृति फरक रहेकोले पाहुनालाई देखाउन सकेमा त्यसबाट लाभ पाइने उनले बताईन। ‘पाहुनालाई बजार मात्र सीमित राख्न खोजेर अब उनीहरुको बसाई अवधि बढाउन सकिन्न। पाहुनालाई गाउँको स्वाद पस्कन सक्यो भने त्यसले पर्यटनमा फाइदा पुग्छ। त्यस्तै दोहोरिएर आउने पाहुनाका लागि पनि बजार भन्दा गाउँको बसाई रोमाञ्चक बन्न सक्छ’ उनले भने, ‘पाहुनालाई आकर्षित गर्ने, उनीहरुको बसाई अवधि बढाउने गरि योजना बनाएका छौ। फरक गाउँको फरक संस्कृतिलाई पाहुना समक्ष प्रस्तुत गर्न सकेमा पर्यटन प्रवद्र्धन हुन्छ।’ नयाँनयाँ कार्यक्रम मार्फत पाहुना आकर्षण गर्न सकेमा मात्र बन्दीपुरको आठलाख पाहुनाको लक्ष्य पुरा हुने उनले बताइन्।
.jpg)
सन् २०२५ मा बन्दीपुर भ्रमण वर्ष मनाउँदाका संयोजक समेत रहेका स्थानीय पर्यटन व्यावसायी बैश गुरुङ पनि पर्यटनको लाभ ग्रामीण क्षेत्रलाई पनि दिलाउन सकेमा पर्यटन प्रवर्द्धन हुने बताउँछन। त्यसका लागि आसपासका गाउँलाई पनि पर्यटनमा जोड्ने प्रयास थालेको उनले बताए। ‘होमस्टे सर्किटमा पाहुना लैजान सकियो भने त्यसबाट गाउँको पर्यटन प्रवर्द्धन हुन्छ,’ उनले भने। गाउँपालिकास्तरीय पर्यटन समितिका सदस्य समेत रहेका गुरुङका अनुसार बन्दीपुर आसपासका गाउँको पर्यटन बाहेक साहसिक पर्यटकीय गन्तव्यले पनि पहिचान बदलिएको छ।
उनका अनुसार बन्दीपुर आसपासमा अहिले गुफा, रक क्लाईम्बिङ, प्याराग्लाईडिङ, हाईकिङ लगायतका गतिविधि हुन्छन। त्यसबाहेक केवलकारले पनि अहिले यात्रुलाई बन्दीपुरसम्म उकाल्न सहज भएको छ। पोखराबाट फर्किने र पोखरा भित्रिने पाहुनालाई पृथ्वी राजमार्गबाट आठकिलोमिटर माथि उकाल्ने प्रयास स्वरुप विभिन्न कार्यक्रम गरेको उनले बताए।
‘बन्दीपुरसम्म आउजाउमा समस्या पनि छैन। बन्दीपुरको मौसम आफैमा भिन्न छ। बन्दीपुरबाट देखिने नागबेली मर्स्याङ्दीको दृश्य पनि लोभलाग्दो हुन्छ,’ उनले भने, ‘आसपासका गाउँ पनि आकर्षक छन र ती गाँउका संस्कृति झनै महत्वपूर्ण छन्।’
बन्दीपुरका पुराना घरमा संचालन गरिएका कतिपय होटल पाहुनाका लागि झनै आकर्षक रहेको पनि उनले बताए। उनका अनुसार बन्दीपुरमा सबैगरि साना ठूला गरेर ७५ वटा होटल छन्। ती होटलमा ६ सय हाराहारीमा कोठा छन्। बन्दीपुरका होटलमा मात्र एकरातमा १४ सय हाराहारीमा पाहुना अट्छन। आसपासका होमस्टेमा समेत गरेर बन्दीपुरमा एकरातमा २५ सय पाहुना अट्ने क्षमता रहेका पनि गुरुङले बताए।
बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापा पनि गाउँका बासिन्दालाई पर्यटनबाट लाभ दिलाउनका लागि पहल थालिएको बताए। ‘अघिल्लो वर्ष लक्ष्य भन्दा बढी संख्यामा पाहुना भित्रिए पछि बन्दीपुर हौसिएको हो। पर्यटनको लाभ पाएपछि बन्दीपुर यो वर्ष आठलाख पाहुना भित्र्याउन कस्सिएको छ,’ उनले भने, ‘सबैको पहलमा यो प्रयास थालिएको छ। पर्यटक पुगेर आम्दानी दिलाउन थालेपछि स्थानीय व्यावसायी बल्ल लाभान्वित हुन्छन।’
पर्यटन बोर्ड गण्डकी प्रमुख मणिराज लामिछाने पनि बन्दीपुर पछिल्लो समय आकर्षक गन्तव्य बन्दै गएको बताउँछन्। बन्दीपुरले पर्यटन, स्वास्थ्य र शिक्षामार्फत पहिचानको दायरा फराकिलो बनाएको पनि उनले बताए। बन्दीपुरका संचालित अस्पताल, त्यहाँको विद्यालय र पर्यटन बन्दीपुरको चिनारी भएको पनि उनले बताए। ‘बन्दीपुर आफैमा फरक पहिचान बोकेको पर्यटकीय गन्तव्य हो। बन्दीपुरसँग प्रकृति मात्र नभई संस्कृति पनि छ। त्यसैले बन्दीपुरले पाहुना पाएको छ। यो वर्षको आठलाख पाहुना भित्र्याउने लक्ष्यमा सबैको साथ खोजेको छ,’ उनले भने। बोर्डले बन्दीपुरको प्रवर्द्धनमा सहज होस भनेर यो वर्षको गाउँ पर्यटन मेलामा समेत सहकार्य गरेको उनले बताए।







९ बैशाख , २,०८३