नोटिफाई नेपालLoading...



भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुर कमलविनायकबाट प्रहरीले बुधबार ११ जनालाई पक्राउ गरेको छ। कार्यालयभित्रका कोठाहरूमा पुगेर काम गरिरहेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।
कार्यालय परिसरभित्रै बसेर बिचौलियाको भूमिका खेलेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ। जिल्ला प्रहरी परिसर भक्तपुरका निमित्त सूचना अधिकारी शुभेश अधिकारीले भक्तपुर नगरपालिका वडा नं १० स्थित भूमिसुधार तथा मालपोत कार्यालयभित्रबाट उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए।
भक्तपुर लेखापढी व्यवसायी तथा भूमि सेवा व्यवसायीको नाममा कार्यालय परिसरभित्र प्रवेश गरी सेवा प्रवाहमा असर पुर्याउने गरेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ। सरकारी कार्यालयभित्रका कोठाहरूमा पुगेर काम गरिरहेको पाइएपछि कारबाही गर्नुपरेको प्रहरीले जनाएको हो।
यसअघि मंगलबार मात्रै लेखापढी व्यवसायीहरूले आफ्नै कार्यालयबाट मात्रै सेवा दिनुपर्ने, कार्यालयभित्र सेवाग्राही मात्रै आउन पाउने भनी सूचना टाँस गरेका थिए। यसअघि जिल्ला मालपोतले परिचयपत्र बोकेका लेखापढी मात्रै प्रवेश गर्न पाउने व्यवस्था गरिएको सूचना प्रकाशित गरेको थियो। तर जिल्ला प्रशासनबाट परिचयपत्र भएकालाई पनि प्रवेश नगराई सेवाग्राहीलाई मात्रै प्रवेश गराउने आदेशपछि मालपोतले सेवाग्राही मात्रै प्रवेश गर्न कार्यालय प्रवेशद्वारमै सूचना टाँसेको थियो।
सूचना टाँसेको भोलिपल्टै बुधबार दिउँसो सुरुमा सिभिल प्रहरीले चेकजाँच गरेको थियो। त्यसपछि सेवाग्राहीबाहेकको पहिचान भएपछि नेपाल प्रहरीको गाडी आएको थियो। त्यसपछि उनीहरूलाई पक्राउ गरी प्रहरीको भ्यानमा राखेर लगिएको थियो।
प्रहरीले पक्राउ गरेर गाडीमा राख्नेबित्तिकै त्यहाँ विरोध सुरु भएको थियो। विशेषगरी लेखापढी व्यवसायीहरूले विरोध थालेका थिए। प्रहरीको भ्यान जान नपाउँदै लेखापढीहरूले गाडी रोक्न प्रयास गरेका थिए, तर सफल भएनन्। त्यसपछि व्यवसायीहरूले मालपोत गेट अगाडि प्रदर्शन सुरु गरेका थिए। प्रदर्शनका क्रममा उनीहरूले आफ्नो सेवा प्रवाह नै बन्द गर्ने भन्दै सटर बन्द गरेका थिए । साथै सूचना पनि च्यातिदिएका थिए।
भक्तपुर लेखापढी व्यवसायी संघका अध्यक्ष, कोषाध्यक्षसहितका पदाधिकारीहरू मालपोत गेटमा पुगेर प्रदर्शनमा उत्रिएका थिए। त्यसपछि उनीहरूले सम्पूर्ण सेवा बन्द गर्ने भन्दै सटर बन्द गरी सेवा अवरुद्ध गरेका थिए। साथै मालपोतका सेवा नै बन्द गरिदिने र मालपोतभित्र सेवा लिइरहेका सेवाग्राहीहरूलाई समेत बाहिर ल्याई गेट बन्द गरिदिने प्रयास गरेका थिए, तर त्यो सफल हुन सकेन।
पक्राउ परेका साथीहरूको विनाशर्त रिहाइ र सम्मानजनक रूपमा काम गर्ने वातावरण सुनिश्चित नगरेसम्म सेवा बन्द गर्ने चेतावनी उनीहरूले दिएका छन्। सेवा लिन आएका सेवाग्राहीहरूले पनि घुस वा अनैतिक क्रियाकलापमा संलग्न भएको ठोस प्रमाणबिना व्यवसायीलाई अवरोध गर्नु नहुने प्रतिक्रिया दिएका छन्।


-1698832414.jpg)




९ बैशाख , २,०८३