नोटिफाई नेपालLoading...



कास्कीको पोखरा महानगरपालिका–६ स्थित फेवातालमा बोटिङ गर्ने क्रममा हावाहुरीका कारण अलपत्र परेका १२ जना पर्यटकको सशस्त्र प्रहरी बलको टोलीले सकुशल उद्धार गरेको छ।
उद्धार गरिएकाहरूमा आन्तरिक तथा बाह्य पर्यटक रहेका छन्।
शनिबार अपराह्न करिब ४:३५ बजे पोखरा क्षेत्रमा अचानक तीव्र गतिको हावाहुरी चलेको थियो। हावाहुरीका कारण फेवातालमा बोटिङ गरिरहेका नेपालका विभिन्न जिल्लाका स्वदेशी पर्यटक र जापानबाट भ्रमणमा आएकी ४८ वर्षीया एक विदेशी महिला गरी कुल १२ जना तालको बीच भागमा अलपत्र परेका थिए।
उनीहरू सर्फेस र प्याडल बोटमा सवार रहेकै अवस्थामा हावाहुरीमा फसेका थिए। तालमा पर्यटकहरू अलपत्र परेको जानकारी पाउनासाथ फेवा रेस्क्यु टावरमा तैनाथ सशस्त्र प्रहरी बलको १० सदस्यीय विशेष उद्धार टोली तत्काल परिचालन गरिएको थियो।
टोलीले छोटो समयमै सबै १२ जनालाई सकुशल उद्धार गरी सुरक्षित स्थानमा ल्याउन सफल भएको हो।
सशस्त्र प्रहरी बलका अनुसार उद्धार गरिएका सबै पर्यटकहरूको स्वास्थ्य अवस्था सामान्य रहेको छ।








२२ जेठ , २,०८३