नोटिफाई नेपालLoading...



कपिलवस्तुको बाणगंगा नगरपालिकास्थित मायादेवी रिसोर्टको स्विमिङ पुलमा डुबेर शनिबार दिउँसो एक ८ वर्षीय बालकको मृत्यु भएको छ।
बुद्धभूमि नगरपालिका–२, गोरुसिंगेका आवास चुदालीको रिसोर्टको पुलमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ।
इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक अर्जुन पौडेलका अनुसार बालक आफ्नी आमासँग पौडी खेल्नका लागि रिसोर्टमा आएका थिए। पौडी खेल्ने क्रममा अचानक स्विमिङ पुलमा डुबेर गम्भीर घाइते भएका बालकलाई रिसोर्ट व्यवस्थापनले तत्काल उपचारका लागि बुटवलस्थित प्रादेशिक अस्पताल पुर्याएको थियो।
अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक बालकका पीडित परिवारले भने रिसोर्ट प्रशासनमाथि गम्भीर लापरवाहीको आरोप लगाएका छन्।
स्विमिङ पुलमा आवश्यक सुरक्षा सामग्री तथा लाइफगार्डसहितको सुरक्षा सतर्कता नराखिएका कारण यो दुर्घटना भएको पीडित परिवारको दाबी छ। उनीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन्।
मृतक बालकको शव अहिले प्रादेशिक अस्पताल बुटवलमै राखिएको छ। प्रहरीले घटना कसरी भयो भन्नेबारे रिसोर्ट व्यवस्थापन र प्रत्यक्षदर्शीहरूसँग सोधपुछ गरिरहेको र घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।